बेहुलीको पहिरनमा किशोरी देखेपछि...
पोखरा: लेकसाइडको केदारेश्वर मन्दिर जहाँ विवाहको मौसममा कुनै दिन खाली हुँदैन । सोमबार पनि विवाह गर्ने दुई जोडी थिए । दुवै जोडीको बिहेमा बाजागाजा थिएन । एक जोडीका बेहुला जुंगाबाल थिए । बेहुली उमेरकै देखिन्थिन् । ताउ लाउन मिल्ने जुंगा पालेका बेहुला बेहुलीलाई उचाली उचाली तस्बिर खिचिरहेका थिए । जन्तीका नाममा थिए एक दर्जन साथीसंगी ।
मन्दिर घुमिरहेको थियो अर्को जोडी । १२-१५ जनाकै संख्यामा थिए जन्ती । जन्तीमा साथीसंगी थिएनन् बरू केटाका बुबाआमा र आफन्त थिए । यी बेहुलाको भने जुंगाको रेखी बसेको थिएन । जिन्स पाइन्ट, रेडिमेड कोटमा ठाँटिएका बेहुलाको गलामा थियो 'जेएमसी' अर्थात् जनप्रिय मल्टिपल क्याम्पस लेखिएको टाई । बेहुली स्कुल पढ्ने उमेरकी देखिन्थिन् । स्कुल जाँदाजाँदै भागेर विवाह हेर्न जाने उमेर हो उनको तर उनी आफैं बेहुलीको पहिरनमा सजिएकी थिइन् ।
केटाकेटीले मन्दिर घुमिसकेर सिन्दुर हाल्न मात्र के आँटेका थिए, कतैबाट आवाज आयो, 'पख्नुस् !' विवाहस्थलमा झुल्किए नागरिक अगुवा रामबहादुर पौडेल । 'तपार्इंहरूले उमेर नपुग्दै विवाह गरेको भन्ने खबर आएको छ,' उनले भने, 'नागरिकता, कागजपत्र के छ, देखाउनुस् ।' बेहुलाबेहुलीको हैरानी अनुहारमा झल्कियो । क्षणभरमै महिला अधिकारकर्मी, नगरपालिकाका प्रतिनिधि, प्रहरी, पत्रकार र वडावासीले मन्दिर भरियो । केटाकेटी दुवै अक्क न बक्क भए ।
'१६ दिने लैंगिक हिसांविरुद्धको अभियान चलिरहेकै बेला बालविवाह गर्ने ? ' भीडबाट प्रश्नको ओइरो लाग्यो । केटाका बाबु बाबुराम राउतले विवाहको बेलिबिस्तार लगाए । सिन्धुलीको बेलघारी घर भएका राउतको परिवार बैदामको नारेश्वरमा बस्छ । उनका छोरा चित्रबहादुर भर्खर १८ पुगेका छन् । सिन्धुलीमा ८ कक्षा पास गरेपछि एक्लो छोरालाई उनले पढ्न पोखरा बोलाए । जनप्रिय बहुमुखी क्याम्पसबाट पोहोर ११ कक्षाको परीक्षा दिएपछि बीचैमा छाडे । एक हप्ताअघिको कुरा हो ।
चित्रबहादुर एकाएक घरबाट गायव भए । मजदुरी गर्ने परिवारलाई छोराको चिन्ता भयो । चित्रबहादुर आमालाई पासपोर्ट बनाउन जाने भनेर सिन्धुली पुगेका रहेछन् । पोखरामा मजदुरी गरिरहेको परिवार अब छोरो विदेश गएर कमाउने आशामा बस्यो । ३ दिनपछि चित्रबहादुर पोखरा फर्किए । फर्किंदा एक्लै फर्केनन् । बेलघारीमा स्कुल पढ्दा एकै स्कुलमा पढेकी रविना (नाम परिवर्तन) लाई पनि सँगै लिएर आए । छोरा भेटेपछि बाबुरामले सोधे, 'पासपोर्ट बनाइस् ? ' छोराको उत्तर उनले पत्याएनन् । भनेका थिए, 'पासपोर्ट होइन, बुहारी ल्याएँ बा ।' बाबुरामले श्रीमतीलाई सोधे । नभन्दै हो रहेछ ।
चित्रबहादुरले रविनालाई ल्याएर सानीआमाकोमा राखेका रहेछन् । बाबुरामले रविनासँग माइतीको नम्बर मागेर सिन्धुली फोन गरे । रविनाको माइती सिन्धुलीको जरायोटारबाट 'नजानु गइसकी अब सुखसँग पाल्नू' भन्ने प्रतिक्रिया आयो ।
चित्रबहादुर ८ कक्षामा पढ्दा रविना ५ मा पढ्थिन् । त्यतिबेलैदेखि हो दुवैको सम्बन्ध बढेको । दुवैको गाउँ पनि नजिकै पर्छ । पोखरा आएपछि उनीहरू विवाहको निर्णयमा पुगे । रविनाले घरमा भनिन् तर उनीमाथिका दुईजना दाइहरूको विवाह हुन बाँकी भएकोले घरबाट दिने छाँट गरेनन् । रविनाकै सल्लाहमा केटापक्ष विवाह गरिदिने निस्कर्षमा पुगे । तर चित्रबहादुरले रविनाको सिउँदो रंग्याउन पाएनन् । कारण थियो, उमेर नपुग्नु ।
कानुनले विवाह गर्न केटाकेटी दुवै २० वर्ष काटेको हुनुपर्छ भन्छ । तर चित्रबहादुर आफैं १८ वर्षका थिए र उनकी प्रेमिका १६ वर्षकी । बिहे रोक्न पुगेका प्रहरी र अधिकारकर्मीले दुवैलाई सम्झाईबुझाई गरे । रविनाले बुझ्न चाहिनन् । बुझुन् पनि कसरी ? सिन्धुलीबाट परिवार त्यागेर आइन् । बिहे गर्ने भनेकै दिन भाँडियो । दुनियाँसामु उनको प्रेम रमिता बन्यो । भुइँमा थुचुक्क बसिन् र गहभरि आँसु पारिन् ।
मन्दिर पुगेका थिए केही जोर गैरसरकारी संस्थाका प्रतिनिधि । परामर्श दिने नाममा बेहुलाबेहुलीलाई खोसाखोस गर्दै थिए । घरी यता तान्थे, घरी उता पुर्याउँथे । घरी सँगै राखेर फोटो खिच्थे । भिडियो रेकर्ड गर्थे । चित्रबहादुरले सोधे, 'हाम्रो फोटो फेसबुकमा भाइरल भयो भने कसले बेहोर्छ ? '
अधिकारकर्मीहरू 'कानुनत उमेर नपुगी बिहे गर्नु अपराध हो' भनेर सम्झाउँदै थिए । बिहे गर्न कसैले नरोक्ने तर २० वर्ष कटेपछि मात्रै गर्नुपर्ने उनीहरूको भनाइ थियो । केटाका बुबाआमा राजी भए । चित्रबहादुरको चित्त बुझेन । भने, 'रविनालाई माइतीमा फर्काएर माइतीले पहिलेकैजस्तो व्यवहार गर्छन् भन्ने ग्यारेन्टी कसले लिन्छ ? ' पोखरा उपमहानगरपालिकाका सामाजिक सेवा इकाइका ओमराज पौडेल बम्किए, 'भाइ गल्ती तिमीले गर्ने ग्यारेन्टी हामीले लिनुपर्ने !'
मन्दिरबाट दुवैलाई वडा प्रहरी कार्यालय बैदाम पुर्याइयो । केटालाई परिवारको जिम्मा लगाइयो । केटीलाई महिला तथा बालबालिका कार्यालयको रोहबरमा शक्ति समूहको सेल्टरमा पुर्याइयो ।
चित्रबहादुरले रविना गर्भवती भएको भनेका छन् । महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख लक्ष्मी जिसीले परीक्षण नगरी भन्न नसकिने बताइन् । उमेर पुगेपछि विवाह गर्छु भन्ने हो भने रविनाले अझै चार वर्ष कुर्नुपर्छ । उनले पेटमा हुर्कंदै गरेको चित्रबहादुरको नासो के गर्लिन् ? चार वर्ष कसरी बिताउँलिन् ? चित्रबहादुरसँग टाढा हुँदा उनको मनमा के बित्ला भन्ने लेखाजोखा कसैले गरेको छैन । पोखराका नागरिक अगुवा रामबहादुर पौडेल यस्तो अवस्थामा कानुनलाई मात्र नहेरी व्यवहारिक पाटोलाई पनि हेर्नुपर्ने बताउँछन् ।
प्रमुख महिला विकास अधिकृत जिसी सामाजिक सञ्जाल र मोबाइलको गलत प्रयोगले यस्तो समस्या बढिरहेको बताउँछिन् । विद्यालय र परिवारमा पनि बालबालिकालाई गतिलो यौन शिक्षा नदिइनुले केटाकेटी उमेरमै आफूखुसी विवाहमा बढोत्तरी भइरहेको उनको तर्क छ । 'प्रजनन अधिकार छ भनेर भन्दियौं तर त्यसको उचित प्रयोग कसरी र कुन बेला गर्ने भन्ने सिकाएनौं,' उनले भनिन् ।
किशोरकिशोरीले यौनलाई बढी प्राथमिकता दिएकोले पनि समस्या पैदा भएको उनी सुनाउँछिन् । रविनालाई महिला तथा बालबालिका कार्यालय सिन्धुलीसँग सहकार्य गरी परिवारमा पुनस्र्थापना गर्न सहयोग गर्ने जिसीले बताइन् । उनले भनिन्, 'उनका अभिभावकलाई पनि परामर्श दिन्छौं, त्यसै बुझाउँदैनौं ।' कास्कीमा एक हप्ताभित्र बालविवाहको घटना भएको यो दोस्रो हो । प्रहरी, अधिकारकर्मीले नै मंसिर १५ गते बालविवाह रोकेका थिए ।