सिद्धार्थ बैंकले ३९ प्रतिशत बोनस दिने
काठमाडौः सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३९ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंकका सेयरधनीलाई एक अर्ब ४७ करोडबराबरको बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रस्तावित बोनस सेयरको उक्त रकम बैंकले हालै जारी गरेको हकप्रद सेयर बाँडफाँटपछिको पुँजीको ३९ प्रतिशत हुन आउनेछ । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी पन्ध्रौं साधारणसभाबाट पारित भएपछि बैंकका सेयरधनीले प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७३÷७४ को असोज मसान्तसम्ममा बैंकले ३५ करोड खुद मुनाफा आर्जन गरेको छ भने सोही अवधिमा बैंकले ७० अर्ब ५ करोड कुल निक्षेप संकलन गरी ५८ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकको हाल नेपालभर ६३ शाखा, ८२ एटीएम र विभिन्न ६८ स्थानमा शाखारहित बैंकिङ सेवा रहेको छ ।