नोभाको प्रथम दीक्षान्त समारोह
काठमाडौः अमेरिकाको क्यलिफोर्नियमास्थित इन्टरनेसनल अमेरिकन युनिभर्सिटीको सम्बन्धन प्राप्त नोभा इन्टरनेसनल कलेजको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रमुख अतिथि इन्टरनेसनल अमेरिकन युनिभर्सिटीका प्रेसिडेन्ट डा. गे ल्यागभालटको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।
समारोहमा बीबीएका ३५ र एमबीएका २७ विद्यार्थीलाई प्रा.डा. अनन्तलाल कर्ण र नेसनल अमेरिकन युनिभर्सिटीका प्रेसिडेन्ट डा. गे ल्यागभालटले सामूहिक रूपमा दीक्षित प्रमाणपत्र वितरण गरेका थिए ।
कलेजका अध्यक्ष प्रा.डा. सिद्धिप्रसाद कोइरालाले सबै विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै विद्यार्थीमा अझ बढी दायित्व थपिएको बताए । २१ औं शताब्दी अझ बढी चुनौतीपूर्ण भएकाले जीवनको नयाँ सुरुआत भएको उनको भनाइ थियो ।
त्यस्तै प्रेसिडेन्ट डा. गेले अमेरिकन मोडलको शिक्षाले नेपालमा व्यावहारिकता प्रदान गरेको, आधुनिक युग सुहाउँदो शिक्षा स्वदेशमै नोभा इन्टरनेसनल कलेजले दिएकाले आफूलाई अझ विश्वास बढेको बताए । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान भएको आफूले महसुस गरेको उनको भनाइ थियो ।
कलेजका प्राचार्य यामबहादुर कार्की र एकेडेमिक डाइरेक्टर देवीचरण न्यौपानेले आफूले मेहनत तथा परि श्रम गर्दा अन्तर्राष्ट्रिय स्तरको शिक्षा अब नेपालमा नै लिन सकिने बताए ।
प्रयोगात्मक अभ्यास, आधुनिक शिक्षण विधि, प्रसस्त विद्युतीय गृहकार्य, आवधिक परीक्षा प्रणाली, फिल्ड भिजिट, नियमित आन्तरिक मूल्यांकन प्रणाली, विद्यार्थी केन्द्रित शिक्षण विधि, क्रेडिट ट्रान्सफर तथा नियमित विषयगत प्रस्तुतीकरणले कलेज विशिष्ट अध्यापनको केन्द्र्र बनेको एकेडेमिक डाइरेक्टर न्यौपानेले बताए ।