एमालेले राष्ट्रवादका कुरा गर्न मिल्दैन: भुसाल
काठमाडौंः नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुसालले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ केन्द्रित गर्दै टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्न नमिल्ने बताएकी छिन् ।
बुधबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले भनिन्, ‘आफू सरकारमा हुँदा देशको सम्पत्ति विदेशीलाई सुम्पनेले राष्ट्रहितमा काम गरिरहको सरकारलाई राष्ट्रघाती भन्न मिल्दैन ।’
भुसालले पछिल्ला अभिव्यक्तिबाट एमाले संघीयताको पक्षमा, समावेशी र समानुपातिक प्रक्रियामा जान नचाहेको प्रष्ट भएको आरोप लगाइन् ।
उनले संघीयतामा जानै नसक्ने र जनतालाई समानुपातिक र समावेशी अधिकार नदिने एमाले राष्ट्रवादी हुनै नसक्ने बताइन् ।
संविधान संशोधन प्रस्तावलाई लिएर भइरहेको आन्दोलन नेपाली जनतालाई राजनीतिज्ञले बुझाउन नसक्नु र एमालेले आफ्नो भोट बैंकका रुपमा प्रयोग गरिरहेको उनको भनाइ छ ।
भुसालले संशोधन प्रस्ताव पारित भएसँगै तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरिन् ।