साहसको सपना
सफलताको यात्रा सपना साहस र लक्ष निर्धारणको संगमबाट सुरु हुन्छ । भारतीय वैज्ञानिक तथा दार्शनिक राष्ट्रपति एपीजे अब्दुल कलामका अनुसार ‘सपना त्यो हो, जसले सुत्न दिँदैन मानिसलाई' अर्थात् सपनामा अन्तरनिहित अठोट र व्यग्रताले स्वप्नदर्शीलाई सुत्दै दिँदैन, प्रयास र कार्तव्यपथमा व्यग्रताका साथ हिँडाइरहन्छ ।
नेपालमा अहिले त्यस्तै एउटा युवा जमातले सपना देखिरहेको छ । जनवरी २८ देखि फेब्रुअरी १२ सम्म भारतमा हुने नेत्रहीनहरूको टीट्वेन्टी विश्वकप क्रिकेटमा भाग लिन नेपालभित्रैका युवाहरूमा प्रतिस्पर्धा देखिन्छ । १४ जना खेलाडी छान्नुपर्नेमा अहिले त्यसको दोब्बरभन्दा केही बढी अर्थात् ३४ जना नेत्रहीनहरू अभ्यासरत छन्, न्यूनतम सुविधासम्पन्न एउटा चउर अर्थात् पुल्चोकस्थित इन्जिनियरिङ कलेजको क्रिकेट मैदानको ‘आउट फिल्ड' मा ।
खेल र खेलाडीहरूले राष्ट्रको लागि अन्तर्राष्ट्रिय जगत्मा सम्मान जित्न थालेपछि विगत केही वर्षमा सरकार र केही ‘कर्पोरेट घराना' हरूले समेत विभिन्न किसिमका खेलहरूलाई आआफ्ना हिसाबले प्रोत्साहित गर्दै आएका छन् ।
केही हदसम्म यसबीच खेलजगत् तथा खेलाडीहरूले सामाजिक र राष्ट्रिय स्तरमा प्रतिष्ठासमेत आर्जन गर्न थालेका छन् । तर त्यस खेलजगत् र त्यसमा समर्पित युवाहरूको पूर्ण सम्भाव्यता हासिल गर्न सक्ने वातावरण बनिसकेको छैन ।
शारीरिक तन्तुरुस्त खेलजगत्मा प्रवेश गर्न आवश्यक तथा न्यूनतम योग्यता मानिन्छ, तर समाजमा फरकपन हिसाबले सक्षम र साहस बोकेकाहरूको संख्या पनि बढ्दो छ । राष्ट्रिय तथ्यांकको हिसाबले अपांगता भएकाहरूको संख्या कुल संख्याको तीन प्रतिशत केही बढ्ता भएको देखाउँछ ।
तर तीमध्ये अधिकांशले समाज र राष्ट्रिय उत्पादनमा कुनै न कुनै हिसाबले योगदान पुर्याउँदै आएका छन् । त्यसमा केही आफैँभित्रको साहस र ऊर्जा बटुली बृहत् प्रतिस्पर्धामा उत्रेका छन् भने केहीलाई वातावरण र विभिन्न मुलुकका परिवेशहरूले प्रोत्साहित गरेको छ ।
तर नेपालमा त्यस्तो ऊर्जा र सम्भाव्यता अनि आँखामा साहस बोकेका जमातले पुल्चोक क्याम्पसको ‘आउट फिल्ड' मा अभ्यास गरिरहे पनि आर्थिक अभावले उनीहरूको सहभागिता अनिश्चित बन्न पुगेको छ, टीट्वेन्टी क्रिकेटमा । सम्बन्धित मन्त्री खेलाडीहरूको प्रबल मनोबल तथा अदम्य साहसप्रति उदासीन देखिनु अझै दुःखद् हो ।
यस प्रतियोगितामा अर्थाभावकै कारण नेपाली नेत्रहीन टोली सहभागी हुन सकेन भने त्यो मुलुकको आपराधिक उदासीनता मानिनेछ । उनीहरूको सपनाको हत्या गरेको आरोप लाग्नेछ । यो सरकारको लागि मात्र हैन, नेपालका व्यापारिक र औद्योगिक घरानाका लागिसमेत कलंकको विषय बन्नेछ, आउँदो वर्षसम्म । केही रकम उठाएर भए पनि सरकारलाई सघाएमा नेत्रहीनहरूले कसरी भविष्यको लागि आशा र सफलताको बीउ रोप्नेछन्, त्यो स्पष्ट देखिनेछ ।
सरकारी ढुकुटीबाट ‘बिरामी' का नाममा विशिष्ट व्यक्तिहरूको उपचारमा अपारदर्शी रूपमा अर्बौं खर्च गर्ने सरकारले ‘नेत्रहीन' क्रिकेटमा नेपालको सहभागिताको सुनिश्चित गर्न सकेन भने त्यो सरकार अत्यन्त अमानवीय र क्रूर अनि संवेदनहीन सरकारको रूपमा चित्रित हुनेछ ।