पुनर्संरचनाको रडाको

 पुनर्संरचनाको रडाको

काठमाडौं स्थानीय तह पुनर्संरचना आयोगले मंसिरभित्रै प्रतिवेदन बुझाउने गरी अन्तिम तयारी गरिरहेका बेला प्रदेश दुईका जिल्लालाई लिएर थप विवाद र असन्तुष्टि देखापरेको छ ।

धेरै प्रयास गर्दा पनि प्रदेश दुईका आठ जिल्लाबाट प्रतिवेदन आउन नसकेपछि आयोगले केन्द्रीय स्तरबाटै विवाद सुल्झाउने प्रयासस्वरूप बुधबार बोलाएको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । आयोगले आठमध्ये चार जिल्लाका सांसदसँग गरेको छलफलमा विवाद बढेपछि तराईमधेस लोकतान्त्रिक पार्टी र जनता दलका सांसदले बहिष्कार गरेका थिए । स्थानीय तहको संख्या र सिमाना तोक्ने काम आयोगले गर्न नमिल्ने भन्दै उनीहरू बाहिरिएका हुन् ।

आयोगले सर्लाही, सिरहा, पर्सा र धनुषाका सांसदलाई कार्यालयमै डाकेर गरेको छलफलमा तमलोपाका जंगीलाल रायले संविधान संशोधन प्रक्रियामा रहेकाले त्यसको टुंगो लागेपछि मात्र स्थानीय तहको संख्या र सिमाना तोक्नुपर्ने अडान लिएका थिए । उनले भने, ‘स्थानीय तहको संख्या र सिमाना केन्द्रले नभई प्रदेशले तोक्नुपर्छ ।’

जनता दलका सांसद हरिचरण शाहले जनसंख्याका आधारमा स्थानीय तहको संख्या तोक्न माग गरे । तर त्यसमा आयोग पदाधिकारी र अन्य सांसद सहमत हुन सकेनन् । सहमतिको संकेत नदेखेपछि राय र शाह बैठक छाडेर हिँडेका थिए ।

आयोग सदस्य सुनिलरञ्जन सिंहले तमलोपा र जनता दलका सांसदले राखेको प्रस्तावमा समर्थन नआएपछि बैठक बहिष्कार गरेको जानकारी दिए । उनले बुधबार अन्नपूर्णसँग भने, ‘नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले पनि राय र शाहकै भनाइमा सहमत जनाउनुभयो तर बैठक बहिष्कार गर्नुभएन ।’

पुनर्संरचना आयोगले केही साताको प्रयासपछि प्रदेश नम्बर २ मा पर्ने तराईका आठ जिल्लाका सांसदलाई काठमाडौं बोलाएर विवाद टुंग्याउने अन्तिम अस्त्र प्रयोग गरेको हो । आठमध्ये बाँकी सप्तरी, महोत्तरी, रौतहट र बाराका सांसदसँग बिहीबार आयोगमै छलफल गर्दैछ । आयोगले बुधबारको बैठक निष्कर्षमा नपुगेकाले केही दिनभित्रै फेरि वार्ता गर्ने गरी बैठक स्थगित गरेको छ ।

समय लम्ब्याएर मंसिर दोस्रो सातासम्म प्रतिवेदन बुझाउने समयसीमा तोकेको आयोगले मंसिरभित्र बुझाउने तयारी गरिरहेको छ ।

उता निर्वाचन आयोगले मंसिरभित्रै स्थानीय तहको संख्या र सिमाना टुंगो लगाए मात्र वैशाखभित्र निर्वाचन गर्न सकिने बताउँदै आएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि कम्तीमा एक सय २० दिन आवश्यक पर्ने जानकारी सरकारलाई दिइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्संरचना र निर्वाचन आयोगका साथै प्रमुख दलसँग छलफल भइरहेकाले सरकारले चाँडै निर्वाचनको घोषणा गर्ने बताएका छन् । तर मधेसी मोर्चा स्थानीय निर्वाचनको विपक्षमा छ ।

बैठकमा आयोग अध्यक्ष डा. बालानन्द पौडेलले विपक्षमा मत राख्ने सांसदलाई संवैधानिक कार्य र जिम्मेवारी भएको बताएका थिए । सदस्य सिंहले आयोग विवादलाई जसरी पनि टुंग्याउन छलफल जारी राख्ने पक्षमा काम गरिरहेको जानकारी दिए । सरकारले बढीमा सात सय ४४ र घटीमा पाँच सय सातवटा स्थानीय तह तोक्न आयोगलाई निर्देशन दिएको थियो ।

उनका अनुसार आठबाहेक सबै जिल्लाको प्रतिवेदनमा देखिएका समस्या मिलाउन र पुनः प्रमाणीकरण गर्नका लागि सम्बन्धित जिल्ला फिर्ता पठाएकोमा काम अन्तिम चरणमा पुगेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.