आयकर तिर्न अब्बल

आयकर तिर्न अब्बल

गत वर्ष राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीमा बैंकिङ क्षेत्रको बाहुल्य रह्यो । ठूला करदाता कार्यालयले सार्वजनिक गरेको प्रमुख २५ आयकर बुझाउने कम्पनीमा १७ वटा बैंक थिए । अघिल्लो वर्ष पनि प्रमुख करदातामा बैंकिङ क्षेत्र नै अग्रस्थानमा थियो ।

बैंकहरू राज्यलाई कर तिर्न अब्बल बन्दै गइरहेका छन् । यो बैंकिङ क्षेत्रमा भएको तीव्र उपलब्धिको सूचक हो । गत वर्ष बैंक तथा वित्तीय संस्थाले सरकारलाई सबा १५ अर्ब रुपैयाँ अम्दानी कर बुझाए । यो रकम अघिल्लो वर्षको तुलनामा झन्डै सबा तीन अर्ब रुपैयाँले बढी थियो । ठूला करदाता कार्यालयका अनुसार अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब तीन करोड रुपैयाँ आयकर संकलन भएको थियो ।

नेपालमा आर्थिक उदारीकरणपछि बैंक तथा वित्तीय संस्थाहरू फस्टाउने मौका पाएका हुन् । २५ वर्षको अवधिमा बैंकिङ क्षेत्रले फड्को मारेको छ । अहिले ठूला करदाताको सूचीमा बैंकिङ क्षेत्रको वर्चस्व बढेको छ । ठूला करदाता कार्यालयले सार्वजनिक गरेको सूचीले आयकरमा बैंकिङ क्षेत्रको योगदान बढ्दै गइरहेको स्पष्ट देखाउँछ ।

आगामी वर्षमा बैंक वित्तीय संस्थाबाट आयकरमा योगदान अझै बढ्ने अर्थविद् रामेश्वर खनालको तर्क छ । 'नेपालमा लगानीको प्रशस्त सम्भावना छ, राजनीतिक स्थिरता भई राम्रो वातावरण बनेमा बैंकिङ लगानी बढ्नेछ', उनी भन्छन्, 'यसले बैंकहरूको आम्दानी बढ्दै जानेछ । आम्दानी बढेपछि आयकर स्वतः बढ्छ ।'

नेपालमा पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिलगायतका क्षेत्रमा ठूलो लगानी आवश्यक छ । यहाँ ऊर्जाको प्रशस्त सम्भावना भए पनि उत्पादन अत्यन्तै कम छ । कृषिप्रधान मुलुकमा कृषिको व्यवसायीकरण हुनै बाँकी छ । पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेर लाखौं पर्यटक भि­त्र्याउने योजनामा सरकार र निजी क्षेत्र छन् । पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी छ । जहाँ बैंकिङ लगानीको सम्भावना बढी देखिन्छ ।

गत वर्ष आयकर अर्बभन्दा बढी बुझाउने बैंकहरू पाँच पुगेका छन् । अघिल्ला वर्षमा आयकर अर्ब पुर्‌याउने बैंकहरू थिएनन् । अर्बभन्दा बढी आयकर बुझाउने नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक र हिमालयन बैंक हुन् । बैंकहरूको आम्दानी बढ्दै गएपछि आयकर पनि बढेको हो । गत वर्ष डेढ दर्जन बैंकले अर्बभन्दा बढी नाफा कमाउन सफल भएका थिए ।

बैंक तथा वित्तीय क्षेत्रबाट नबिल सबैभन्दा बढी आयकर बुझाउने बैंक बन्न सफल भएको छ । गत वर्ष सबैभन्दा बढी आयकर बुझाउने कम्पनीहरूको सूचीमा नबिल पाँचौं नम्बरमा थियो । नबिल बैंकभन्दा अगाडि एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल र गोर्खा ब्रुअरी थिए ।

अघिल्लो वर्ष २०७१/०७२ मा पनि नबिल बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी आयकर बुझाउने बैंक बनेको थियो । नबिल बैंकले गत वर्ष सरकारलाई एक अर्ब ४५ करोड रुपैयाँ आयकर बुझाएको छ । अघिल्लो वर्ष नबिलले झन्डै ९० करोड आयकर बुझाएको थियो । एक वर्षको अन्तरालमा आयकरमा नबिलको योगदान ५५ करोड रुपैयाँले बढेको देखिन्छ ।

ठूला करदाता कार्यालयको बढी आयकर बुझाउने सूचीको छैटौं नम्बरमा नेपाल आयल निगम छ ।

बढी आयकर बुझाउने कम्पनीमा सातदेखि २५ नम्बरसम्म तीनवटाबाहेक सबै वाणिज्य बैंक छन् । तथ्यांकले ठूला करदातामा बैंकिङ क्षेत्रको वर्चस्व हुन थालेको दखाउँछ । उत्पादनमूलक उद्योगहरू सुस्ताउन थालेपछि आयकरमा सेवा क्षेत्र अब्बल देखिन थालेको हो । त्यसो त नेपालमा व्यक्तिले सञ्चालन गरिरहेका उद्योग तथा व्यापारमा यथार्थ कारोबार लुकाएर कर छलिँदै आएका घटनाहरू प्रशस्त छन् ।

'पब्लिक कम्पनी भएकाले बैंकको कारोबार पारदर्शी हुन्छ । आयकर छल्ने मौका हुँदैन, त्यसैले बैंकहरू आयकर बुझाउनेमा अगाडि देखिएका हुन्', अर्थविद् खनाल भन्छन्, 'उद्योग तथा व्यापार व्यक्तिको हुन्छ, उसले आम्दानी लुकाएर आयकर छल्ने काम गर्छ ।' नेपालमा ठूलो कारोबार गर्ने उद्योगहरू प्रशस्तै भए पनि आयकर बुझाउने मामिलामा धेरै पछाडि देखिन्छन् ।

नेपालमा बढी आयकर बुझाउन बैंकहरूबीच प्रतिस्पर्धा देखिन्छ । बढी आयकर बुझाउनेको सूचीमा बैंकहरू तलमाथि भइरहन्छन् । बैंकिङ क्षेत्रबाट नेपाल इन्भेस्टमेन्ट बैंकले एक अर्ब ३४ करोड आयकर बुझाएर दोस्रो बनेको छ । अघिल्लो वर्ष पनि इन्भेस्टमेन्ट बैंक ८३ करोड ६९ लाख रुपैयाँ आयकर बुझाएर दोस्रो भएको थियो ।

गत वर्ष कृषि विकास बैंकलाई उछिन्दै नेपाल बैंक तेस्रो बनेको छ । नेपाल बैंकले एक अर्ब २५ करोड रुपैयाँ आयकर बुझाएर तेस्रो बनेको हो । एक अर्ब ८ करोड आयकर बुझाएर कृषि विकास बैंक चौथो भएको छ । अघिल्लो वर्ष नेपाल बैंक १२ औं नम्बरमा थियो । गत वर्ष नेपाल बैंकले 'राइट ब्याक' बाट आफ्नो नाफा बढाउन सकेको हो ।

अघिल्लो वर्ष चौथो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक गत वर्ष एघारौं नम्बरमा झरेको छ । नवौं नम्बरमा रहेको हिमालयन बैंक एक अर्ब तीन करोड आयकर बुझाउँदै पाँचौं नम्बरमा उक्लिएको छ । अघिल्लो वर्ष हिमालयनले ३५ करोडमात्र आयकर बुझाएको थियो ।

पाँचौं नम्बरमा रहेको एभरेस्ट बैंक एक स्थान तल झरेको छ । एभरेस्ट बैंकले ९१ करोड रुपैयाँँ आयकर बुझाएर छैटौं बनेको छ । अघिल्लो वर्ष एभरेस्टले झन्डै ६५ करोड आयकर बुझाएको थियो । एसबीआई बैंकले सातौं स्थान कायम गरेको छ । अघिल्लो वर्ष ५० करोड आयकर बुझाएको एसबीआईले गत वर्ष ८० करोड बुझाएको छ । उता छैठौं स्थानमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक आठौं स्थानमा छ । गत वर्ष स्ट्यान्डर्डले ७२ करोड राजस्व बुझाएको छ ।

सिद्धार्थ बैंक एक स्थान उक्लिएको छ भने ग्लोबल आइएमई बैंक दुई स्थान पछाडि थकेलिएको छ । ६४ करोड आयकर बुझाउँदै सिद्धार्थ नबौं बनेको छ । ग्लोबल आइएमई ६१ करोड बुझाएर दसौं नम्बरमा परेको छ । यी दुई बैंकले अघिल्लो वर्ष क्रमशः ३४ लाख र ५० लाख आयकर बुझाएका थिए ।

ठूला करदाता कार्यालयका अनुसार बढी आयकर बुझाउने प्रमुख २५ कम्पनीभित्र राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे बैंक, सनराइज बैंक, एनआईसी एसिया बैंक पनि परेका छन् । अघिल्लो वर्ष प्राइम कमर्सियल, नेपाल बैंक, एनआईसी एसिया, सानिमा, नेपाल बंगलादेश, माछापुच्छ्रे, एनएमबीलगायतका बैंक अगाडि थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.