सेयर आवेदन दिन लाइन बस्नु नपर्ने

सेयर आवेदन दिन लाइन बस्नु नपर्ने

काठमाडौः सेयर आवदेन दिँदा लगानीकर्तालाई लाइन बस्नु नपर्ने भएको छ । माघ १ गतेदेखि एप्लिकेसन सर्पोटेड वाइ ब्लक एमाउन्ट (आस्वा) प्रणाली लागू भएपछि सेयर आवेदनकर्र्तालाई प्रतिआवेदन एक सय रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी रकमको सेयर आवेदन बुझाउँदा प्रतिआवेदन दुई सय ५० रुपैयाँ सेवा शुल्क लाग्नेछ । अहिलेसम्म सेयर आवेदन दिँदा लगानीकर्ताले कुनै शुल्क बुझाउनु पर्दैनथ्यो । आस्वा प्रणाली लागू भएपछि दिनभरि लाइन बसेर सेयर आवेदन बुझाउनु पर्ने झन्झटबाट लगानीकर्ता मुक्त हुनेछन् ।

‘अब सेयरको फारम लिन, फारम बुझाउन लाइन बस्नु पर्दैन,' नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की भने, ‘सेयर नपरेपछि पैसा फिर्ता लिन, बैंकमा रकम जम्मा गर्न, सेयर लिन बैंक तथा बिक्री प्रबन्धकको कार्यालयमा जाने झन्झटबाट लगानीकर्ता मुक्त हुनेछन् ।'

‘अब दुःख पनि हुँदैन, दुःख नगरी निःशुल्क सेवा खोज्नु पनि हुँदैन', उनले भने, ‘६ महिनामा हुने काम दुई महिनामै सकिन्छ ।' धितोपत्र बोर्डले पछिल्लो समय जारी गरेको ‘धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३' ले उक्त व्यवस्था गरेको हो । आस्वा प्रणाली अनुसार सेयर आवेदकले नियमावलीमा तोकेबमोजिमको शुल्क बुझाउनु पर्नेछ । बैंकहरूले लगानी कर्तालाई सेवा प्रदान गर्न तोकेभन्दा कम शुल्क पनि लिन सक्नेछन् ।

आवेदकले बुझाएको सेवा शुल्कको ८२ प्रतिशत बैंकले लिने, १५ प्रतिशत सेयर निस्कासन तथा बिक्री प्रबन्धक र तीन प्रतिशत धितोपत्र बोर्डले पाउने व्यवस्था गरिएको धितोपत्र बोर्डका सुपरिवेक्षण तथा अनुगमन विभागका कार्यकारी निर्देशक परिष्ट पौड्यालले बताए । हाल सेयर निस्कासनदेखि नेप्सेमा सूचिकरण गर्नेसम्मको प्रक्रियाले ६ महिना लाग्ने गरेको छ । आस्वा प्रणाली लागू भएपछि उक्त काम दुई महिनामा गर्न सकिने पौड्यालले बताए ।

हाल लगानीकर्ता सेयर फारमका लागि प्रतिफारम दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म तिर्दै आएका छन् । अहिलेसम्म लगानीकर्ताले आवेदन बुझाउँदा सेयर निस्कासन तथा बिक्री प्रबन्धकलाई सेवा शुल्क तिर्नुपर्ने व्यवस्था छैन । बिक्री प्रबन्धकले सेयर निस्कासन गर्ने कम्पनीसँग निश्चित सेवा शुल्क लिएर काम गर्दै आएकोमा अब शुल्क तिर्नुपर्ने भएको छ ।

शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि लगानीकर्ताले आस्वा प्रणालीमार्फत प्रचुर लाभ लिनसक्ने कार्कीले बताए । ‘आस्वा प्रणाली अनुसार सेयर आवेदन गर्नेले बढीमा एक घन्टामा सबै प्रक्रिया पूरा गरेर आवेदन बुझाउन सक्छन्,' उनले भने ।

आस्वा प्रणालीमा भाग लिन धितोपत्र बोर्डले आह्वान गरेकोमा ६ वटा वाणिज्य बैंक र ६ वटा राष्ट्रिय स्तरको विकास बैंकले आवेदन गरिसकेका छन् । माघ १ देखि आस्वा प्रणाली पूर्ण रूपमा लागू हुनेछ ।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आस्वा प्रणाली लागू भएपछि एकभन्दा बढी कम्पनीको साधारण सेयर एकै पटक निस्कासन गरेमा लगानीकर्तालाई समस्या पर्न सक्ने बताए । कम्पनीको सेयर आवेदन गर्दा लगानीकर्ताको एकाउन्ट लक गरिने भएकाले यस्तो समस्या आउन सक्ने उनको भनाइ छ ।

नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रविणरमण पराजुलीले लगानीकर्तासँग लिएको सेवा शुल्कको १५ प्रतिशत मात्र निस्कासन तथा बिक्री प्रबन्धकलाई छुट्याउनु कम भएको बताउँदै त्यसलाई वृद्धि गर्नुपर्ने सुझाव दिए ।

साधारण सेयर निस्कासन गर्दा तीन सय ४० गुणा बढी आवदेन परेको उदाहरण पेश गर्दै उनले आवेदन गर्ने समय पनि छोट्याउनु पर्ने बताए । ‘साधारण सेयरका लागि आवदेन समय पाँच दिनलाई छोट्याएर तीन दिन बनाउँदा समग्र प्रक्रिया छोटो हुन्छ', उनले भने ।

के हो आस्वा प्रणाली ?

सार्वजनिक सेयर निस्कासन गर्दा बैंक खाता रोक्का गर्न बनाइएको नयाँ प्रणाली हो । खाता भएको बैंकमा गएर लगानी कर्ताले विशेष रूपले तयार पारिएको फर्म भरेपछि सेयर माग गरे बराबरको रकम रोक्का हुन्छ । तर, सो अवधिमा पनि डिपोजिट रकमको ब्याज भने आइनै रहन्छ । बैंकले उक्त फर्म मर्चेन्ट बैंकलाई पठाउँछ । खाताबाट सेयर परेको रकम मात्रै झिकेर बाँकी रकम बैंक खातामै रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.