एन्फाको चरम लापरबाहीः एएफसी कपमा सहभागिता अनिश्चित
काठमाडौः एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा सन् २०१७ मा हुने एएफसी कपको प्ले अफमा पुग्ने टोलीको सूचीमा नेपाललाई समावेश गरिएको छैन ।
एएफसीको मुख्यालय मलेसियामा बिहीबार सार्वजनिक गरिएको प्ले अफ र समूहगत चरणमा पुग्ने टोलीमा नाम समावेश नहुँदा नेपालको सहभागितासमेत अनिश्चित बनेको छ । एएफसी कपका लागि गत अगस्टमा मंगोलियामा भएको छनोट खेलबाट नेपालको लिग विजेता रुस्लान थ्रीस्टार क्लब एएफसी कप प्ले अफका लागि छनोट भएको थियो ।
तर एएफसीले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपालको नाम छैन । एएफसीले सार्वजनिक गरेको दक्षिण एसियाली राष्ट्रको सूचीमा भारत, माल्दिभ्स, बंगलादेश, भुटान र श्रीलंकाको नाम छ । पाकिस्तानले भने यो वर्ष कुनै पनि प्रतियोगिता नखेल्ने निर्णय गरेको छ । एएफसीले सहभागी देश र टोलीको समूह विभाजन र खेलस्थल डिसेम्बर १३ तरिखमा तोक्नेछ ।
एएफसीका प्रतियोगिता निर्देशक सिन मनगिलले यसअघि पटकपटक एन्फामा महासचिव धीरेन्द्र प्रधानलाई थ्रीस्टारको सहभागिताको बारेमा पत्राचार गरेका थिए । एएफसीले प्रधानको नाममा पछिल्लो पटक डिसेम्बर ६ तारिखमा पनि पत्र पठाएको थियो ।
‘हामीले पटकपटक एन्फालाई सहभागिताका लागि पत्राचार गरेका थियौं । एएफसी कपमा लागि थ्रीस्टारले तयारी पनि गरिरहेको थियो । एएफसीले पनि हाम्रो सहभागिताको विषयमा चासो राखेको थियो । पहिलो चरणको खेलमा छनोट भएको टोलीले अर्को चरणमा खेल्न नपाउनु आश्चर्यको विषय हो । एएफसीको वेभ साइड हेरेपछि नेपालको नाम नदेख्दा दुःख लागेको छ । यसको सत्यतथ्य तत्काल पत्ता लगाउन एन्फालाई बिहीबार नै पत्राचार गरेका छौं,' थ्रीस्टारका महासचिव सञ्जीव शिल्पकारले भने ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता इन्द्रमान तुलाधरले नेपालको सहभागिता छुटेको विषय आफूले पनि एएफसीको वेभसाइडबाट नै थाहा पाएको बताए । ‘हाम्रो अध्यक्ष नरेन्द्र श्रेष्ठ अहिले मलेसियामै हुनुहुन्छ । नेपालको सहभागिताको विषयमा पक्कै पनि कुरा भएको होला ।
समूह विभाजन र खेलतालिका सार्वजनिक भएको छैन । अझै पनि सहभागिताको लागि हामी पहल गर्नेछौं,' तुलाधरले भने । थ्रीस्टार क्लबले प्ले अफ छनोटअन्तर्गत समूह ‘बी' बाट प्रतिस्पर्धा गरेको थियो । थ्रीस्टार समूह विजेता बन्दै प्ले अफका लागि छानिएको थियो । तीन टोली सम्मिलित छनोटको पहिलो खेलमा थ्रीस्टारले इर्चिमलाई २-० गोलले हराएको थियो । थ्रीस्टार दोस्रो खेलमा नागावोर्लडसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।