चिसोमा कठ्यांग्रिँदै भूकम्पपीडित
सिमभञ्ज्याङ मकवानपुरः करिब दुई हजार चार सय फिट उचाइमा रहेको मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा जाडो महिना सुरु भएसँगै तुसारो पर्न थालेको छ ।
सिमभन्ज्याङनजिकै रहेको नामटार-१ गोलमोडमा गर्मीयाममा चल्ने सिरेटोसमेत सामना गर्न गाह्रो पर्छ । जस्ताको टहरामा किराना पसल सञ्चालन गरी जीवन निर्वाह गर्दै आएकी उर्मिला मोक्तान छेउमै बसेर रोइरहकी तीन वर्षीया छोरीलाई फकाउने प्रयास गर्दैथिइन् ।
जस्ताको छानाबाट शीत चुहिएर भिजेको ओछ्यान देखाउँदै उनले भनिन्, ‘चिसोले गर्दा बच्चा बिरामी छ,रातभर राम्ररी सुत्न पनि पाइँदैन ।’ भूकम्पका कारण जमिन चर्किनुका साथै घर भत्किएर नामटार-१ झिरघारी, बतासे र कटुसघारीबाट विस्थापित भएका ४४ परिवारले यो जाडो महिनामा पनि पक्की घरमा बस्न पाएनन् ।
उनीहरू गोलमोडमा विभिन्न संघसंस्थाको सहयोगमा जस्ताको टहरा बनाएर बसिरहेका छन् । अघिल्लो जाडो मुस्किलले कटाएका विस्थापितलाई अहिले एउटै चिन्ता छ, यो तुसारोमुनि सुतेर कसरी रात कटाउने । ‘रात प¥यो कि चिन्ता लाग्छ, रातभर आनन्दले निदाउन पनि सकिन्नँ,’ भूकम्पपीडित पुतलीमाया थिङले भनिन्, ‘शीतले भिजेको ओच्छ्यानमा कसरी निदाउने ? ’ भूकम्पपीडित तथा विस्थापित व्यवस्थापन समितिका अध्यक्ष सीताराम मोक्तानले बालबच्चा, वृद्धवृद्धा र गर्भवतीलाई जाडो काट्न झनै मुस्किल परेको बताए । सरकारले विस्थापित परिवारको विषयमा कुनै चासो नदिँदा आफूहरू तुसारोले भिजेको ओछ्यानमाथि सुत्नु परेको उनको गुनासो छ ।
४४ परिवारमध्ये आधा दर्जन परिवारले अन्यत्र जमिन किनेर घर बनाउन अनुदान सम्झौता गरेको अध्यक्ष मोक्तानले बताए । ‘भूकम्पले धाँजा फाटेको जमिनमा घर बनाउन नमिल्ने भएपछि थप पीडित परिवारले घर निर्माणका लागि सम्झौतासमेत गरेका छैनन्’, उनले भने । ‘सरकारले दिने पैसाले जग्गा किन्नु कि घर बनाउनु ? ’, स्थानीय सुन्तलीमाया थिङले भनिन्, ‘विस्थापित परिवारका विषयमा सरकारले छुट्टै निर्णय गरी हामीलाई व्यवस्थापन गर्नुपर्छ ।’
‘पुरानो ठाउँ फर्कन पनि सकिँदैन, नयाँ ठाउँ कहाँ जाने? हामी अन्योलमा छौं’, स्थानीय पुतलीमायाले गुनासो पोखिन्, ‘सरकारले बस्ती सारिदिने भनेर आश्वासन मात्र दियो ।’ कहाँ घर बनाउने अन्योलमा रहेकी उनले लालपुर्जा नभएका कारण अनुदान रकमसमेत पाएकी छैनन् । ‘भास्सिएकै जमिनमा खेतीपाती गर्छ, बेलुका सुत्न टहरोमा फर्कन्छु’, पुतलीमायाले भनिन्, ‘भास्सिएको जमिनमा कसरी घर बनाएर बस्नु, अझै कति जाडो टहरामै काट्नुपर्ने हो थाहा छैन ।’