‘अर्जेन्टिनी खेलाडी जसले रोनाल्डो र मेसीभन्दा दोब्बर बढी तलब थाप्छन्’
काठमाडौंः पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीलाई नै विश्वकै सबैभन्दा बढी तलब बुझ्ने फुटबलरका रुपमा लिँदै आइएको छ।
तर, रोनाल्डो र मेसीभन्दा पनि बढी पारिश्रमिक बुझ्ने गरेका एक खेलाडीको नाम सार्वजनिक भएको छ। विश्वकै सबैभन्दा बढी पारिश्रमिक बुझ्ने फुटबल खेलाडी अर्जेन्टिनाकै हुन्, तर मेसी भने होइनन्। पाँच पटकका बेलोन डिअर विजेता मेसी र तीन पटकका बेलोन डिअरका विजेता रोनाल्डोभन्दा झन्डै दोब्बर पारिश्रमिक पाउने खेलाडी हुन्, अर्जेन्टिनाका एजिक्युएल लाभेजी।
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् लाभेजी। अर्जेन्टिना मेसीको कप्तानीमा मैदान उत्रिदा लाभेजीसँगै उत्रिन्छन्। हालै सार्वजनिक भएको एक गोप्य दस्ताबेजका अनुसार चाइनीज क्लब हेबेइ चाइनाबाट व्यवसायिक फुटबल खेलिरहेका लाभेजीले विश्वकै चर्चित खेलाडी मेसी र रोनाल्डोभन्दा झन्डै दुई गुणा बढी तलब बुझ्छन्।
फ्रान्सेली क्लब पेरि सेन्ट जर्मेन (पिएसजी) बाट लाभेजी यो वर्ष नै चाइनीज क्लब हेबेइ चाइनसँग आबद्ध भएका हुन्। गोप्य दस्ताबेजका अनुसार अर्जेन्टिनी खेलाडी लाभेजीले प्रतिसाता चार लाख स्टर्लिङ पाउन्ड पारिश्रमिक बुझिरहेका छन्।
तर, लाभेजीले प्रतिसाता चार लाख ९३ हजार पाउन्ड स्टर्लिङ पारिश्रमिक बुझ्ने गरेको अनुमान गरिएको छ। मेसीले अहिले बार्सिलोनाबाट प्रतिसाता २ लाख ७० हजार पाउन्ड स्टर्लिङ पारिश्रमिक पाइरहेका छन्, जुन लाभेजीले बुझ्ने भन्दा २ लाख २३ हजार पाउन्ड स्टर्लिङ कम हो।
रोनाल्डोले गत महिनामात्रै रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् र उनले ३ लखा ६५ हजार पाउन्ड स्टर्लिङ प्रतिसाता तलब बुझ्छन्। यस्तै रियल मड्रिडकै वेल्सका खेलाडी ग्यारेथ बेलले प्रतिसाता ३ लाख ५० हजार पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउँछन्।