छात्रा मृत्युको घटना छानबिन गर्न अनेरास्ववियुको माग
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले शुक्रबार प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार भएको बताइन् ।
उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।
अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए । बिहीबार प्रधानमन्त्रीको स्वागत गर्न गएका बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो । रासस