अझै बनेन काठमाडौं टावर (भिडियाेसहित)

अझै बनेन काठमाडौं टावर (भिडियाेसहित)

काठमाडौः सम्झौता भएको दुई वर्ष बित्दा पनि जलेश्वर, स्वच्छन्द र बीकोई जेभी प्रालिले पुरानो बसपार्कमा बनाउने भनेको काठमाडौं टावर सुरु गरेका छैनन् । गत भदौमा नक्सा पास भई कात्तिक २५ गते लक्ष्मीपूजाका दिन उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेको २९ तले टावरको काम अघि बढ्न सकेको छैन । काम नथालेपछि काठमाडौं महानगरपालिकाले सम्झौता रद्द गरी अर्को प्रक्रियामा जानसक्ने संकेत गरेको छ ।

टावर निर्माणका लागि पुरानो बसपार्कलाई खुलामञ्चमा सारेको सात महिना भइसकेको छ । ‘सम्झौता भएको एक वर्ष बित्दा पनि काम सुरु भएको छैन । भवनको नक्सा पास भएको एक वर्ष पूरा भइसक्यो । अब एक वर्ष पनि बाँकी छैन । यत्तिका समयसम्म डीपीसीको कामसमेत भएको छैन', महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अन्नपूर्णसँग भने, ‘हामीले इनोभेटिभसँग कामको तालिका मागेका थियौं ।

चित्तबुझ्दो नभएपछि नयाँ तालिका मागेका छौं । त्यो पनि यत्तिका दिनसम्म पाएका छैनौं ।' २०६८ असार २६ गते सार्वजनिक गरिएको काठमाडौं घोषणाको बुँदा नम्बर ५५ र १८ औं नगरपरिषद्को विशेष निर्णय नम्बर १ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ स्थित पुरानो बसपार्कमा बहुतले बहुउद्देश्यीय भवन निर्माण गर्ने उल्लेख थियो ।

प्रक्रियाअनुसार प्राविधिक र आर्थिक प्रस्ताव बोलपत्र मूल्यांकन समितिबाट २०६९ मंसिर २७ गते आर्थिक प्रस्तावमा सबैभन्दा बढी रोयल्टी बुझाउन कबोल गर्ने जलेश्वर, स्वच्छन्द र बीकोई जेभीको प्रस्तावलाई टावर निर्माणका लागि स्वीकृति दिइएको थियो । महानगरपालिकाले प्रालिलाई गत चैत महिनामै कार्यादेश पनि दिइसकेको छ ।

महानगरपालिकाका कर्मचारी लोकनाथ चुडालले सम्झौता भएको वर्ष दिन र कार्यादेश दिएको नौ महिना बित्दा पनि टावर निर्माणको कुनै काम नभएको बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रहेका चुडालले भने, ‘काम नथाल्ने भए बसपार्कमा सरदर १५ हजार रुपैयाँले १६ वटा सटरको यत्तिका महिनासम्मको आम्दानी र बसपार्कबाट हुने आम्दानी गुमाउने अवस्था किन निर्माण गरेको ? ' बसपार्कमा जमिन खन्ने दुईवटा मेसिन राखेको छ महिना भएको जानकारी दिँदै उनले बिग्रिएका मेसिन राखेर सार्वजनिक जग्गा ओगट्न नहुने बताए ।

भिडियाे हेर्नुहाेस्

उनले थपे, ‘सार्वजनिक जग्गामा कसैलाई पनि नांगो नाच देखाउने अधिकार छैन ।' प्रालिले वार्षिक दुई करोड ३५ लाख राजस्व बुझाउने गरी सम्झौता भएको जानकारी महानगरपालिकाका सूचनाअधिकृत महेश काफ्लेले दिए ।

टावर निर्माणमा दुई हजार चार सयजनाले रोजगारी पाउनेछन् । उनका अनुसार प्रत्येक वर्ष तीन प्रतिशतले राजस्व बढ््नेछ भने १५ वर्षपछि नाफामा २.५ प्रतिशतका दरले महानगरपालिकालाई दिनुपर्ने सम्झौतामा छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले टोकियो टावर, लन्डन टावरजस्तै नेपाल चिनाउने गरी काठमाडौं टावर बनाउन लागिएको बताए । यो महानगरको भविष्यसँग पनि जोडिएकाले काममा कुनै प्रकारको सम्झौता गर्न नसकिने उनको भनाइ छ ।

उनले भने, ‘चैतमै सुरु गर्नुपर्ने हो तर अझै फिल्डमा काम थालेको देखिँदैन । ल्याएका दुईवटा मेसिनको भाडा तिर्ने हो भने पनि नौ महिनामा लाखौं पर्छ । बिग्रिएका मेसिन देखाउन राखिएको हुनुपर्छ । यही गति हो भने सम्झौता रद्द गरेर अर्को प्रक्रियामा जान सक्छौं ।'

प्रालिका प्रबन्धक मनोज भेटवालले भने सामान जुटाउन समस्या भएको र बर्खाका कारण काम अघि बढाउन नसकिएको तर्क गरे । उनले भने, ‘काम थालेपछि कहींकतै समस्या हुनु हुँदैन । अब चाँडै काम सुरु गर्नेछौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.