एक यायावरको संसार डायरी

एक यायावरको संसार डायरी

फ्य्रांकफर्ट एअरपोर्ट (जर्मनी)को 'ड्युटी फ्री' सपमा जीवा लामिछाने अत्तर हेर्दै थिए । एउटी सेल्स-युवती आइपुगिन् । थरीथरीका अत्तरको सुगन्ध 'ट्राई' गर्न भनिन् । जसरी पनि किन्न लगाउने प्रयास असफल हुने छाँट देखेपछि उनले डाइलग मारिन् । डिसेम्बर ३ मा सोही एअरपोर्टबाट लामिछानेले फेसबुक स्टाटस लेखेका छन्, 'मलाई परफ्युम किन्न लगाउने उनको लामो प्रयास असफल हुने छाँट देखेपछि अन्त्यमा उनले अलि महँगो ब्रान्डको परफ्युम मेरो गर्धन र ब्लेजरतिर छर्कंदै भनिन्, 'परफ्युम नकिने पनि यो परफ्युमको सुगन्ध तिम्रो यात्रामा सँगै लिएर जाऊ, यो ब्रान्डको सुगन्ध निक्कै लामो समयसम्म रहिरहन्छ ।

अगाडिको यात्रामा तिम्रो सिटसँगै कुनै युवती परिन् भने यसबाट आउने सुगन्धले उनलाई निक्कै खुसी तुल्याउनेछ ।' यति भनेपछि मान्छेको मनै त हो नि, मैले त्यो 'स्यान्डलवुड अरोमा' भएको परफ्युम किनेको छु । त्यो फ्रेर्गरेन्ससहितको मेरो यात्रामा सँगैको सिटमा बस्न को आइपुग्ला त्यो भने अझै हेर्न बाँकी छ ।'

त्यो अत्तरको वासना कति समय रह्यो लेखेका छैनन् उनले । ती अत्तर बेच्ने युवती फेरि भेट हुन्छिन्÷हुन्नन् थाहा छैन उनलाई । तर त्यो क्षण, त्यो अत्तर र त्यो अत्तर बेच्ने युवती रहनेछन् जीवाको मस्तिष्कमा टाँसिएर, सम्भवतः कहिल्यै नमेटिने गरी । यसैगरी टाँसिएर बसेका छन्- अनेकन् याद जीवाको मस्तिष्कभरि । आखिर जीवन यात्रा न हो । जीवाको जीवन त सायद यात्राकै लागि हो । आयुका अनेकन सिँढीहरू उनले यात्रा गरेरै उक्लेका छन् । ती यात्रामा यसैगरी भेटिएका छन्- अनेक युवक र युवती । देखेका छन्- अनेकन् सभ्यता र समय । र, उनले भोगेका छन्- समयको परिवर्तनशील स्वभाव ।

फेरिँदा रैछन मूल्य, विचार, जीवनशैली र वास्तुशील्प । बदलिँदा रैछन् हिँडेको बाटो, बाँचेको सहर, भोगेको समय । फेरिएको छ- जीवा हिँडेको सोभियत संघ । सँगसँगै भएको छ- इतिहासको एउटा पटाक्षेप । त्यो पटाक्षेपले भरेको छ डिस्कोर्सका अनेकन पाना । ती पानाहरूबीच अरू थप पाना थप्न आइपुगेका छन्- जीवा लामिछाने । उनीसँग छन्, नस्टाल्जियाका असंख्य थाकहरू । ती स्मृतिदंशमा मूल भएर बसेका छन्- जीवनको सन्त्रास, विभ्रम, अत्यास, दुःख, यान्त्रिकता र ऐकान्तिकका अनेकौं शृंखला । त्यहीँ छन्- विश्वका पाँच महादेशका २९ देश घुम्दा छिटा परेका समयका बाछिटाहरू । तिनै बाछिटा टिपेर लेखेका छन् उनले- 'सरसर्ती संसार ।'

संसारलाई सरसर्ती एक फन्को लगाउँदा के-के देखे उनले ? भोगे के-के ? बाँचे कस्तो ? देखे होलान्, कतिपय मृत्यु पनि । कस्तो थियो त्यो ? जीवनको रंग फरक-फरक हुन्छ भूगोलअनुसार । के मृत्यु पनि फरक हुन्छ ? थाहा छैन मलाई । बस् मलाई थाहा छ- एकजना मानिस आएका थिए जीवाको जीवनमा मोड भएर । उनको नाम थियो - छन्नु महतो ।
छन्नु महतो थिए र जीवा रुस पुगे । रुस पुगे र व्यवसायी भए । व्यापारको दुनियाँमा जमे । रुस नभएको भए थाहा छैन के हुन्थे ? कहाँ हुन्थे ?

समयको पदचापमा विस्मृतिको धुलो जम्न खोज्छ । स्मृतिको हावाले उडाइलान्छ र देखिन्छ त्यो पदचाप । जीवा थुप्रैपटक धुलो जमिसकेको पुरानो समयतिर फर्किन्छन् र भेट्टाउँछन् छन्नु महतोको त्यो आकृति । बहुलाएको राप्ती र जोखिम मोलिरहेको छन्नु महतो ।

'स्मृतिमा मेरा बा' शीर्षकमा जीवा लेख्छन्, '२०४३ साल भदौ २० गतेको त्यो बिहान मेरो स्मृतिमा सबैभन्दा गढेर रहेको दिन हो । रातभरि परेको पानीले राप्ती नदी बहुलाएको थियो । गाउँले भन्थे, त्यस्तो बाढी यो नदीमा त्यसअघि कहिल्यै देखिएको थिएन । नदीको किनारामा सयौं मानिस तमासे भएर उभिएका थिए । छन्नु महतो दाइ, हामीलाई राप्ती नदी तार्न ठूलो आँट बटुलेर आए ।'

महतोको त्यो आँटिलो निर्णय जीवाको जीवनमा टर्निङ प्वाइन्ट भएर प्रवेश गरेको थियो । २०४३ सालमा ओभरसियर पास भएपछि उनले सोभियत संघमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाएका थिए । मस्को प्रस्थान गर्नुअघि बा-आमासँग बिदा हुन चितवन-पदमपुर गाउँ पुगेकै बेला व्यापक पानी परेको थियो र राप्ती नदी 'बहुलाएको' थियो । छन्नु माझी नभएका भए जीवा राप्ती तर्ने र सोभियत संघ जाने संयोग नमिल्न पनि सक्थ्यो ।

खोला तरेपछि माझी बिर्सने हुन्छन् थुप्रै । तर, बिर्सेनन् जीवाले । त्यसैले नै उनी थुप्रैहरूको थुप्रोभन्दा बाहिर छन् । आधा दशकअघि चितवनमा उनले छन्नुलाई 'मेरा आदर्श मानिस' भनेर सम्मान कार्यक्रम नै आयोजना गरेका थिए । त्यस कार्यक्रममा म पनि उपस्थित थिएँ । आफ्नो 'जरा' नबिर्सने जीवाको स्वभावले डोरी लगाएरै खिचेको थियो मलाई । इन्जिनियर प्लस लेखकको संवेदनासँग झुकेको थिएँ म ।


यस्ता अनेकौं संवेदनाले भरिएको छ किताब जहाँ अंकित छन् एउटा महाराष्ट्र टुक्रँदै गर्दाको तीता अनभूति । बनिबनाउ व्यवस्थाको अवसान । क्षतविक्षत समय । मान्छेका फाटिरहेका मन । इतिहासले सिएको राष्ट्रहरूको नक्सा उधिँ्रदै गरेको वर्तमान । अर्थात्, सोभियत संघको विघटन-कथा ।

१५ गणतन्त्र समेटेको सोभियत संघ एउटा बेग्लै महादेश बराबर थियो । अनेकन राष्ट्रियता, संस्कृति र कथाहरूले भरिएको । टुक्रियो त्यो महादेशजस्तो देश । भयो इतिहासको अर्को कथा । सोभियत संघमा समाजवाद ढल्दै गर्दा र त्यो महादेशजस्तो देश टुक्रिँदै गर्दा त्यहीँ थिए जीवा लामिछाने । के त्यति बेला कथाहरू टुक्रेर बनेको थियो उपकथा ? वा काँचको टुक्राजस्तै टुक्रिएको थियो संवेदना ? लामिछानेले 'सरसर्ती संसार'को एक एपिसोडमा ताजिकिस्तानको आँखाबाट त्यो विघटन कोट्याएका छन्ः

'च्यातिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा तब फूलबाट ।'

सोभियत संघका १५ वटा गणराज्यमध्ये सबैभन्दा दक्षिणमा रहेको ताजिकिस्तानको सोभियत संघ विघटन भएपछिको अवस्था देख्ता मलाई राष्ट्रकवि माधव घिमिरेले लेखेका यी पङ्क्ति झलझली याद आयो । एउटा सिंगो देश राजनीतिक महत्त्वाकांक्षाका कारण टुक्रिँदा त्यस देशका जनताले कस्तो दुर्दशा भोग्नुपर्दो रहेछ भन्ने प्रस्ट भयो । नटुक्रिएको तत्कालीन सोभियत संघ देश नभएर महादेशजस्तै थियो । प्राकृतिक साधनस्रोत, सामरिक महत्त्व, औद्योगिक तथा खनिज पदार्थ उत्पादन, वनजंगल, जैविक विविधतालगायत जुनसुकै कोणबाट हेर्दा पनि सोभियत संघ एउटा महाशक्ति राष्ट्र नै थियो ।

अनपेक्षित राजनीतिक अव्यवस्थाको भुमरीमा फसेको मुलुक ताजिकिस्तानमा सन् १९९१ मा मैले पहिलोपटक पाइला टेकेको थिएँ ।...

गोर्वाचोभले सन् १९८५ मा सुरु गरेको पेरेस्त्रोइका र ग्लास्तनोस्तपछि सबै संघीय गणराज्य सोभियत संघबाट छुट्टिएर आआफ्नो अलग पहिचानसहितको स्वतन्त्र राज्य बन्न लागेको संक्रमणकाल थियो त्यो । त्यसैले आर्थिक र सामाजिक पक्षहरू अस्तव्यस्त थिए । जातिजातिबीच विद्यमान सामाजिक सद्भाव बिथोलिएर एकअर्काप्रति द्वेषको भाव उत्पन्न हुन थालेको थियो ।'

०००

किताबमा यस्ता अनेकौं संस्मरण छन् । पारिवारिक, व्यावसायिक यात्रा संस्मरण बढी छन् । विद्यार्थीकालको यात्रा-संस्मरण पनि छन् । ती बढी रोचक होलान्, ठान्छन् जीवा । पुराना र नयाँ संस्मरण गरी एउटा कक्टेल यात्रा डायरी तयार गरेँ भन्ने लाग्छ उनलाई । तर, त्यो कक्टेल डायरीको स्वाद मादक छ भन्नेमा विश्वस्त छु म । उनी भने आतुरीमा थिए ।

संसारलाई सरसर्ती एक फन्को लगाउँदा के-के देखे जीवाले ? भोगे के-के ? बाँचे कस्तो ? देखे होलान्, कतिपय मृत्यु पनि । कस्तो थियो त्यो ? जीवनको रंग फरक-फरक हुन्छ भूगोलअनुसार । के मृत्यु पनि फरक हुन्छ ?

आतुरी नभए किन जर्मनीको फ्य्रांकफर्टबाट नेपाल टेकेपछि घर पनि नगई सीधै प्रकाशन संस्था 'नेपालय'को अफिस पुग्थे ? सायद, किताबको पहिलो प्रति उनी हेर्न चाहन्थे । पहिलो किताबलाई सानो बालिकाले चकलेट खेलाएजस्तै महसुस गर्न चाहन्थे वा पहिलो लेखक-कपी आफ्ना प्रियजनलाई गिफ्ट दिन चाहन्थे ।

आखिर बीपीले लेखेकै छन्, 'नया“ किताब तरुनी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउता ओल्टाइपल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुँघ्नुपर्छ ।' (०१८ माघ ५ गते सुन्दरीजल जेलमा बीपीले लेखेको डायरीको अंश)

तर, प्रेसबाट छापिएर किताब त्यस दिन आइदिएन । भोलिपल्ट (गत सोमबार) मात्र आइपुग्ने भयो । म पनि निराश भएँ अलिकति । उनको संसार अनुभव बजारमा पुग्नुअगावै हात पार्ने लालसा त थियो नि आखिर ।

समयको अनुकूलता/प्रतिकूलतालाई बेवास्ता गर्दै उनको यात्रा अनुभवबारे अन्टसन्ट सोधिबसेँ-

यात्राक्रममा खास के कुराले प्रभाव पार्छन् ?

- ठाउँअनुसार त्यो फरक हुन्छ ! ऐतिहासिक ठाउँको आफ्नै महत्त्व हुन्छ ! प्राकृतिक सम्पदा, रहनसहन, भौतिक संरचना, संस्कृतिजस्ता धेरै पक्षले प्रभाव परेको हुन्छ !

यात्राबाट के फाइदा भयो ?

- सय पुस्तक पढ्नुभन्दा एउटा यात्रा गर्नु बढी प्रभावकारी हुन्छ भन्ने त चलन नै छ ! यात्राबाट सोच्ने दृष्टिकोण फराकिलो भएको पाएँ !

यात्रा गर्न मुख्य कुरा के चाहिन्छ ? धन कि मन ?

- ठूलो कुरा त मन नै हो ! त्यसपछि समय व्यवस्थापन ! मन र समय भयो भने अरू विकल्प जुटाउन सकिन्छ !

यात्रा साहित्यमा तपाईंलार्ई मन परेको खास किताब कुन हो ?

- सबैभन्दा मन परेको पुस्तक 'बेलायततिर बरालिँदा' नै हो ! ध.च. गोतामेको संस्मरण लेखनशैली बेजोड लाग्छ ! उहाँका सबै पुस्तक पढेको छु ! आजकल यात्रा साहित्यमा कलम चलाउने लेखक निकै हुनुहुन्छ ! धेरै लेखकका कृति त मैले पढ्न पाएको छैन ! युवराज नयाँघरे, निर्मोही व्यास, शारदा शर्मा, खगेन्द्र संग्रौला, लैनसिंह बाङ्देल, उषा हमाल, गोविन्द वर्तमान, चन्द्रप्रसाद भट्टराई, खगेन्द्र लुइँटेल, दामोदर पुडासैनी, घनश्याम राजकर्णिकार आदिका संस्मरण वा यात्रा अनुभवहरू पढेको छु !

पाँच उत्कृष्ट गन्तव्य ।

- सिंगापुर, पेरिस, अफ्रिकन जंगल सफारी, अस्ट्रेलिया, माल्दिभ्स ।

विश्वका पाँच सुन्दर ठाउँ ।

१. इटालीको रोम सहर मलाई पूरै म्युजियमजस्तो लाग्छ !
२. सिंगापुर चिटिक्क परेको सुन्दर बगैंचाजस्तो !
३. प्राग सहरको सुन्दरताले निकै लोभ्यायो !
४. समग्र जापान र टोक्यो सहरको भौतिक संरचनाको विकास देख्दा चकित भएँ !
५. माल्दिभ्स र सेसेल्स द्वीपमा कञ्चन पानीका समुद्री तटहरू निकै मनमोहक छन् !
...
पुनश्चः जीवाको पहिलो किताब प्रेसबाट छापिएर आइसकेको छ । र, उनलाई लागेको छ- आफू परीक्षार्थी हुँ । परीक्षा दिएर बसेको एक विद्यार्थी । रिजल्ट पर्खिन पाठकहरूमाझ पुग्नुपर्छ । पहिलोपटक जाँचकी (पाठक)को अदालतमा उभिनुपर्दा अनेक तर्कना, अनुभूतिले घेरिएका छन् यति बेला जीवा । भन्न त भनेको थियो रोलाँ बार्थले- लेखक मर्छ प्रकाशनपछि । सायद आंशिक सत्य थियो ऊ । किनभने लेखक जीवा आफ्ना अनुभूति र आवेगसहित बजारमा आएका छन् । र, उनका टेक्स्टहरू हाजिर छन् प्रश्नहरू बोकेर पाठकअघि ।

'सरसर्ती संसार'का पानाहरूमा छरिएर बसेको छ छितरिएको समयको इतिहास । सम्झना र समय । संवेदना र शोक । समय सन्दर्भमा भेटिने अनेकन स्टेसन र लोकेसन ।

के पाठकले पनि भेट्टाउलान् त्यहाँ कतै लुकिबसेकी अत्तर बेच्ने केटी र 'स्यान्डलवुड अरोमा ? '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.