अपडेटः जन्ती बसले कारलाई ठक्कर दिँदा किचिएर चारजनाको मृत्यु
पथलैयाः बाराको पथलैया अमलेखगन्ज सडकखण्डमा शनिबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । वीरगञ्जबाट हेटौंडाका लागि जन्ती लिएर जाँदै गरेको ना ६ ख ६७५४ बस र विपरीत दिशाबाट आइरहेको ना १२ च ८२९० नम्बरको कार आपसमा ठोक्किएर भएको दुर्घटनामा कारका चालक खोटाङका २३ वर्षीय दीपकबहादुर थापाको घटनास्थलमै मृत्यु भएको थियो।
उपचारका लागि चुरेहिल अस्पताल हेटौडा पुर्याएकी खोटाङकै कुमारी थापा र उनका ११ महिनाको छोरा जेनिस काफ्लेको उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै महेन्द्र आलेको उपचारका क्रममा हेटौंलास्थित जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते भएका तीन जनाको अवस्था पनि गम्भिर छ। घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। चालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको छ ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएपनि कारण खुल्न सकेको छैन। कारमा सात जना सवार थिए । बसमा कति सवार थिए भन्ने यकिन नभएको तथा दुर्घटनास्थलमा पुग्दा बस छाडेर यात्रु तथा चालक फरार भएको पथलैयास्थित मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।