पाँच रुपैयाँबाट करोडाैंको यात्रा

पाँच रुपैयाँबाट करोडाैंको यात्रा

नयाँ दिल्लीः सपना देख्नुपर्छ, महत्वाकांक्षी पनि हुनुपर्छ अनिमात्र अगाडि बढ्न सकिन्छ । धिरुभाइ अम्बानीले सपना नदेखेको भए यत्रो एम्पायर (रिलायन्स) खडा गर्न सक्थे त ? ‘भारतको कर्पोरेट लेभलमा खडा हुने सपना देखेको छु', पचास वर्षीय युवराज बराल युवा जोशका साथ भन्छन् ।

पाँच रुपैयाँको पियनको जागिरबाट सुरु भएको उनको यात्रा अहिले वार्षिक बीसदेखि पच्चीस करोडको टर्नओभरमा पुगेको छ । साढे दुई करोडभन्दा बढी त उनले भारत सरकारलाई कर नै बुझाउँछन् । वार्षिक एक सय करोड कारोबार पुर्‍याउने महत्वाकांक्षी लक्ष्य छ उनको ।

उनले विश्वासका साथ भन्छन्, ‘तीन वर्षमा यो लक्ष्य पुरा गर्छु । सपना पुरा भएको छैन्, यात्रा निरन्तर छ, जोश उत्तिकै छ ।' नेपालीको परिचयलाई धमिल्याउने प्रवासी नेपालीको भीडमा जान उनी रुचाउँदैनन् तर नेपालीको हितलाई सधैं अगाडि राख्छन् । उनले भर्खरै मात्रै भारतमा रहेका नेपाली व्यवसायीको छाता सँगठन एभरेस्ट चेम्बर अफ कमर्सको कमान्ड सम्हालेका छन् ।

आठ वर्षअघि स्थापना भएको चेम्बरका गतिविधि शुन्य सरह भएको अवस्थामा बरालले जोशका साथ तेस्रो कार्यकालको नेतृत्व सम्हालेका हुन् । एक सय सत्तरीभन्दा बढी प्रवासी नेपाली व्यवसायी सदस्य रहेको चेम्बर अहिले अस्तव्यस्त छ । यसको स्पस्ट खाका, योजना, व्यवस्थापन केही छैन ।

सात सदस्यबाट सुरु भएको संस्थाका संस्थापक अध्यक्ष चिरन्जिवि मरासिनी बेलायत भासिएपछि चेम्बरको परिचय नै हरायो । डिजिटल भारतका रूपले अगाडि बढिरहेको मुलुकमा स्थापित चेम्बरको सूचना प्रवाह गर्ने वेवसाइटसम्म छैन । गैह्रव्यावसायिक व्यक्तिहरूको बाहुल्यता छ ।

तर अध्यक्षको जिम्मेवारी सम्हालेका बराल आफूले गर्नुपर्ने कामबारे स्पस्ट छन् । ‘नेपाली दूतावाससँग मिलेर आर्थिक विषयलाई प्राथमिकतामा राख्ने, नेपाली उद्योगी व्यवसायीसँग छलफल गरेर आगामी दिनमा नेपालमा लगानी गर्नेतर्फ अघि बढ्ने जस्ता कार्यक्रम लिएर अघि बढ्छौं', उनले भने । चेम्बरको आफ्नै भवन निर्माण गर्ने र तीन वर्षभित्र प्रवासी नेपालीहरुकै लगानीमा सहकारी बैंकको स्थापना गर्ने स्पस्ट भावी योजना छ उनको ।

भारतको आर्थिक राजधानी मुम्बइबाट यात्रा सुरु गरेका उनले लाटो रोयल एक्सप्रेस सर्भिसेज हुँदै बराल एक्सप्रेस सर्भिसेजको नाममा कुरियर व्यवसाय सञ्चालन गरे । व्यवसाय विस्तार गर्ने क्रममा उत्तर भारतमा जम्ने सोचका साथ बीस वर्षअघि नयाँ दिल्ली आएका बरालले करिब पच्चीस वर्षको अनुभवलाई लजिस्टिक्स व्यवसायमा परिणत गरेर उनले नयाँ कम्पनी बराल लोजिस्टिक्स खोलेका छन् ।

‘विश्वकै तेस्रो ठूलो व्यवसायमा पर्छ यो काम, यसको कुनै सीमा छैन, जति पनि विस्तार गर्न सकिन्छ', भन्छन उनी । यही सोचका साथ सन् १९९१ मा मुम्बइबाट सुरु भएको उनको कुरियर कारोबार लजिस्टिक व्यवसायतर्फ उन्मुख भएको हो ।

लजिस्टिक व्यवसायबारे जिज्ञासा राख्दा उनले दिल्लीको महिपालपुरस्थित कम्पनीको गोदाममा रहेका विभिन्न कम्पनीका प्याकिंग देखाउँदै भने, ‘यी सामानहरू सम्बन्धित गन्तब्यसम्म सुरक्षित पुर्‍याउनु हो ।' ‘सरल भाषामा भन्नुपर्दा भौतिक सामानलाई पठाएको स्थानदेखि गन्तब्यसम्मको सफल व्यवस्थापन नै लजिस्टिक हो', उनले थपे ।

नेपाली भाषामा कुरा गरे हेपिइने भन्ने सोच र यथार्थबीच उनले आफूलाई नेपालीकै परिचयबाट स्थापित गराएको बताउँछन् । अहिले पनि नेपालीको इमान्दारीताको परिचय गुमेको छैन । सत्तरी प्रतिशतभन्दा बढी भारतीयहरू आज पनि नेपालीहरू इमान्दार हुन्छन भन्ने उनको अनुभव छ ।

उनले गर्वका साथ सुनाए, ‘सात हजार करोड सम्पत्ति भएको लाभा कम्पनीको एमडीसँग व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध गासेको छु । परम्परागत डिजाइनरका कुर्ता सुरवाल (एथनिक ड्रेस)को कहलिएको ब्रान्ड बीबाका एमडी त साथी जस्तै छन्, यही अफिसमै गफिन आउँछन् ।' (म बसेको कुर्सीतर्फ देखाउँदै उनले भने । )

बराल लजिस्टिकसम्मको यात्रामा प्रसिद्ध भारतीय सर्टिंग सुटिंगको रेमन्ड, बीबा, रितुकुमार, डब्लु, लाभा मोबाइल, अक्सफोर्ड तथा क्याम्ब्रिज युनिभर्सिटी प्रेसलगायत दुई सय पचासभन्दा बढी ग्राहक जोडिनुमा आत्मविश्वास, इमान्दारीता तथा निरन्तरको मेहनत नै मुख्य भएको उनी ठान्छन् ।

महत्वाकांक्षी सपनाले नै गन्तब्य पहिल्याउँदै जान्छ । मुम्बइको इङ्ल्यान्ड ट्रन्सपोर्ट कम्पनीमा तेह्र वर्षको उमेरमा उनले पाँच रुपैयाँको तलबबाट जागीर सुरु गरेका थिए । सोही कम्पनीमा अरुले पचास रुपैयाँसम्म तलब पाउँथे तर सोर्स लगाउने कोही नहुँदा पाँच रुपैयाँमै चित्त बुझाउनु परेको उनको अनुभव छ ।

सोह्र घन्टासम्म पनि काम गरेको सम्झना छ उनलाई । ‘साँझको स्कुल पढ्थेँ तर पनि जीवन संघर्षमय थियो', उनले भने । चार÷पाँच कक्षामा पढ्दा पढ्दै उनकी आमा बल्लभी देवी बितिन् । उनका बुवा चन्द्रमणि बराल मुम्बइको कुलावा नेभीमा क्लर्कको रूपमा काम गर्थे ।

केही समय काम गरेपछि बाबुले जागीर छाडेर बा आमो स्यहार्न भन्दै गुल्मी फर्किए । सानैदेखि हार नमान्ने स्वभावले उनले मुम्बइको हरगोविन्द स्कुलबाट दश कक्षा पास गरे । त्यसपछि सोही कम्पनी (इन्ल्यान्ड ट्रान्सपोर्ट) मा म्यानेजरको रूपमा काम गरे ।

काम गर्दै पढाइलाई निरन्तरता दिएका बरालले हैदराबाद उस्मानिया ओपन युनिभर्सिटीबाट बीकम पास गरे । हैदराबादको शाखामा आएपछि आन्ध्र प्रदेशका झन्डै बीस वटा शाखाको काम सम्हालेर उनले अनुभव बटुले ।

पढेरभन्दा परेर व्यवसाय सिक्दै गएका बराल कुरियर सर्भिसबाट कमाएको पैसालाई व्यवसायमै लगाउन नपाएकोमा पछुतो मान्छन् । भन्छन्, ‘व्यक्तिगत सम्पत्ति बनाउन लाग्यौं । सात दाजुभाइ र पाँच दिदीबहिनीसहितको ठूलो परिवारको अहिले भारतका विभिन्न शहरमा गरेर चालिस करोडसम्मको प्रोपर्टी रहेको उनी दाबी गर्छन् ।

भारतीय मुलका नेपालीले नेपालमा लगानी गरेका छन् तर नेपाली मुलका प्रवासी भने जान सकेका छैनन् । अबको यात्रामा उनले नेपाललाई प्राथमिकतामा राखेका छन् । गुल्मीको ग्वादी गाउँमा उनको पुख्र्यौली घर छ । जानेआउने पनि गर्छन् तर बसाइ दिल्लीमा छ ।

उनको कारोबार भारतका मुख्य शहरहरू दिल्लीदेखि मुम्बइ, बैंगलौर, सुरत, अहमदाबाद, हैदराबादसम्म विस्तारित छ । भारतभर रहेका कार्यालयमा उनले दुई सयभन्दा बढीलाई रोजगारी दिएका छन् । तीमध्ये साठी प्रतिशत नेपालीहरू नै रहेको उनले दाबी गरे ।

‘नमस्कार साबजी' भारतीय अधिकांश चलचित्रहरूमा नेपाली भनौ या नेपाली भाषीको परिचय यसै गरी देखाइन्छ । या त पाले, घरमा काम गर्ने मेड, ड्राइभर, दैनिक मजदुर, त्योभन्दा अलि माथि मःम पसलेको परिचयबीच चिल्ला गाडीमा बिजनेस हाउस नै खडा गरेर सयौं नेपाली र भारतीयलाई रोजगार दिने प्रवासी नेपाली पनि छन् भारतमा । नेपालीहरूको पहिचान उकास्न बरालको यात्रा निरन्तर छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.