अमिताभ घोषसँग अन्तर्वार्ता
बंगालीमूलका अमिताभ घोषलाई भारतीय-अमेरिकी लेखक भन्न सकिन्छ । तत्कालीन इस्ट इन्डिया कम्पनी र चीनबीचको अफिम युद्धबारे लेखिएका उनका तीन उपन्यास 'इविस ट्रिलजी' निकै चर्चित छन् । मानवशास्त्री घोष विशद् अनुसन्धानपछि मात्र लेख्न बस्छन् । पछिल्लो पटक गैरआख्यानात्मक कृति 'द ग्रेट डिरेन्जमेन्ट' मार्फत वर्तमान जलवायु परिवर्तनबारे विभिन्न कोणबाट उनले बहस छेडेका छन् । उनै घोषसँग अफिम युद्ध र जलवायु परिवर्तनवारे टाइम्स अफ इन्डियाले गरेको संक्षिप्त कुराकानीको गणेश खनियाले गरेको अनुवादः
अफिम युद्धमा भारतीय कम्पनीको भूमिका कस्तो थियो
तिनीहरूको अग्रणी भूमिका थियो । फराकिलो दायराबाट हेर्दा भारतीय मुद्राबाटै अफिम युद्ध चलेको थियो । यो युद्ध पुरानो बम्बईको लगानीमा चलेको थियो । भारतका कैयौं ठूला घरानाले अफिमबाटै प्रशस्त कमाए । धेरै अमेरिकी कम्पनी र घराना पनि अफिमबाटै उकास्सिए । उदाहरणका लागि - पूर्व अमेरिकी राष्ट्रपतिहरू फ्र्यांकलिन रुजवेल्ट र क्याल्भिन कुलिजको परिवार, फोब्स परिवार (अहिलेका अमेरिकी विदेशमन्त्री जोन केरीका पूर्वज) देखि यल, ब्राउनजस्ता शैक्षिक संस्थाहरू पनि अफिमकै जगमा खडा भएका हुन् । अफिम नहुँदो हो त सिंगापुर र हङकङजस्ता देश र सहरहरू अस्तित्वमा रहँदैनथे । १९ औं शताब्दीमा सबैभन्दा महत्त्व पाएको चीज नै अफिम थियो ।
तर ती कम्पनीले त अफिमसँग विगतमा आफ्नो सम्बन्ध रहेको स्वीकार्न आनाकानी गर्छन्, होइन र ?
हो नि । 'जार्डिन म्याथेसन' १९ औं शताब्दीमा अफिमको कारोबार गर्ने सबैभन्दा नामुद कम्पनी थियो । त्यसको नजिकको साझेदार थियो सर जाम्सेठजी जिजीभाइ । आधा बम्बई उसैले बनाएको थियो । आजसम्म पनि यो सम्बन्धको कतै चर्चा गरेको मन पराउँदैन 'जार्डिन म्याथेसन'ले । यो सम्बन्धबारे उल्लेख गरेकाले पत्रकारहरूलाई धम्काएको समाचार सुनिन्छ । त्यसैगरी भारतीय कम्पनीहरूका कागजातहरू अध्ययन गर्न चाहनेलाई पनि ती दस्तावेजसम्म पहुँच बढाउन सजिलो छैन । धेरै कम्पनीहरू त सार्वजनिक रूपमा यो विषयमा मुख खोल्नै चाहँदैनन् ।
त्यतिबेला पनि अहिलेजस्तो सामाजिक सञ्जाल सक्रिय हुन्थे भने कम्पनीहरूले ती घटना लुकाउन सक्थे त ?
अफिम युद्ध खासमा आधुनिक युद्ध नै थियो । व्यापारीहरूले बेलायती सरकारलाई बेचेका थिए यो युद्ध । पहिले रकम जुटाए उनीहरूले । अनि अफिम युद्धमा बेलायतलाई मनाउन विलियम जार्डिनलाई त्यहाँ पठाए । राज्य र निजी क्षेत्रको गज्जबको साँठगाँठ थियो त्यसमा । पछिल्लो इराक युद्धको लागि यही फर्मेटले काम गर्यो । सुरुमा केही विषय उठाइयो, त्यसबारे लेख्यालेख्यै गरेर मुद्दा चर्काइयो अनि जनता आजित हुन थाले । त्यही मौका छोपी युद्ध छेडियो ।
वास्तविक घटनालाई ओझेल पार्ने यसैगरी त हो । सामाजिक सञ्जालले त यस्ता जालझेललाई झन् बढाइदिएको छ । झूटा समाचार फैलाउने गतिला माध्यम बनेका छन् सामाजिक सञ्जाल । सत्य ढाक्ने यसैगरी त हो । त्यसैले त गोप्य राख्न खोजिएका विषय कहिल्यै सतहमा आउँदैनन् ।
त्यसो भए सुन्दर ढंगले बुनिएको एउटा मिथकमात्र मान्ने त उद्यमीको जीवनलाई ?
साँच्चै हो । पुँजीवादको सारा इतिहास नै कल्पित मिथक नै हो । ठूला उद्यमीहरूको वीरगाथा गाए जसरी लेखिएका छन् यी सबै इतिहास । सबै वाहियात लाग्छ मलाई त । इस्ट इन्डिया सरकारको हालीमुहाली भएकै समयमा भारतमा अफिम उत्पादन गरियो । उद्यमीले चाहिँ अफिमलाई चीनसम्म पुर्याए र बिक्री गरेँ । बिस्तारै गैरकानुनी धन्दाको अन्तर्राष्ट्रिय सञ्जाल कसिलो बन्दै गयो ।
पुँजीवादको इतिहासलाई आर्थिक समुन्नतिको महान् इतिहास भनेर हामीलाई पढाइएको छ । यो पनि वाहियात हो । एउटा सानो उदाहरण दिन्छु । मालसामानको बजार बुझ्न विकिपेडियामा हेर्नोस् अथवा कुनै गतिलो व्यापारिक इतिहास पल्टाउनोस् । सबैमा के पाइन्छ भने सन् १८५० मा सिकागो सहरबाट अफिम व्यापारको थालनी गरिएको थियो । तर यथार्थ त्यस्तो थिएन । मध्ययुगको प्रारम्भमा भारतबाटै यसको सुरुवात भएको पाइन्छ । १८ औं शताब्दीबाट नै कलकत्ता हुँदै अफिम कारोबार फस्टाएको थियो । बेलायती पर्यटकहरू त्यो कारोबार बुझ्न कलकत्ता आउने गर्थे । कसैबाट लुकेको छैन यो तथ्य, बलिया प्रमाण छन् यसका ।
यस्ता जीवनीले कम्पनीभित्रका नेतृत्व परिवर्तनबारेका पेचिला विषयलाई कसरी समेटेका हुन्छन् ? त्यहाँ नायक हाबी हुन्छ कि खलनायक ?
क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पुँजीवाद । सारा डिस्कोर्स यसमै केन्द्रित छ यतिखेर । सारमा खराब पुँजीवाद नै हो यो । जब म यो पदावली भेट्छु, प्रश्न गर्न मन लाग्छ - अरू प्रकारका पुँजीवाद पनि त होलान् नि ? उद्यमीको जीवनीमा यसबारे केही लेखिएको हुँदैन । घगडान उद्यमी धीरुभाइ अम्बानीवारे एउटा रमाइलो प्रसंग छ । उनी पत्रकारिता र राजनीतिका सचेत विद्यार्थी थिए । सरकार कसरी चल्छ भन्ने बुझ्न सके पैसा सजिलै कमाउन सकिन्छ भन्ने उनले राम्ररी बुझेका थिए ।
सम्पत्ति र जलवायु परिवर्तन कत्तिको अन्तरसम्बन्धित छन् ?
सम्पत्ति र उत्सर्जनबीच सीधा सम्बन्ध छ । हरितगृह ग्यास उत्सर्जन नै पश्चिमी वैभवको दरिलो आधार बन्दै गयो । 'प्यारिस सम्झौता'ले बतायो, महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पारिएका छन् । कुनै देश, कुनै पीडित वा गरिब व्यक्ति जो कोही पनि हुन सक्छ प्रभावित पक्ष । तर आउँदा दिनमा उनीहरूलाई क्षतिपूर्ति दिइने सम्भावना छैन । क्षतिपूर्तिको बाटो सदाको लागि बन्द गरिदिएको छ त्यो सम्झौताले । यथास्थितिलाई बढावा दिएको छ त्यसले । केही खुद्रे विषयमात्र सम्बोधन गरेको छ प्यारिस सम्झौताले । यो सम्झौता कामै नलाग्ने खालको छ । के के नै गरेझैं गरिएको छ तर यथार्थमा केही भएकै छैन । वास्तवमा एउटा घातक सम्झौता थियो त्यो ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त जलवायु परिवर्तनलाई वास्तै गर्दैनन् । एउटा परिहासमात्र ठान्छन् यसलाई । जलवायु परिवर्तनमै केन्द्रित छ तपाईंको पछिल्लो किताब 'द ग्रेट डिरेन्जमेन्ट' । उनको विजयले व्यक्तिगत रूपमा केही असर परेको छ तपाईंलाई ?
हो, मलाई यसबाट व्यक्तिगत प्रभाव परेकै छ । किनभने मेरी श्रीमती र केटाकेटी अमेरिकी नागरिक हुन् र उनीहरू यो परिणामले साहै्र दुःखित छन् । म त भारतीय नागरिक हुँ, उनीहरू जति दुःखी छैन पनि । मेरो किताब 'द ग्रेट डिरेन्जमेन्ट' मा मैले उठाएका विषयमध्ये ट्रम्प प्रसंग पनि एउटा हो । इमेज र मिडियाले सबै सन्तुलित विचारलाई ओझेल पारेको समयमा हामी बाँचिरहेका छौं । ट्रम्पको उदयमा पनि सञ्चार माध्यमकै ठूलो हात छ । अझ भनौं सामाजिक सञ्जालको ।
यसरी आएको व्यक्तिले अरू महत्त्वपूर्ण डिस्कोर्सलाई छायामा पारिदिन्छ, त्यो मलाई थाहा छ । बलमिचाइमा पर्ने देखिन्छ जलवायु परिवर्तनको मुद्दा पनि । विश्वको लागि यो साँच्चिकै खतरा हो । यो खतरा जताततै फैलिने निश्चित छ । यसको प्रतिरोधको लागि हामी आफैं जुर्मुराउनु जरुरी भइसकेको छ ।