अमिताभ घोषसँग अन्तर्वार्ता

अमिताभ घोषसँग अन्तर्वार्ता

बंगालीमूलका अमिताभ घोषलाई भारतीय-अमेरिकी लेखक भन्न सकिन्छ । तत्कालीन इस्ट इन्डिया कम्पनी र चीनबीचको अफिम युद्धबारे लेखिएका उनका तीन उपन्यास 'इविस ट्रिलजी' निकै चर्चित छन् । मानवशास्त्री घोष विशद् अनुसन्धानपछि मात्र लेख्न बस्छन् । पछिल्लो पटक गैरआख्यानात्मक कृति 'द ग्रेट डिरेन्जमेन्ट' मार्फत वर्तमान जलवायु परिवर्तनबारे विभिन्न कोणबाट उनले बहस छेडेका छन् । उनै घोषसँग अफिम युद्ध र जलवायु परिवर्तनवारे टाइम्स अफ इन्डियाले गरेको संक्षिप्त कुराकानीको गणेश खनियाले गरेको अनुवादः

अफिम युद्धमा भारतीय कम्पनीको भूमिका कस्तो थियो

तिनीहरूको अग्रणी भूमिका थियो । फराकिलो दायराबाट हेर्दा भारतीय मुद्राबाटै अफिम युद्ध चलेको थियो । यो युद्ध पुरानो बम्बईको लगानीमा चलेको थियो । भारतका कैयौं ठूला घरानाले अफिमबाटै प्रशस्त कमाए । धेरै अमेरिकी कम्पनी र घराना पनि अफिमबाटै उकास्सिए । उदाहरणका लागि - पूर्व अमेरिकी राष्ट्रपतिहरू फ्र्यांकलिन रुजवेल्ट र क्याल्भिन कुलिजको परिवार, फोब्स परिवार (अहिलेका अमेरिकी विदेशमन्त्री जोन केरीका पूर्वज) देखि यल, ब्राउनजस्ता शैक्षिक संस्थाहरू पनि अफिमकै जगमा खडा भएका हुन् । अफिम नहुँदो हो त सिंगापुर र हङकङजस्ता देश र सहरहरू अस्तित्वमा रहँदैनथे । १९ औं शताब्दीमा सबैभन्दा महत्त्व पाएको चीज नै अफिम थियो ।

तर ती कम्पनीले त अफिमसँग विगतमा आफ्नो सम्बन्ध रहेको स्वीकार्न आनाकानी गर्छन्, होइन र ?

हो नि । 'जार्डिन म्याथेसन' १९ औं शताब्दीमा अफिमको कारोबार गर्ने सबैभन्दा नामुद कम्पनी थियो । त्यसको नजिकको साझेदार थियो सर जाम्सेठजी जिजीभाइ । आधा बम्बई उसैले बनाएको थियो । आजसम्म पनि यो सम्बन्धको कतै चर्चा गरेको मन पराउँदैन 'जार्डिन म्याथेसन'ले । यो सम्बन्धबारे उल्लेख गरेकाले पत्रकारहरूलाई धम्काएको समाचार सुनिन्छ । त्यसैगरी भारतीय कम्पनीहरूका कागजातहरू अध्ययन गर्न चाहनेलाई पनि ती दस्तावेजसम्म पहुँच बढाउन सजिलो छैन । धेरै कम्पनीहरू त सार्वजनिक रूपमा यो विषयमा मुख खोल्नै चाहँदैनन् ।

त्यतिबेला पनि अहिलेजस्तो सामाजिक सञ्जाल सक्रिय हुन्थे भने कम्पनीहरूले ती घटना लुकाउन सक्थे त ?

अफिम युद्ध खासमा आधुनिक युद्ध नै थियो । व्यापारीहरूले बेलायती सरकारलाई बेचेका थिए यो युद्ध । पहिले रकम जुटाए उनीहरूले । अनि अफिम युद्धमा बेलायतलाई मनाउन विलियम जार्डिनलाई त्यहाँ पठाए । राज्य र निजी क्षेत्रको गज्जबको साँठगाँठ थियो त्यसमा । पछिल्लो इराक युद्धको लागि यही फर्मेटले काम गर्‌यो । सुरुमा केही विषय उठाइयो, त्यसबारे लेख्यालेख्यै गरेर मुद्दा चर्काइयो अनि जनता आजित हुन थाले । त्यही मौका छोपी युद्ध छेडियो ।

वास्तविक घटनालाई ओझेल पार्ने यसैगरी त हो । सामाजिक सञ्जालले त यस्ता जालझेललाई झन् बढाइदिएको छ । झूटा समाचार फैलाउने गतिला माध्यम बनेका छन् सामाजिक सञ्जाल । सत्य ढाक्ने यसैगरी त हो । त्यसैले त गोप्य राख्न खोजिएका विषय कहिल्यै सतहमा आउँदैनन् ।

त्यसो भए सुन्दर ढंगले बुनिएको एउटा मिथकमात्र मान्ने त उद्यमीको जीवनलाई ?

साँच्चै हो । पुँजीवादको सारा इतिहास नै कल्पित मिथक नै हो । ठूला उद्यमीहरूको वीरगाथा गाए जसरी लेखिएका छन् यी सबै इतिहास । सबै वाहियात लाग्छ मलाई त । इस्ट इन्डिया सरकारको हालीमुहाली भएकै समयमा भारतमा अफिम उत्पादन गरियो । उद्यमीले चाहिँ अफिमलाई चीनसम्म पुर्‌याए र बिक्री गरेँ । बिस्तारै गैरकानुनी धन्दाको अन्तर्राष्ट्रिय सञ्जाल कसिलो बन्दै गयो ।

पुँजीवादको इतिहासलाई आर्थिक समुन्नतिको महान् इतिहास भनेर हामीलाई पढाइएको छ । यो पनि वाहियात हो । एउटा सानो उदाहरण दिन्छु । मालसामानको बजार बुझ्न विकिपेडियामा हेर्नोस् अथवा कुनै गतिलो व्यापारिक इतिहास पल्टाउनोस् । सबैमा के पाइन्छ भने सन् १८५० मा सिकागो सहरबाट अफिम व्यापारको थालनी गरिएको थियो । तर यथार्थ त्यस्तो थिएन । मध्ययुगको प्रारम्भमा भारतबाटै यसको सुरुवात भएको पाइन्छ । १८ औं शताब्दीबाट नै कलकत्ता हुँदै अफिम कारोबार फस्टाएको थियो । बेलायती पर्यटकहरू त्यो कारोबार बुझ्न कलकत्ता आउने गर्थे । कसैबाट लुकेको छैन यो तथ्य, बलिया प्रमाण छन् यसका ।

यस्ता जीवनीले कम्पनीभित्रका नेतृत्व परिवर्तनबारेका पेचिला विषयलाई कसरी समेटेका हुन्छन् ? त्यहाँ नायक हाबी हुन्छ कि खलनायक ?

क्रोनी क्यापिटलिज्म अर्थात् आसेपासे पुँजीवाद । सारा डिस्कोर्स यसमै केन्द्रित छ यतिखेर । सारमा खराब पुँजीवाद नै हो यो । जब म यो पदावली भेट्छु, प्रश्न गर्न मन लाग्छ - अरू प्रकारका पुँजीवाद पनि त होलान् नि ? उद्यमीको जीवनीमा यसबारे केही लेखिएको हुँदैन । घगडान उद्यमी धीरुभाइ अम्बानीवारे एउटा रमाइलो प्रसंग छ । उनी पत्रकारिता र राजनीतिका सचेत विद्यार्थी थिए । सरकार कसरी चल्छ भन्ने बुझ्न सके पैसा सजिलै कमाउन सकिन्छ भन्ने उनले राम्ररी बुझेका थिए ।

सम्पत्ति र जलवायु परिवर्तन कत्तिको अन्तरसम्बन्धित छन् ?

सम्पत्ति र उत्सर्जनबीच सीधा सम्बन्ध छ । हरितगृह ग्यास उत्सर्जन नै पश्चिमी वैभवको दरिलो आधार बन्दै गयो । 'प्यारिस सम्झौता'ले बतायो, महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पारिएका छन् । कुनै देश, कुनै पीडित वा गरिब व्यक्ति जो कोही पनि हुन सक्छ प्रभावित पक्ष । तर आउँदा दिनमा उनीहरूलाई क्षतिपूर्ति दिइने सम्भावना छैन । क्षतिपूर्तिको बाटो सदाको लागि बन्द गरिदिएको छ त्यो सम्झौताले । यथास्थितिलाई बढावा दिएको छ त्यसले । केही खुद्रे विषयमात्र सम्बोधन गरेको छ प्यारिस सम्झौताले । यो सम्झौता कामै नलाग्ने खालको छ । के के नै गरेझैं गरिएको छ तर यथार्थमा केही भएकै छैन । वास्तवमा एउटा घातक सम्झौता थियो त्यो ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त जलवायु परिवर्तनलाई वास्तै गर्दैनन् । एउटा परिहासमात्र ठान्छन् यसलाई । जलवायु परिवर्तनमै केन्द्रित छ तपाईंको पछिल्लो किताब 'द ग्रेट डिरेन्जमेन्ट' । उनको विजयले व्यक्तिगत रूपमा केही असर परेको छ तपाईंलाई ?

हो, मलाई यसबाट व्यक्तिगत प्रभाव परेकै छ । किनभने मेरी श्रीमती र केटाकेटी अमेरिकी नागरिक हुन् र उनीहरू यो परिणामले साहै्र दुःखित छन् । म त भारतीय नागरिक हुँ, उनीहरू जति दुःखी छैन पनि । मेरो किताब 'द ग्रेट डिरेन्जमेन्ट' मा मैले उठाएका विषयमध्ये ट्रम्प प्रसंग पनि एउटा हो । इमेज र मिडियाले सबै सन्तुलित विचारलाई ओझेल पारेको समयमा हामी बाँचिरहेका छौं । ट्रम्पको उदयमा पनि सञ्चार माध्यमकै ठूलो हात छ । अझ भनौं सामाजिक सञ्जालको ।

यसरी आएको व्यक्तिले अरू महत्त्वपूर्ण डिस्कोर्सलाई छायामा पारिदिन्छ, त्यो मलाई थाहा छ । बलमिचाइमा पर्ने देखिन्छ जलवायु परिवर्तनको मुद्दा पनि । विश्वको लागि यो साँच्चिकै खतरा हो । यो खतरा जताततै फैलिने निश्चित छ । यसको प्रतिरोधको लागि हामी आफैं जुर्मुराउनु जरुरी भइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.