रुबीको रुह

रुबीको रुह

मैले मान्नुपर्ने एकजना मानिस बितेछन् । बित्नु र बाँच्नु मानिसको हातको बात भएन । मानिस र समाजले मानिसलाई अलि बढी बाँच्ने म्याद बढाउनसक्ने स्थिति पनि नहुने होइन । हामीले बित्ने वातावरण बनायौं र रुबी जोशी बिते ।

हुन पनि बाँच्नुपर्ने यहाँ मर्छ र मर्नुपर्ने बाँचिरहन्छ । रुबी जोशी एकजना बाँचिरहनुपर्ने मानिस हुन् । थिए । गए । जानुपर्ने यहाँ धेरै छन् । ती रुबीजस्तालाई छक्याएर हाँसीहाँसी बाँचिरहन्छन् । यस्ता बाँच्नेहरूलाई देखेर मलाई दया लाग्छ । विचरा यी किन बाँचिरहेका होलान् रुबीहरूको 'रुह'लाई रुवाइरहन !

यहाँ हाँसेको देखेर 'खुसी छन्' भन्ने भ्रमबोकुवाहरू धेरै होलान् । त्यसरी छक्याउनेमा म पनि पर्छु होला । मैले अरूलाई म दुखेको छु भनेर देखाउन चाहिनँ, चाहन्नँ । 'भोजपुरेको हाँसो'मा पनि धेरै दर्द छ । मैले देखेको छु । गणेश रसिकले देखेका छन् । उर्मिला श्रेष्ठले देखेकी छन् । हरि मञ्जु श्रीहरूले पनि देखेका छन् ।

धेरै मानसिक र प्राकृतिक पीडाका कहरहरू काट्तै गरेका बखत रुबी जोशी देउता बनेर देखा परे मेरा दुर्दान्त दिनहरूबीच । रुबीजीले भनेका थिए, 'भोजपुरेजी ! केही दिन कुर्नुस् । केही गरौंला तपाईंका लागि ।'

आश्वासन धेरैले दिएका थिए रुबीजीले जस्तै । तर, काम कसैले दिएका थिएनन् । दिएनन् । एमए नगरी बिहे गर्दिनँ भनेको, २०२५ सालमा एमए गरेँ र २०२६ सालमै बिहे गरेँ । बिहे गरेँ- जिन्दगी लभ गरेजस्तो रुमानीमात्र नहुँदो रै'छ । लभै गरेका बखत पनि त कति हो कति उल्झनहरू आउने र जाने ! भाइ दक्ष र पत्नी उर्मिलाको तलबले मुस्किलले १५-२० दिन धान्ने । म निखल्ला । दुई पैसा कमाउने बाटो छैन । मनमनै म छिनछिन र दिनदिन दुख्थेँ । खुइय गर्थें । सुइय सुस्केरा हाल्थेँ ।

रेडियो नेपाल मेरो अभीष्ट थियो । केही लागेन र रेडियो डाइरेक्टरको अफिस कोठामा पसेँ । डाइरेक्टरमात्र होइन, डाइरेक्टर जनरल रामराज पौड्याल ।

'मलाई केही न केही काम त दिनैपर्‌यो हजुर ! मलाई एकदमै काम चाहिएको छ, त्यो पनि तत्काल... ।'
रामराज पौड्याल खारिएका पत्रकार, लेखक, प्रशासक । उनले धेरैबेर खेर फाले मेरो मुहार चहार्दै ।

'भोजपुरेजी ! हाम्रो पत्रोत्तर कार्यक्रम अलि खस्केको छ । पत्रोत्तर कार्यक्रममा हप्ताको एक दिन तपाईं पत्रको उत्तर लेख्नोस् । धन लामा, पाण्डव सुनुवार अथवा देवी शर्मा, निरोधराज पाण्डेले कार्यक्रम चलाउनेछन् । तपाईंलाई एउटा कार्यक्रममा पत्रको उत्तर लेखेबापत ३० रुपियाँ दिनेछु । यसरी महिनाको लगभग १५० रुपियाँ पाउनुहुनेछ ।'

त्यतिखेर १५० रुपियाँले झन्डैझन्डै आठदस दिनको सामान्य तिहुन-सामल खरिद गर्न भ्याउँथ्यो । म धन्य बनेँ । रामराज पौड्याल मलाई त्यही दिन अघाउन्जेल ख्वाउने मेरा संरक्षक बने ।
र, रुबी भने मेरा देउता बने ।

युधीरशमशेर थापा प्रसिद्ध गीतकार । प्रसिद्ध उपन्यासकार । सरल र सटिक गीत लेख्नमा माहिर । रसिलो, चोटिलो अनि मनलाई तत्काल मोहको महाजालमा उल्झाउनसक्ने सामथ्र्य बोकेका उपन्यासकार । यी साहित्यकार, यी गीतिकलाकार त्यसताका नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर । भर्खरभर्खर खुलेको राष्ट्र बैंक बैंकर्स क्लबका सभापति । महासचिव रुबी जोशी । त्यस बेलाका प्रसिद्ध गायक ।

साहित्य र संगीतका यी दुई महारथीका लागि हिरण्य भोजपुरे एक भर्भराउँदो कलाकार ।

हुन पनि २०२७-२८ सालताका हामी लेकाली लोकप्रियताको उपल्लो खुड्किलोतिर अग्रसारित थियौं । रुबी जोशी र युधीरशमशेर थापाका लागि हामी आदर-आधारका धार पनि थियौं । उनै युधीर मनका तप्कन अनि रुबीका रुधीर 'रुह'का करुण कारण म नयाँ खुलेको बैंकर्स क्लबको पहिलो म्यानेजर बनेँ । त्यसपछि महिनामा पेटभरि खाना खान हामीलाई पीर परेन ।
...
रुबीजी बितेको ठीक आठौं दिन परेछ रुबीजीको घरआँगनीमा पुगेको । त्यहाँ पुग्दा लाग्यो, अब यो रुबीजीको घर भएन । रुबीजीको घर त अब सारा भूमि र आकाश बनिसक्यो, क्षितिज र अन्तरिक्ष बनिसक्यो ।

आँगनीभित्र प्रवेश गर्दा कसोकसो मनै चस्स दुख्यो । भाउजू जमुना जोशीले आफैं बाहिर निक्लिएर हामीलाई आवभगत गर्नुभयो । उहाँको मुहार मलीन थियो । हुने नै भयो । उहाँको पछिपछि लागेर हामी बैठककोठामा पुग्यौं । वातावरण एकदमै करुणालाग्दो थियो । लाग्ने नै भयो ।

म रुबी जोशीकी श्रीमती जमुनालाई भाउजू भन्थेँ । उहाँ भने मलाई दाइ भन्नुहुन्छ, अनि उर्मिलालाई दिदी ।
उर्मिला र मसित भाउजूले खुलेर कुरा गर्न थाल्नुभो । सबै भएका बेलिबिस्तार लगाउन थाल्नुभो करुण र मलीन मुहारले । उहाँले दुखेसो पोख्तै गरेको सुनेँ, 'हेर्नोस् न उर्मिला दिज्यू ! मिडियाका कैयौं मानिस आए र मलाई गाली गरौंलाझैं गरे- किन तपाईंले उहाँको पार्थिव शरीरलाई एकेडेमीमा नराख्नुभएको ? उहाँ बितेको खबर पनि दिनुभएन !

म जर्जर जलिरहेका बेलामा ती कुराहरू आलो घाउमा नुनचुक छर्केझैं लाग्यो, र मैले भनेँ- तपाईंहरू मेरो लोग्नेलाई अलि बढी बाँच्ने लोभ नदेखाउनोस् । उहाँ त बितेर जानुभो । मलाई त्यसै पनि दुःखको कमी छैन । अरू बढी पीडाको बोझ नबोकाउनोस् । दुई वर्षभन्दा बढी समयसम्म तपाईंहरू कहाँ बेपत्ता हुनुभएको ? कोही सहानुभूतिसम्म देखाउन किन आएनन् ? हो, मिडियाले कुनै अन्तर्वार्ता लिइदिए अथवा प्रशंसाका केही शब्दमात्र बोलिदिए अत्यन्त खुसी हुने व्यक्ति उहाँ ।

तर, दुखेको बेला आफ्नो कोही नहुँदो रै'छ । हामी दुखेको बेला ढाडस दिनेमा बच्चुकैलाश दाइ, योगेश वैद्यजी, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, मदनकृष्ण-हरिवंशबाहेक मिडियाका अरू कलाकार कोही पनि ढिम्किन आएको देखिनँ मैले ।'
यस्तैयस्तै कुरा गर्दैगर्दै जमुना भाउजू कहिले अतीतमा पुग्नुहुन्थ्यो, कहिले वर्तमानमा ओर्लनुहुन्थ्यो । कहिले गहभरि आँसु बोक्नुहुन्थ्यो, कहिले पीडाका रूपमा झरझर आँसु झार्नुहुन्थ्यो । उर्मिला र जमुना भाउजू यिनै र यस्तै ऊहापोहमा उकाली-ओराली उक्लिँदै-ओर्लिंदै थिए, म भने रुबीजीका भरभराउँदा दिन र छिनहरूमा हराउँदै र झुल्किँदै आफूलाई कहिले कहाँ त कहिले कहाँ पुर्‌याउँदै थिएँ ।

...
रुबी जोशी । गम्भीर रुबी जोशी । आफू एकदमै गम्भीर । तर, उनी यति रसिला थिए- आफ्नो वरिपरिको वातावरणलाई नहाँसौं भन्दा पनि मरीमरी हाँस्न बाध्य तुल्याउँथे । एकातिर मदनकृष्ण र हरिवंश, अर्कातिर रुबी जोशी र पुष्प नेपाली । हाम्रो जमघटको बेलामा हुनसम्म रमाइलो हुन्थ्यो । मदनकृष्ण-हरिवंशको त कुरै बेग्लै भो । तर, पुष्प नेपाली र रुबी जोशी पनि बेजोडका हास्यकलाकार हुन् भन्ने कुरामा मलाई कुनै दोधार छैन ।

रुबीजी अरूलाई हँसाउनसम्म हँसाउने व्यक्ति, तर आफू नहाँस्ने । पुष्प नेपाली भने अचम्मले हँसाउने मानिस, अनि आफू पनि जोडजोडले हाँस्नुपर्ने । यस्ता जमघटहरू कहिले रुबीजीको घरमा हुन्थे, कहिले पुष्प दाइको घरमा, र धेरैजसो बच्चुकैलाश दाइको घरमा । बच्चुकैलाश दाइको घरमा भाउजूहरू त्यति धेरै नआउने ।

तर भाउजूहरूमध्येकी उर्मिला भाउजू भने कहिल्यै अनुपस्थित नहुने । जमघटमा जम्मा हुने दाजुभाइ कलाकारहरूमा रुबी जोशी र पुष्प नेपाली कहिल्यै नछुट्ने । उर्मिला र म कहिल्यै विमुख हँदैनथ्यौं । तिनमा नातिकाजी दाइ, शिवशंकर दाइ, प्रेमध्वज प्रधान, पीएन श्रेष्ठ, तबलावादक इन्द्रलाल श्रेष्ठ पनि धेरैजसो सामेल हुन्थे ।

इन्द्रलालको कुरो आउँदा- उनी जंगलमा फुलेको फूलझैं भए । नेपाली गायकका गीतहरूमा इन्द्रलालको तबला अथवा मादल नघन्किएको गीतै हुँदैनथ्यो । क्यान्सरले उनी अमेरिकामा बिते । तर, उनको देनको कुनै चर्चा-परिचर्चा भएन । उनी 'शून्यमा शून्यसरि' बिलाए । उनको सम्झना गर्दा पनि हामी बिघ्नै कृतघ्न छौं भन्ने भान हुन्छ । यो भनाइ रुबी जोशीको अर्थमा पनि लागू हुन्छ ।

यही समूहको बेलाबेलामा पिकनिक हुने गथ्र्यो ठाउँठाउँमा । त्यहाँ पनि रुबीजी हिरो बन्न चुक्तैनथे । उनलाई केटीहरूसित जिस्किनुपर्ने । मस्तीमा झुम्नुपर्ने । गीत-गजलमा नाच्नुपर्ने ।

मलाई थाहा छ, उनी चुरोट खान्थे । पुष्प दाइ पनि चुरोट खानुहुन्थ्यो । म पनि चुरोट खान्थेँ । बच्चुकैलाश दाइ, नातिकाजी दाइ पनि चुरोट खानुहुन्थ्यो । प्रेमध्वजले चुरोट खाएको थाहा छैन । शिवशंकर दाइ भने लुकिछिपी खानुहुन्थ्यो कि जस्तो लाग्छ । म याक चुरोटभन्दा माथि उक्लिन सकेको थिइनँ । बच्चुकैलाश दाइ ५५५ खानुहुन्थ्यो । रुबी जोशी भने बेन्सन एन्ड हेजेज खान्थे । पुष्प नेपाली दाइ भने कहाँकहाँबाट बट्टाका बट्टा ल्याउनुहुन्थ्यो र आफू पनि खानुहुन्थ्यो, अरूलाई पनि खुवाउनुहुन्थ्यो । मलाई भने सबैभन्दा मन पर्ने चुरोट बेलायती बेन्सन एन्ड हेजेज नै हो । रुबीजी त्यो कुरो बुझ्थे र आफू खानुभन्दा पहिले मलाई एक खिल्ली दिन बिर्सिंदैनथे ।

उपल्लो कुनातिरबाट नातिकाजी दाइले रुबी जोशीलाई अधिकार जताउनेझैं गरेर भन्दै गरेको सुनिन्थ्यो- 'ए रुबी ! यतातिर पनि फाल् न एउटा चुरोट !'

...
कुराका कुथुंग्रीभित्र रुमल्लिँदा-रुमल्लिँदै रुबीजीका गीतहरू बिर्सन पुगेछु । उनका धेरै गीतहरूको हेक्का अहिले मसित छैन । उनका गीतकारहरूमा राममान तृषित, युधीर थापा र मवीवि शाह बढी होलान् । सङ्गीतकार त उनका नातिकाजी र शिवशङ्कर बढी नै हुने भइहाले । पछि गएर उनले शक्तिवल्लभका केही गीत पनि गाएझैं लाग्छ ।

कोमलता, सुललितता, सुमधुरता र दर्दका भुवाहरू उनको स्वरका स्थायी भाव हुन् । उनको गायकीका 'तिम्रो पनि माया लाग्छ, उनको पनि माया लाग्छ' भन्ने अथवा 'मैले जस्तै तिमीले पनि माया गरिहेर' जस्ता गीतहरूमा पनि रोमान्टिक भावसँगसँगै करुणा क्रन्दित छ । करुणाका साथ मनलाई चस्स छुने मिठास उनको स्वरको विशेषता हो । त्यही विशेषता नै हो मनलाई मोहित पार्ने । कोमलताका साथ मर्मरी मूच्र्छना, कलकल कर्णकम्पन, घिरिरिर्र अवरोही खिड्का उनको गायकीका अन्य झरझराउँदा आकर्षण हुन् ।

यति सब भएर पनि 'कान्छी मट्याङट्याङ' र 'सितलुमाथि नि'जस्ता गीतहरूले उनलाई सर्वाधिक प्रसिद्धि दिलाएको यथार्थ सद्दे यथार्थ हो । हुन पनि आजसम्मको नेपाली सांगीतिक अभिव्यञ्जनालाई नियाल्दा चाहे त्यो आधुनिक समकालीन गीत होस् अथवा पूर्णतः पश्चिमेली प्रभावका पप, रक र प्रायौगिक गीतहरू नै किन नहोऊन्, नेपाली लोकसंगीत मूलमा पसेका र जमेका गीतिधुनहरू नै सर्वाधिक चर्चित अनि लोकप्रिय बन्दै आएका छन् । यसरी संगीतमा नेपालीपनका गीतका यी जित र हित पनि हुन् । अनि पुष्प नेपालीले पनि यो जित जिते, भतिज रुबी जोशीले पनि यो जित जिते 'कान्छी मट्याङट्याङ' र 'सितलुमाथि नि'जस्ता गीत गाएर ।
...
'ए बच्चु दाइ, उर्मिलाजी, भोजपुरेजी ! मैले आफ्ना पुराना गीतहरूलाई अत्याधुनिक बाजागाजाका साथ फेरि रेकर्डिङ गरेँ नि !', रुबीजी एउटा जमघटमा भन्दै थिए ।

ओहो, क्या मोज ! दर्जनौं भ्वाइलिन एकसाथ घन्कने ! साथमा अनेक अर्केस्ट्राका हार्मोनी र पोलिफोनी ! कस्तो चमत्कार ! कस्तो आनन्द ! कल्पनै गर्न गाह्रो !

रुबीजीले गर्ने प्रशंसा हामी बुझ्थ्यौं । उनको उक्तिचातुर्यले पनि हामी गद्गद् हुन्थ्यौं । मन मधुर बन्थ्यो र हामी रम्थ्यौं ।
उनी आफ्नो प्रशंसामा मात्रै रम्दैनथे, अरूको प्रशंसा गर्दा पनि अत्यन्तै रम्थे ।

अर्को त्यस्तै जमघटको कुरो हुँदो हो, रुबीजी समूहका हामी सबैलाई सुनाउँदै थिए, '२०२८ साल । राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता । रेडियो नेपालले आयोजना गरेको । ज्यादै प्रसिद्ध हस्तीले रचना गरेको गीत । मुलुककै मूर्धन्य संगीतकारले धुन सिर्जेको गीत । त्यसमा मेरो स्वर । त्यो साल पक्कै पनि प्रतियोगितामा प्रथम हुन्छु भन्ने भ्रम बोकेर भञ्ज्याङको चौतारीमा तोक्मामाथि भ्रमको ढाकर बिसाएर ढुक्क बसेको मान्छे म । प्रतियोगिता सुरु भो ।

इन्द्रनारायण मानन्धरले गाउन थाले । ओहो, त्यो चमत्कारपूर्ण र भोल्युम भएको स्वर इन्द्रनारायणको ! मीठो त्यस्तै ! पछाडिबाट उर्मिला श्रेष्ठ, हिरण्य भोजपुरे, गणेश रसिक र निर्मला श्रेष्ठ यावत्ले गुन्जाएको त्या समूहस्वर 'बस बस रे वसुन्धरा बहिनी, घिउ खाने डाडू पन्चै मेरो बाजा, घुमाउने टपरी बसिजा !' वातावरण मुग्ध बन्यो । प्रतियोगितामा प्रथम हुने मेरो सपना भञ्ज्याङका बादलुमा छरपस्ट छरिए । हुन पनि नतिजा निक्ल्यो । इन्द्रनारायण स्वरमा प्रथम भए, म दोस्रो भएछु ।'

त्यस बेला मैले रुबीजीलाई भनेको थिएँ, 'रुबीजी ! तपाईंलाई थाहा छ, स्वरमा इन्द्रनारायण प्रथम भए, शब्दमा म प्रथम भएको थिएँ । एउटै प्रतियोगितामा स्वर र शब्दरचना एकैसाथ प्रथम भएको रेडियो नेपालको प्रतियोगिताको इतिहासमा त्यो पहिलो थियो ।'
...
समय निकै नै घर्किसकेको थियो । उर्मिला र जमुना भाउजूको मार्मिक वार्तालाप टुंगोमा पुग्ने सुरसारै थिएन । सायद तीन घन्टाभन्दा बढी समय बितिसकेको थियो । मैले उर्मिलालाई 'अब त जाऊँ हौ' भनेर शाब्दिक संकेत गरेँ । फेरि एकपल्ट रुँलारुँलाझैं गर्दै उर्मिलाले जमुना भाउजूसित बिदा मागिन् । पश्चिमपट्टि कुनामा रुबीजीका एकमात्र पुत्र रूपेश ओछ्यानमा पल्टेर थाहा छैन के-के कल्पना गरिरहेका थिए । सँगै टेबलमा एउटा बत्ती धिपधिप जलिरहेको थियो । बत्तीको पछाडि रुबीजीको एउटा झलझलाउँदो तस्बिर थियो कोटलाई कमिजको कलरले कभर गरेको । अहिल्यै बोलूँलाझैँ चेहरा ।

रुबीजीको आँखामा मेरो आँखा जुध्यो । रुबीजीले मलाई नै हेरिरहेका रहेछन् । मैले निकै बेर उनको आँखामा आँखा फालेर हेरिरहेँ । रुबीजीका आँखाले जिते । मेरा आँखा झुके । झुकेका आँखा बोकेर म बाहिर निक्लेँ । बाहिर पनि फेरि रुबीजीका आँखासित मेरो आँखा जुध्यो । एउटा टेबल थियो । टेबलमा उपस्थिति जताउनुपर्ने रजिस्टर कापी थियो । त्यो कापीमा आफ्नो उपस्थिति जताउने क्रममा फेरि मेरा आँखा उनका आँखासित जुधे । मलाई लाग्यो- रुबीजीले उनका हेमखेमका सबैको मन जित्न सक्छन् । सायद रुबीको खुबी त्यही होला, चाहे त्यो आँखाको भाखाले होस् चाहे त्यो उनका रसिला गफ-कुराकानीले होस् अथवा चाहे उनका सुमधुर स्वरहरूले नै होस् । यिनै खुबीले गर्दा उनी सर्वदा मेरो मनमा बास गरिरहनेछन् ।

धन्य रुबीको खुबी !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.