भाउजू-बुहारी

भाउजू-बुहारी

पूर्वभाउजूसँग संगत गरेको निहुँमा दाजु-बहिनीबीच भएको झगडा मिलाएर आएपछि म करिब शून्य सोचमा उभिएकी छु ।
'भाउजू' शब्द सुन्नासाथ मेरो मनभरि ममताको न्यानो ताप छाउँछ । म चार वर्षका सम्झनाहरूलाई पुनव्र्याख्या गर्न थाल्छु । र, मेरी माइली भाउजूको न्यानो आमा-मायाको ताजा अनुभूति गर्न थाल्छु । माइली भाउजू मेरी गुरु पनि हुन् ।

शान्तिपुरको रातो माटोले पोतेको भान्साघरको पिँढीमा बसेर बिहानको घाममा मलाई अक्षर सिकाएको झझल्को पटकपटक आइरहन्छ ।

साना औंला समाएर अक्षरको बीउ रोपिदिने तिनी थोरबहुत मेरो जीवनको सफलता र संघर्षमा साथसाथै छिन् । आजपर्यन्त सपनामा केही तलवितल देखिन् भने मलाई फोन गर्छिन, 'तपाईं सन्चै त हुनुहुन्छ ? ' मेरो किशोरवयको भोक तिनले पस्केर दिएको खानामा हुर्की दृढ भयो । तिनैको गम्भीरता र सकारात्मक आशा मैले जीवनमा लिन खोजेका केही गुण हुन् ।

म पनि उनीजस्तै बन्न चाहन्थेँ, कुनै कल्पनामा । पीडाको गहिरो आघात भोगेको बेला भाउजूको अनुहार सम्झन्छु र मन शान्त हुन थाल्छ । मेरो हुर्किएको बैंस, रोएका आँखा, मैलिएका लुगादेखि मेरो खुसी-सुख तिनलाई कसरी थाहा हुन्छ उनैले जानून् । यसरी आमाझैं काखमा सुताउनेदेखि साथी उमेरका ६ वटी भाउजू मेरा सम्झनामा बारबार अविभावक, सहयात्री र शुभेच्छुक भएर मनभरि श्रद्धाका साथ रहेका छन् ।

भाउजू विशुद्ध दाजुसँगको शब्द-साइनोको अल्झन रहेछ । यति बुझ्न मैले धेरै सूर्योदयको अन्त पर्खनु पर्‌यो । तर, यही सत्य हो कि जुनसुकै सम्बन्ध होस् मन जोड्ने काम प्रेमले नै गर्छ । मानिस धेरै खाले सम्बन्धमा पनि प्रेमिल भएर प्रेमकै निर्वाह बाँच्न थाल्छ । प्रेम दिन पाएन भने ऊ आत्तिन्छ । प्रेमको प्रतिक्रिया पाएन भने पनि निराश हुन्छ ।

एकप्रकारको 'भाउजू-प्रेम' दिने गरी म पनि दुई दशकअघि 'भाउजू-बुहारी' भएकी थिएँ । 'भाउजू' भनेर सम्बोधन गरेको निक्कै अनौठो लागेको थियो सुरुमा मलाई । मेरा बुहारी छैनन् तर 'भाउजू' भएर मैले दिएको माया मेरी भाउजूले मलाई दिएको जस्तो प्यारपूर्ण रहन सक्यो कि सकेन ? मेरो हार्दिकताको भाउ कुन स्तरको भयो ? भाउजूरूपी माया प्रतिक्रिया नपाईकन बेवारिसे बसिरह्यो । मैले नै भरोषायुक्त माया नदिएको या मैले भूमिका नै खेल्न नसकेको होला कि ? मन यसै अड्कलमा मायाविहीन भएर बस्यो ।

'भाउजू-बुहारी'को सम्बन्ध कतै दर्ता हुन्छ भने त्यो हृदय नै हुँदो रहेछ । न कानुन न अदालत । कतै सुनुवाइको मौका पनि नहुँदो रहेछ । कतै सम्बन्धविच्छेदको दफा पनि नहुँदो रहेछ । अलि अघि, एक झोंका समय हठात् मसमक्ष खुट्टा फड्कारी-फड्कारी भाउजू-बुहारीको अर्को खाले मायाको प्रतिक्रिया दिएर गएको थियो । कानै थर्कने गरी आकाशवाणी भएजस्तो ।

'भाउजू-बुहारी' त के हुन् र ? तिनीहरूले जति माया गरे पनि दाजुहरूले याद गरेनन् भने तिनको माया के माया ? समयले यसरी मलाई दोहोरो मुख खोलेर गयो । 'भाउजू-बुहारी' दाजुकै साइनोबाट आएका त हुन् । संसार विज्ञ छ । तर 'भाउजू-बुहारी'को दाजुभाइसँगको सम्बन्धसँग यसरी दर्जा छुट्टिएपछि मेरा नौनारी गलेर आए । आजसम्म भाउजूहरूले फिँजाएको अँगालो, सँगै गाएको गीत, एउटै छानोमुनि सँगै निलेका गाँस, गहिरो हार्दिकता र प्रार्थनाहरू सबैसबै उकुसमुकुस भएर मेरा छातीमा अड्किए ।

समाज भाउजू-बुहारीलाई कसरी मसिनु कर्तव्यमा बाँधेर राख्छ ? दाजुभाइसँग सम्बन्ध छुट्टियो भने मैले मेरा भाउजू-बुहारीको माया कसरी मार्न सक्छु ? कस्तो कच्चा सम्बन्ध कायम भएको हुँदो रहेछ भाउजू-बुहारीको ? त्यही हो कि होइन समाज जानोस् । तर, मैले यही आँखाले साथी भएर हिँडेका कैयन् भाउजू-नन्द देखेकी छु । दिदी-बहिनी भएर बाँचेका धेरै आमाजू-बुहारी भेटेकी छु । दाजुसँग छुट्टिएपछि ती पनि अलपत्र पर्दा रहेछन् ।

आज अलमलमा छन् यस्तै केही हार्दिक भोगाइ । दाजुसँग सम्बन्धविच्छेद गरेकी स्त्रीलाई कसरी बोलाउनुपर्छ होला ? निरुत्तर छ शब्द स्वयं ।

अब त समय बदलिएको छ । दुइटा छोराछोरी हुनेका भाउजू-बुहारी साथी धेरै अरू कम हुन सक्लान् । परिवार नै सीमित हुँदै गएको छ ती औपचारिकमात्र नहोलान् आफन्त होलान् । तर, म मेरा दाजुहरूसँग सम्बन्धमा नभए पनि भाउजूहरूको काख दाबी गरिहिँड्छु । दाजु नभएको बेला पनि भाउजूको घर मलाई अपूरो लाग्दैन । म जन्मँदा मेरा कुनै मामाहरू जिउँदा थिएनन् तर मेरी आमा सत्तरी वर्षकी हुँदासमेत 'भाउजू' भन्दै पहाडको उकालो कुदिरहेको चित्र यही मस्तिष्कमा छ ।

मैले तिनै माइजूको फोटोमा अनुबन्ध भएका मामाको तस्बिरलाई मामा भनेर सम्मान गर्ने आधार पाएकी थिएँ । माइजू बसेको त्यही बलेसीलाई तीर्थद्वार सम्झेर मामालाई ढोगी फर्किएकी हँ । तर, थुप्रै चेलीले 'भाउजू-बुहारी'को स्नेहलाई शंकापूर्ण र उपेक्षामय पारिदिएको यही परिवेशमा देखिन्छ । त्यो ममत्वलाई कसरी सजिलै लत्याउन सक्दा रहेछन् ? मानौं भाउजू-बुहारी सेवकमात्रै हुन् आफन्त होइनन् ।

या भाउजूबुहारी असल मान्छे हुँदै होइनन् । भाउजूबुहारीसँग आग्रह र आदेशको मात्र सम्बन्ध छ या ती कर्तव्य पूरा गर्ने औजारमात्र हुन् दाजुभाइका । फेरि दाजुभाइसँग अलग्गिएपछि ती दूधबाट झिकेका झिँगासरि हुन कि संगतै गर्न नहुने ? उफ् सम्बन्धको बनावट ? आपसमा प्रेम र सद्भाव भएन भने कसरी एकोहोरो कर्तव्यले खुट्टा टेक्छ ? यस्ता थुप्रैथुप्रै प्रश्नचिह्न बोकेका वाक्यले मेरो मस्तिष्क खाइरहेका छन् ।

समाज भाउजू-बुहारीलाई दाजुभाइकै साइनोसँग तौलन खोज्छ । तर, तिनको पातलो प्रियता देखेर म आजित भएकी छु । परिवेशका कैयन् घटनाले मलाई झस्काइदिएका छन् । स्नेहले भरिएका धेरै भाउजू-हातहरू काम्दैछन् र यसै मुठ्ठी बाँधेर कसिएका छन् । यस्तो लागिरहेछ, कसैको पूजा गर्न राखेको फोटो उसैले झिकेर हृदयको पूजाकोठा रित्तो बनाइदिएको छ । सारा ममताका धूपहरू बिना-प्रतिमा धुवाइरहेका छन् ।

भाउजू-बुहारीहरूसँग त्यसलाई फिर्ता माग्ने कुनै आधिकारिक साइनो छैन । न ममताको गोहोरो नै बलियोसँग कुँदिएको छ ? न समाजसँग तिनको उत्तर दिने जाँगर छ ? न तिनले दाजुहरूसँगै त्यसको क्षतिपूर्ति माग्न सक्छन् न कुनै अदालत धाएर सम्बन्धको जगेर्ना या फस्र्योट नै गर्न सक्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.