चर्चित अनुहारः फुटबलर रोहित चन्दको पर्खाइ

चर्चित अनुहारः फुटबलर रोहित चन्दको पर्खाइ

रोहित नेपाली फुटबलसँग प्रत्यक्ष गाँसिएको १२ वर्ष भयो । सुर्खेत वीरेन्द्रनगरका उनी बाल्यकालका चर्चित क्रिकेट खेलाडी थिए । घरछेउको कालिञ्चोक मैदानमा उनी धेरैजसो क्रिकेट खेल्थे । त्यो मैदानमा फुटबलको माहोल पनि राम्रै थियो । सुरुमा उनले क्रिकेट र फुटबललाई सँगसँगै अगाडि बढाएका थिए।

सन् २०११ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलअघि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्राह्म रोवर्टसले भनेका थिए, 'नेपाली टोलीको अबको रक्षापंक्तिमा केही गर्न सक्ने कोही खेलाडी छ भने त्यो रोहित चन्द हो ।' रोवर्टसको उक्त भनाइलाई रोहितले पछिल्लो पाँच वर्ष न्याय पनि गरे ।

चर्चित इङ्लिस क्लब टोट्टनहामका पूर्वखेलाडीसमेत रहेका रोवर्टसको कडा अनुशासनलाई अनुसरण गर्ने रोहित मुख्यपात्र थिए । त्यतिबेला रोबर्टसको कडा प्रशिक्षण शैलीलाई टोलीका अधिकांश खेलाडी मन पराउँदैनथिए । नेपाली फुटबल खेलाडीमा अनुशासनको कमी भएको विषय त्यतिबेलै बाहिर आएको थियो । त्यसैले नै रोवर्टस सबैभन्दा पहिले टोलीलाई अनुशासनको पाठ सिकाउन चाहन्थे ।

रोवर्टसको कडा अनुशासनमा राष्ट्रिय टोलीमा चम्किने अवसर पाएका रोहित विगत एक वर्षदेखि मैदानबाहिर छन् । बायाँ घुँडाको चोट (मिनिस्कस एसिएल ग्रेट थ्री) का कारण उनी चाहेर पनि मैदानमा फर्कन सकेका छैनन् । पुनेमा गत वर्ष भएको साफ च्याम्पियनसिप खेल्न जानुअघि त्रिभुवन आर्मी क्लबसँग खेलिएको तयारी खेलका क्रममा रोहितको बायाँ खुट्टामा सामान्य चोट लागेको थियो । तर त्यसलाई बेवास्ता गर्दै उनी मैदानमा डटिरहे ।

'त्यतिबेलै लङ सट र पावर सट हान्दा केही दुख्थ्यो तर, पनि मैले खेल्न छाडिनँ । साफ सकेर फर्किएपछि एमआरआई गराउँदा डाक्टरले चार साता आराम गर्न सल्लाह दिए । आरामपछि मलाई मलेसियाको उच्च डिभिजन क्लब टिटिम तेरङगानोबाट व्यावसायिक फुटबल खेल्ने अफर आयो,' उनले भने । टिटिम सन् २०१५ को मलेसियन प्रिमियर लिगमा दोस्रो भएको थियो । टिटिमले सुपर लिग पनि खेल्यो । सुपर लिग खेल्नेक्रममा एक दिन विपक्षी टोलीका खेलाडीले खतरनाक ट्याकल गर्दा रोहितको बायाँ घुँडामै नराम्रो चोट लाग्यो ।

'त्यसपछि मैले ८० मिनेट खेलेर मैदान छाडेँ । मलेसियाको लिग खेल्ने सबै खेलाडीका लागि इन्सुरेन्स गरिने भएकोले इन्सुरेन्स कम्पनीले नै मेरो उपचार गरिदियो । घुँडाको शल्यक्रियापछि म अहिले आराम गरिरहेको छु । डाक्टरले कम्तीमा नौ महिला आराम गर्न सल्लाह दिएका छन् । खेल्न मिल्ने भएकोले अहिले बिहान दैनिक एन्फामा अभ्यास, दिउँसो दुई घन्टा जिम र सातामा तीनपटक ग्रान्डी अस्पतालमा फिजियोथेरापी गरिरहेको छु । डाक्टरले विस्तारै खेल्न हुने बताएका छन् । अब छिट्टै मैदानमा फर्कने योजना बनाएको छु', रोहित भन्छन् ।

रोहित नेपाली फुटबलसँग प्रत्यक्ष गाँसिएको १२ वर्ष भयो । सुर्खेत वीरेन्द्रनगरका उनी बाल्यकालका चर्चित क्रिकेट खेलाडी थिए । घरछेउको कालिञ्चोक मैदानमा उनी धेरैजसो क्रिकेट खेल्थे । त्यो मैदानमा फुटबलको माहोल पनि राम्रै थियो । सुरुमा उनले क्रिकेट र फुटबललाई सँगसँगै अगाडि बढाएका थिए । क्रिकेटमा क्षेत्रीय प्रतियोगितासम्म खेले । फुटबलमा पनि उनको लगाव राम्रो थियो । सुर्खेतमा त्यतिबेला जिविस कप फुटबल हुन्थ्यो । २०६१ सालमा काठमाडौंमा यू-१४ फुटबल प्रतियोगिता भयो । उनी त्यो प्रतियोगिता खेल्न सुर्खेतबाट छनोट भए । एकैपटक काठमाडौं आएर खेल्न पाउँदा उनी खुसीले गद्गद् भएका थिए रे । रोहितको खेलले त्यतिबेला एन्फाका प्राविधिक निर्देशक श्याम थापाको मन पनि तानेछ ।

त्यसपछि रोहितलाई एन्फा एकेडेमीले छनोट खेलका लागि बोलायो । 'एकेडेमीमा छनोट हुन देशभरका खेलाडीबाट ३५ भित्र पर्नुपथ्र्यो, जसका लागि मैले कम्ती मेहनत गर्नु परेन । चारपाँच दिन राम्रो खेलेपछि ३५ भित्र पर्न सफल भएँ । एकेडेमीमा छिरेपछि मेरो खेलले निखारमा पायो', उनी भन्छन् । एकेडेमीमा पाँच वर्ष बिताएका रोहितले त्यहीँबाट एसएलसी र दस जोड दुईको पढाइ पनि पूरा गरे । एन्फा एकेडेमीमा पढ्ने माहोल थिएन । धेरैले खेलाडीले पढाइभन्दा खेललाई महत्त्व दिने । रोहितको टोलीमा रहेका विशाल श्रेष्ठ, नवीन महर्जन र जगजित श्रेष्ठ पढाइमा अलि ध्यान दिन्थे । रोहितले पनि विस्तारै विशालको संगत गरे ।

'विशाल अरूभन्दा पढाइमा चलाख थियो । विशालकै संगतले मैले एसएसली फस्ट डिभिजनमा पास गरे । पछि दस जोड दुई पनि पूरा गर्न सकेँ', रोहित भन्छन् ।एन्फा एकेडेमीबाट जुनियर अवस्थामै रोहितले ब्रिगेड ब्वाइज क्लबबाट 'ए' डिभिजन लिग खेले । उनी इमानदार र अनुशासित भएकोले होस्टेलदेखि नै सबैले उनलाई मन पराउँथे । त्यसपछि उनले २०६७ सालमा मच्छिन्द्र क्लबबाट 'ए' डिभिजन लिग खेले । त्यतिबेला एन्फा एकेडेमीबाट उत्पादन भएका खेलाडीलाई मनाङ मस्र्याङ्दी, मच्छिन्द्र र संकटा क्लबले बाँडेर लिएका थिए ।

२०६८ सालको लिग भने रोहितले मनाङबाट खेल्ने सम्झौता गरे । तर उनले मनाङसँग बाहिरबाट अवसर आए छाड्न पाउने सहमति गरेका थिए । नभन्दै उनलाई भारतको बैंगलोरस्थित हल स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्ने अवसर आयो । उनले एक सिजन हलबाट आई लिग (इन्डियन लिग) खेले । त्यतिबेला नेपालका अनिल गुरुङ पनि सिलोङ लाजोङबाट व्यावसायिक फुटबल खेल्थे ।

रोहितको खेलले विस्तारै दक्षिण एसिया पार गर्‌यो । अर्को सिजन उनले इन्डोनेसियाको पीएसपीएस पकनबरुबाट सुपर लिग खेले । पीएसपीएसमा एक सिजन खेलेपछि उनी अर्को सिजन इन्डोनेसियाकै पर्सिजा जार्कातामा अनुबन्ध भए, जहाँ उनको मासिक तलब तीन लाख रुपैयाँ थियो । त्यतिबेला उनी नेपालका महँगा फुटबलर थिए । पर्सिजाबाट खेल्दै गर्दा उनले डेनमार्कको एफसी भेजुल्यान्डमा ट्रायल र प्रशिक्षणको अवसर पाए । त्यहाँ भारतका चर्चित फुटबलर सुब्रोतो पल पनि खेल्थे । सुब्रतोको ६ महिना कन्ट्रयाक्ट थियो तर, रोहितलाई त्यहाँ पारिश्रमिक बिना नै खेल्ने अफर आयो । उनले मानेनन् र पुनः पर्सिजा फर्किए ।

पर्सिजामा फर्किएपछि केही समयमै विश्व फुटबल महासंघ (फिफ) ले इन्डोनेसियाको फुटबल संघलाई प्रतिबन्ध गर्‌यो । त्यसपछि उनी नेपाल फर्किए । मनाङबाट खेल्ने फेरि अफर आयो तर, रोहितले अन्तिममा खेल्न पाएनन् त्यो उनलाई किन भन्ने अझैसम्म थाहा छैन । चार महिना त्यत्तिकै बसेर व्यावसायिक फुटबलका लागि मलेसियाको टिटिममा अनुबन्ध भएका रोहित खेलकै क्रममा त्यही घाइते भए । र उपचार पछि आराममा रहे । लामो खेल यात्रामा रोहितलाई नरमाइलो लागेको क्षण भने नेपालमा सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानसँगको खेल हो ।

सेमिफाइनलमा अफगानिस्तानसँग पाएको पेनाल्टी सट दुई पटकसम्म मिस गरेपछि उनी धेरै आलोचित भए । 'मलाई त्यतिबेला धेरै नरमाइलो लागेको थियो । धेरैले नराम्रोसँग गाली पनि गरे । कतिले अझै राम्रो गर्न सक्छन् । खेलमा मिस हुनु स्वाभाविक भनेर सान्त्वना पनि दिए । त्यसपछि मेरो खेल र आत्मविश्वास झनै बढ्यो । गल्तीले मानिसलाई झनै सिकाउने रहेछ', उनी भन्छन् ।

रोहित मैदानबाहिर रँहदा नेपाली राष्ट्रिय टोलीले तीनवटा उपाधि चुम्यो । बंगबन्धु गोल्ड कप, १२ औं दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण र मलेसियामा हालै सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जित्दा रोहित रोजाइका रक्षक भएर पनि बाहिरै बस्नु पर्‌यो । उपाधिसँगै तीनवटै खेलमा रहेका प्रत्येक खेलाडीको हातमा अखिल नेपाल फुटबल संघ (एन्फा), सरकार र निजित तथा सार्वजनिक संघसंस्थाबाट पुरस्कारस्वरूप ४० लाख रुपैयाँ पर्‌यो । चोटका कारण मैदानबाहिर रहेका रोहित यसलाई नियतिको खेल मान्छन् । 'मैदान बाहिर हुँदा केही खल्लो त हुने रहेछ तर, नेपाली फुटबल टोलीले जित्दा मैले आफूलाई टोलीमै खेलिरहेको अनुभूति गरेँ । नेपाली टोलीले उपाधि नजितेको धेरै भएको थियो । यस उपाधिले टोलीलाई थप जोसिलो बनाएको छ । अहिले टोलीमा नयाँ र जोसिला खेलाडी छन् । मेहनत गरेको खण्डमा हामीले अझै बलियो खेल जित्न सक्छौं', रोहित भन्छन् ।

सन् २००९ मा भएको एएफसी च्यालेन्ज कप छनोट खेलअन्तर्गत प्यालेस्टाइनविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहित भर्खर २५ वर्षका भए । राष्ट्रिय टोलीबाट उनले ४० भन्दा बढी खेल खेलेका छन् । उनी अहिले खेल्नका लागि पूर्ण फिट भइसकेका छन् । उनी राम्रो अवसरको पर्खाइमा पनि छन् । 'राष्ट्रिय टोलीले अब आगामी साफ च्याम्पियनसिप खेल्छ होला । घरेलु लिग नहुँदा सबै खेलाडी बेकामी बन्ने अवस्था छ । राष्ट्रिय टोलीका राम्रा खेलाडी विभिन्न गोल्ड कपमा रमाइरहेका छन् । यसले हाम्रो स्तर घट्छ । खेलाडी पनि घाइते हुने उत्तिकै सम्भावना रहन्छ । लिग सञ्चालनका लागि एन्फाले ध्यान दिनुपर्छ । लिग भएन भने नेपाली फुटबलको स्तर माथि जाँदैन', उनले सुझाए ।

एक वर्षको अन्तरालमा नेपाली फुटबलमा धेरै उथलपुथल भएको छ । नेपाली फुटबल खेलाडीमा खेल मिलेमतोको घटना सार्वजनिक भएपछि रोहितलाई पनि नखाएको विष लाग्छ कि भन्ने धेरै डर थियो रे । समाचार सुन्दा र पढ्दा उनी धेरै अत्तालिएका थिए । अहिले राष्ट्रिय टोलीमा युवा खेलाडीको वर्चस्व रहेको र खेलाडीको प्रदर्शन पनि बढेकोमा उनी सन्तुष्ट छन् । तर यसबीचमा नेपालले उपाधि जिते पनि बलियो प्रतिद्वन्द्वीसँग भिड्न नपरेको रोहितको बुझाइ छ । 'हामीले उपाधि त जितेका छौं ।

तर हाम्रो स्तर दक्षिण एसियाभन्न्दा माथि गएको छैन । बलियो टिमसँग खेलेर अझै हामीले उपाधि जित्न सकेका छैनौं । दक्षिण एसियामा भारत हामीभन्दा माथि छ । उसलाई पछि पारेर एसियाली स्तरमा राम्रो गर्न सक्नुपर्छ । म भर्खर कमब्याक भएको छु । टोलीमा अटाउनेमा विश्वस्त पनि छु । हाम्रो पहिलो लक्ष्य फेरि साप च्याम्पियनसिपको उपाधि जित्नु हो', उनले भने- त्योसँगै हामीले अझ धेरै गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.