यसरी भयो हिज्जेमा हस्तक्षेप

यसरी भयो हिज्जेमा हस्तक्षेप

नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । देवनागरी लिपि विश्वका वैज्ञानिक र सुन्दर लिपि मध्ये एउटा हो र यो सर्व श्रेष्ठ लिपि पनि हो । ध्वनि, आकृति र क्रमबद्धता हरेक पक्षमा यो लिपि उत्कृष्ट र अतुलनीय छ । त्यसै भएर मैले शुरूमै वर्णमालामा घटबढ गर्ने भूल नगरौं भनेको हो । तर दुर्भाग्यवश यस भाषाको अधिकारक्षेत्रमा बसेका स्वनामधन्य विद्वान्‌हरूबाट २०३४ सालमा यसको हिज्जेमा अनावश्यक हस्तक्षेप भइदियो र यसको लेखाइ र छपाइ अस्त व्यस्त हुन पुगे, आजको यो भाषिक अराजकता त्यसैको परिणाम हो । विद्वान्हरूबाट भएको यस भयावह भूल वा हस्तक्षेपबाट नेपाली भाषा र साहित्य को विकास मा अपूरणीय क्षति भएको छ ।

२०३४ सालको भाषिक गोष्ठीमार्फत् हस्तक्षेप शुरु भयो । त्यसको एउटा सामान्य सहभागी म पनि थिएँ । मेरो सम्झना अनुसार नेपाली भाषा र साहित्यको साधनामा खटेर लागेका विद्वान्हरू मञ्चमा हुनुहुन्थ्यो । उहाँहरूबीच कुनै आन्तरिक मतभेद थियो थिएन त्यो मलाई थाहा भएन, तर हिज्जे माथिको त्यस अतिक्रमणमा उहाँहरू कुनैबाट पनि विमति भएको देख्न र सुन्न पाइएन । सहभागीमा नेपाली पढाउने सयौं गुरुहरू थिए । मञ्चासीन विद्वान्हरूको संयुक्त दस्तावेजको रूपमा हिज्जेमा व्यापक फेरबदल गर्ने प्रस्तावबाट नेपाली हिज्जे माथि ठूलो प्रहार भएको थियो । उक्त प्रस्ताव कार्यान्वित हुँदा भाषाका अंग-प्रत्यंग सबै घाइते हुन पुग्थे । हामीलाई उक्त प्रस्तावको स्वागत र समर्थनमा ताली बजाउन भनियाये । त्यतिबेला म एकदमै विचलित भएको थिएँ । मैले उठेर विरोध जनाएँ ।

हस्तक्षेप कहाँ कहाँ ?

ह्रस्व, दीर्घमा

भाषाशुद्धिको क्षेत्रमा सबै भन्दा महत्त्वपूर्ण पक्ष हो ह्रस्व, दीर्घ र शकार, सकार आदिको । अरु पनि छन् जस्तै चिरेको बकार र सादा वकार । नेपाली परम्परामा तलथोप्ले व भन्ने पनि एउटा अति उपयोगी व्यवस्था थियो । त्यसलाई पनि फाल्न हुँदैन भन्ने मेरो माग हो । विक्रमको २०३४ सालमा यी सबै पक्षमाथि हस्तक्षेप भइदियो । जुन शब्दलाई ह्रस्व बनाउन मिल्दैनथ्यो त्यस्ता शब्दहरूलाई निर्ममतापूर्वक ह्रस्व बनाइयो । जहाँ दीर्घ मात्रा चाहिन्थ्यो त्यता ध्यान दिइएन ।

जुन शब्दले जनजिब्रोको पुकार गरिरहेका थिए, त्यो सुनिएन । ह्रस्व र दीर्घका कुरा गरौं, व्याकरणमा एउटा सिद्धान्त छः क्षतिपूर्तिदीर्घी भवन । यस अनुसार तद्भव शब्दहरूमा क्षतिपूर्तिबापत दीर्घ भएका शब्दहरू अनेकौं छन्, यो नियम प्राकृत व्याकरणकै युगदेखिआएको हो । जस्तैः संस्कृतको दुग्ध नेपालीमा आउँदा दूध भयो, फुल्ल फूल भयो र शिल्प शीप भयो । संस्कृतको सप्त शब्द सात ध्वनिमा परिवर्तित भएको पनि यसैगरी हो, अष्ट आठ भएको पनि यसैगरी हो ।

यी हरेक शब्दमा तद्भव बन्ने क्रममा कुनै न कुनै व्यञ्जनको क्षति भएको छ र त्यसको क्षतिपूर्ति बापत शुरू अक्षर दीर्घ भएको छ । बिनाकारण कुनै पनि अक्षर दीर्घ वा ह्रस्व हुने गर्दैनन् । यस्ता असंख्य शब्द छन् तद्भवमा । जस्तै मित्र, निद्रा र मिष्टआदि । नेपालीमा आउँदा मित्रले दीर्घ मीत रूप पायो किनभने त्यसमा रकारको क्षति भएको छ । ह्रस्व 'मि' भएको मितको अर्थ थोरै वा अलिकति भन्ने हुन्छ । यसर्थ 'मित'को अर्थ मित्र हुन सक्दैन भने मीतको अर्थ पनि थोरै भनेर व्याख्यायित गर्न मिल्दैन । यसरी हाम्रा असंख्य तद्भव शब्दहरू माथि प्रहार हुन पुग्यो ।

आगन्तुक शब्दमा

आगन्तुक शब्दहरूलाई पनि विरूप तुल्याइयो । शहरलाई सहर बनाइयो, शहीदलाई सहिद । शेयरलाई सेयर र मिशनलाई मिसन पारियो । यसरी विकृत तुल्याइएका शब्दहरूको सूची लामो छ । जस्तै कानून शुद्ध रूप हो त्यसलाई कानुन बनाइयो, स्कूल दीर्घ हो त्यसलाई ह्रस्व स्कुल तुल्याइयो र मजदूर, मजबूत, नसीहत, देहरादून र दार्जीलिङ, स्कूटर आदि अनेकानेक शब्दका दीर्घमात्राहरू पनि आक्रमणमा परे । अर्कातिर शकार भएका शिलाङ, शिमला, फेशन, स्टेशन,होश, जोश, मुश्किल, चश्मा, पश्मीना साजिश, मालिश र शेखी आदि सब घाइते भए ।

संस्कृत शब्दमा

संस्कृत शब्दमा इतर प्रत्यय लागेकालाई पनि भत्काइयो । जस्तै शंका शब्द छ, यो त संस्कृत हो, तर यसमा नेपाली प्रत्यय ऐ लाग्यो भने शंकै नभएर संकै हुन पर्ने भयो, पौषे औंसीलाई पौसे औंसी गर्नु पर्ने भयो । दशक लेख्दा शकार, दशकौं लेख्दा सकार, कुश लेख्दा सकार कुशे औंसी लेख्दा कुसे औंसी, वर्ष लेख्दा वकार र षकार तर वर्षौं वा वर्षेनि लेख्दा बकार र सकार आवश्यक पर्ने जस्ता विचित्रका कुरा आए ।

भन्न त विद्यार्थीलाई सरल तुल्याउने भनियो तर ०३४ सालको उक्त व्यवस्था कलिला विद्यार्थीका निम्तिघोर जटिलता थपिने सन्दर्भ बन्यो । मैले त्यसै भएर उक्त गोष्ठीमा आफ्नो विमति जनाउन परेको हो । मैले त्यतिखेर के भनेको थिएँ भने हिज्जेको निर्धारण बैठक गरेर वा गोष्ठीमा बहुमतीय ताली बजाएर गरिने विषय होइन । मञ्चासीन मध्ये बल्लभमणी दाहालजीले उठेर भन्नुभएको थियो - तपाईं त साहित्यकार भाषाको विषयमा तपाईंको ध्यान पुगेन होला । भाषाको परिवर्तनमा तपाईंले सहयोग गर्नुपर्‌यो ।

तर मैले यसरी समाधान हुँदैन, यसबाट त नेपाली वर्णविन्यास नराम्ररी भाँडिनसक्छ नै भनिरहें ।यसरी विश्वविद्यालयको नीतिविरुद्ध विश्वविद्यालयकै एउटा सामान्य शिक्षक हुँदाहुँदै पनि मैले विरोध गरें । मलाई के लागेको थियो भने, उहाँहरू विद्वान हुनुहुन्छ भाषामा जबर्जस्ती गर्नुहुन्न । मैले धेरैपटक भनें तर उहाँहरूको आग्रह यथावत् रह्यो । बालकृष्ण पोखरेलसँग मेरो विवाद भइरह्यो । उहाँले मलाई माया गर्नुहुन्थ्यो । 'तिमी त साहित्यकार' भन्नुहुन्थ्यो । म उहाँलाई भन्नेगर्थें - तपाईं त ठूलो भाषाविद्, तपाईं राम्रो भाषा दिनुस् म त्यसैमा साहित्य लेख्छु । म आफूलाई कुनै ठूलो साहित्यकार ठान्दिनँ, तर नेपाली साहित्यप्रति मेरो अगाध निष्ठा छ । तर नेपाली व्याकरणको हिज्जे पक्षबारे भने मेरो धारणा स्पष्ट छ ।

विवाद रोप्ने शब्दकोश

०३४ सालको उक्त घटना पछि २०४० सालमा प्रज्ञा प्रतिष्ठानबाट 'नेपाली बृहत शब्दकोश' निस्कियो । मैले त्यो हेरें । त्यहाँ त असंख्य त्रुटिहरू थिए । सबभन्दा ठूलो त्रुटि के थियो भने त्यसमा विकल्पै विकल्प थिए । कानून पनि कानुन पनि, शहर पनि सहर पनि र होश पनि होस पनि पूरै कोश अनिर्णयको बन्दी ! त्यसपछि मैले धमाधम लेखहरू लेखेर आफ्ना कुरा जनसमक्ष राख्ने प्रयास गरेँ । २०४३ सालमा 'प्रस्तावना र विवेचना' र २०४५ सालमा 'सरल नेपाली, शुद्ध नेपाली' नामक पुस्तिका लेखेर भाषामा के गर्न हुन्छ र के गर्न हुन्न भन्नेबारे जनसमक्ष राख्ने प्रयत्न गरेँ ।

म एक्लै थिएँ त्यसैले साथी खोज्न थालें । साथी पाउन गाह्रो थियो । पोखराबाट काठमाडौं आउँथे म । साथी नै थिएनन् । पछि शरच्चन्द्र वस्तीज्यूसँग भेट भयो । उहाँ 'पुनर्जागरण'मा काम गर्नुहुन्थ्यो । उहाँले मेरो कुरा ध्यान दिएर सुन्नुभयो । मलाई वहाँ एउटा साथी भेटिएको ढाडस मिल्यो । मैले काठमाडौंमा ध्यान दिएर कुरा सुन्ने मान्छे पनि खोज्न सके भेटिन्छन् ।

पोखरेलसँग आमुन्नेसामुन्ने

२०५७ सालमा प्रज्ञा प्रतिष्ठानले भाषिक गोष्ठीको आयोजना गर्‌यो । त्यसमा माधव पोखरेलले विश्वविद्यालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुभयो । मैले मेरो तर्फबाट प्रस्तुत गरें । दुई दिनको गोष्ठी थियो । त्यहाँ पनि त्रिविको र मेरो कार्यपत्र बाझिए । तर उक्त गोष्ठी पछि सहयोगीहरूले मलाई समर्थन दिनुभयो । समर्थन दिनेमा हर्षनाथ भट्टराई, माधव लम्साल, नारायण अधिकारी, दीनदयाल रेग्मी, यमबहादुर क्षेत्री र बलदेव गाउँले लगायत हुनुहुन्थ्यो । त्यस्ता प्रतिभाशाली व्यक्तिहरूको प्रेरणाले म उत्साहित बनेँ ।

२०५८ सालमा भनें बालकृष्ण पोखरेलसँग मेरो मुखामुख नै हुनपुग्यो । त्यतिबेला पनि एउटा भाषिक गोष्ठी भएको थियो । त्यसमा मलाई बोलाइएको त थिएन तर भाषागोष्ठी हुन्छ भन्दा जान मन लाग्यो, एउटा छेउमा गएर लुसुक्क बसें । सानो ज्यान भएकोले जहाँ बसे पनि म त्यति देखिन्नथेँ । मञ्चमा बालकृष्ण पोखरेलको मन्तव्य भर्खर सकिँदै थियो, अलिकति सुनेँ । भाषाका अर्का साधक चूडामणी रेग्मी पनि श्रोताबीच हुनुहुन्थ्यो उठेर प्रश्न गर्नुभयो - 'सर तपाईं यसो भन्नुहुन्छ, तर मुकुन्दशरण भने फरक मत राख्नुहुन्छ । हामीले कसको कुरा सुन्ने ? '

प्रश्न सुन्नासाथ बालकृष्ण पोखरेल जुरुक्क उठ्नुभयो । उहाँले मलाई देख्नुभएको थिएन शायद । उहाँले भन्नुभयो, 'मुकुन्दशरण उपाध्यायबारे म तपाईंहरूलाई बताइदिन्छु । मुकुन्दशरणलाई म चिन्छु । उनी साहित्यकार हुन् । उनलाई भाषाबारे खास वास्तविकता अझै थाहा छैन । म के सोचिरहेको छु भने, कि म उनको घरमा दुई महिना पाहुना बस्छु, कि मेरो घरमा दुई महिना पाहुना बस्न उनलाई भन्छु । अनि उहाँलाई पहिला त साहित्यमा प्रेरणा दिन्छु र भाषाबारे मेरा कुरा बुझाउँछु । उहाँ दुराग्रही होइन, उहाँलाई ठेगानमा ल्याउन सकिन्छ ।'

उहाँको कुरा सुनेपछि म चुप लागेर बस्न सकिनँ र हात उठाएर मैले भनें, 'सर म त तपाईंलाई निकै आदर गर्छु । यहाँसँग बसेर दुई घण्टामात्रै कुरा गर्न पाए पनि कि म तपाईंको कुरा स्वीकार्छु होला कि मेरो विचारमा तपाईंलाई सहमत गराउन सक्छु जस्तो लाग्छ, किन दुई÷दुई महीना लगाउने ? '

मैले त्यसो भनेपछि एउटा राम्रै हलचल आएको थियो त्यहाँ । सबैले मलाई र उहाँलाई हेरेका थिए । भाषाको चिन्ता लिइरहने चूडामणी रेग्मीजी त उठेरै बोल्नुभयो, 'त्यसोभए यो गोष्ठीको के काम ? स्थगित गरौं र उहाँ दुईजना विद्वानलाई समय दिऊँ, हामी सुनौं उहाँहरू बसेर के टुंगो लगाउनुहुन्छ ।'

तर मलाई लागिरहेको थियो गोष्ठी स्थगित गराएर हाम्रो छलफल चल्नु उचित होइन । वासुदेव त्रिपाठीजीले 'केही दिन भित्रै उहाँहरूलाई बसाएर कुरा गराउन सकिन्छ त्यो सुन्ने हो भने' भन्नुभयो । तर पछि खाजा खाने बेलामा सहभागीहरूले 'तपार्ईंहरूले दुई घण्टा समय लिएर पछि कुरा गर्नुहोला, अहिले दुई मिनेट भएपनि केही छलफल त गर्नुहोस्' भन्नु भयो । म तयार भएँ, बालकृष्ण गुरु पनि तयार हुनुभयो । हामी आमुन्नेसामुन्ने भएर बस्यौं ।

त्यतिबेला पोखरेलजीको 'झर्रो सब्द्यौली' नामक सानो शब्दकोश मेरो सम्झनामा आयो । मैले त्यही कोशबाट कुरा शुरू गरेँ - सरको 'झर्रो सब्द्यौली' मा शीर्षकै झर्रो छ दन्त्य सकारको 'सब्द' भएको । यदि विद्यार्थीलाई यो सब्द्यौलीलाई प्रकृति र प्रत्यय छुट्टाउन भनियो भने विद्यार्थीले के गर्ने सर ? विद्यार्थीलाई सरल होस् भनिएको छ, तर सब्द्यौलीको सन्धी विग्रह गर्दा संस्कृत 'शब्द' लाई 'सब्द' भनेर लेख्न पनि यहाँहरूको नियमले दिँदैन । 'शब्द' मा यौली थप्दा सब्द्यौली हुन्छ भन्दा पनि विद्यार्थी अलमलिन पुग्छ, यस्तोमा के गर्ने होला ?

०३४ सालको व्यवस्था अनुसार त्यस्तै उदाहरण दिन सकिने अरु शब्द पनि छन् । कति त त्यही कोशमै पनि छन् जस्तैः अंशियार आदि कुरा स्पष्ट गर्न हामी 'विशेषण' शब्दलाई लिन सक्छौं । यदि विशेषणै विशेषण लेख्नु पर्‌यो भने ०३४ सालको नियमले 'विशेषणै' लाई 'बिसेसणै' लेख्न पर्ने हुन्छ र दोस्रो विशेषण जस्ताको तस्तै रहनु पर्छ । त्यसो गर्दा 'विसेसणै विशेषण' लेख्नु पर्ने हुन्थ्यो ।

मेरो भनाईपछि उहाँले तपाईंको प्रश्न राम्रो छ मात्रै भन्नुभयो । खास जवाफ दिनुभएन । मैले बुझें उहाँमा अब दुराग्रह छैन, यसर्थ अहिल्यै उत्तर चाहिन्छ भन्न उचित लागेन । यो हिज्जे विवाद बाहेक नेपाली भाषा र साहित्यमा बालकृष्ण पोखरेलको विशिष्ट देन छ यसर्थ मेरा उहाँ आदरणीय हुनुहुन्छ । यसर्थ मैले भनें- हुन्छ सर । पछि गोष्ठी सकिन बेलामा उहाँले 'मेरो भोली बिहान नौ बजे प्लेनको टिकट छ म फर्केर आएपछि कुरा गरौंला' भन्नुभयो ।

तर एक्कासी तीनचार महिनापछि शरच्चन्द्र वस्तीजी उक्त कोशको नयाँ संस्करण लिएर आफै मेरो निवासमा आइपुग्नुभयो । नयाँ संस्करण हेर्ने बित्तिकै पोखरेलजीले मेरो पूर्व प्रश्नलाई महत्त्व दिनुभएको थाहा भयो । वस्तीजी त्यसको नामै फेरेर 'झर्रो शब्द्यौली' बनाइएको प्रति अत्यन्त खुशी हुनुभएको रहेछ । उहाँले भूमिकामा पनि डीएनएको कुरा उठाएको देखेर मेरा मनमा एउटा विचार उठ्यो अब यदि उहाँसँग संवादको अवसर जुट्यो भने भाषिक विवादले नयाँ मोड पाउन सक्छ । शरदचन्द्रजीले त्यो संवाद गर्नुभयो ।

एउटा अर्को पनि ध्यान दिनैपर्ने विषय छ । त्यो हो नेपाली सर्वनाम र पदवियोगको विषय । एकताका नेपाली भाषाको जेठो अखबार गोरखापत्रमा विभक्ति र नामयोगी जोड्ने चलन थिएन । यो एउटा महत्त्वपूर्ण पक्ष थियो भने अर्कातिर परम्परादेखि चल्दै आएका मौलिक नेपाली सर्वनामहरू अर्थात् इनले, इनलाई, इनको, एसले, एसलाई, एसको र तेसले, तेसलाई, तेसको आदि रूपहरू त्यसमा छापिने गर्थे ।

१९९२ मा नेपाली भाषा प्रकाशिनी समितिले ने.क.शु.ले भनिने लघु पुस्तिका छपाएर विभक्ति र नामयोगीको स्वतन्त्रता खोसिदिने र नेपाली सर्वनामलाई हटाएर बडागुरु हेमराजजीबाट परिकल्पित यिनले, यसले र त्यसले जस्ता अमौलिक सर्वनाम चलाउने भन्ने नीति लागू गराइदिए पछि गडबडी शुरू भएको हो । नेपाली सर्वनाम हटाइएकोमा विमति राख्नेहरूमा राममणि आचार्य दीक्षित, वीरेन्द्रकेसरी, सूर्यविक्रम ज्ञवाली, महानन्द सापकोटा, ईश्वर बरालहरू स्मरणीय छन् । अहिले शिवराज आचार्यको 'जिम्दो नेपाली अभियान' पनि यही विचारमा छ ।

२०३४ पछिका मेरा कृतिहरूमा पनि नेपाली सर्वनामले निरन्तरता पाएका छन् । देहरादूनका पद्मसिंह कार्कीले विभक्ति पनि पृथक् गरेका छन् नेपाली सर्वनाम पनि चलाएका छन् । नेपालका वर्तमान वरिष्ठ साहित्यकारहरू मध्ये नेपाली सर्वनाम र विभक्तिको समुचित प्रयोग गर्नेहरूमा जगदीश शमशेर राणा सबैभन्दा अगाडि छन् । उनका ११ थान कृतिमा यस्तो प्रयोग भएको छ । अर्का विद्वान् मंगलकुमार नेपालले पनि यस्तो प्रयोग गरेका छन् । अहिलेसम्म मोतीराम भट्ट लगायतका ५० भन्दा बढी लेखकहरूले नेपाली सर्वनाम चलाएका छन् । त्यसैले मैले २०४० सालको शब्दकोशको सम्पादनका समयमा मैले नेपाली सर्वनामलाई कोशमा स्थान दिनुपर्छ भनेर लिखित अनुरोध गरेको थिएँ, उपेक्षा भयो ।

नेपाली ध्वनि दीर्घ वा ह्रस्व ?

०३४ सालको परिवर्तनको एउटा आग्रह के पनि हो भने त्रिविको मान्यतामा नेपाली ध्वनि ह्रस्व र दन्त्य सकार हो भन्नु । तर नेपाली जिब्रोले ह्रस्व मात्र बोल्छ, दीर्घ बोल्न सक्दैन भन्नु र दन्त्य सकार नेपाली उच्चारण हो भन्नु एकदमै ठूलो भ्रम हो । पहिलो कुरा त नेपाली उच्चारण दन्त्य सकार हुँदै होइन । हुँदै नभएको कुरा विद्यार्थीलाई पढाउन पर्दा यसको खण्डन नेपालीमा आएका बाह्य शब्दहरूसँग मैले एउटा सानोतिनो संकलन नै बनाएको छुः हिन्दी, उर्दूआदिमा ह्रस्व वा लघुमात्रामा बोलिने र नेपालीमा दीर्घ बोलिने ।

जस्तै हिन्दीमा 'पता नही लगा' भनिन्छ नेपालीमा 'पत्ता लागेन' । पता ह्रस्व हो, पत्ता दीर्घ । हिन्दीको 'जिद करती है' नेपालीमा 'जिद्दी गर्छे' हुन्छ । जिद ह्रस्व हो, जिद्दी दीर्घ । त्यसैले नेपालीले दीर्घ उच्चारण गर्दैनन् भन्ने गलत हो । एस्ता अरु पनि उदाहरण छन् कुली- कुल्ली, किला-किल्ला, मदत-मद्दत, सलाह-सल्लाह, साठ-साठी जबर-जब्बर आदि । इकहरा र एकोहोरो आदिमा पनि यही कुरा देख्न पाइन्छ ।

नेपाली भाषाको विशेषता

नेपाली भाषा संस्कृत भाषाबाट बनेको हो । त्यसैले यसमा ध्वनिको प्रचुरता छ । हामीसँग संसारका सबै प्रकारका ध्वनी छन् भन्न नसकेपनि संसारका सबैजसो ध्वनी हामी मेहनत गरेर सिक्न सक्छौं । यसर्थ नेपालीमा ध्वनिहरूको उचित उपयोग गर्ने क्षमता छ । ह्रस्व मात्र भन्नु नेपाली भाषाको क्षमताको अपमान पनि हो जस्तो लाग्छ ।

पछिल्लो निर्णय

प्रज्ञा प्रतिष्ठानले पछिल्लो शब्दकोश सच्याउने भनेको छ, यो स्वागतयोग्य कदम हो । तर प्रतिष्ठानले के बिर्सिदिनु हुन्न भने २०४० सालको शब्दकोशबाट नै त्रुटि भएको छ । २०४० को शब्दकोश नै सच्चाउनुपर्छ । यो त राजनीति गर्नेहरूले तीन जना प्रहरीले गल्ती गर्दा एकजनालाई सरुवा गरेर सजायँ दियौं भनेजस्तो चालबाजी मात्र हुनजान्छ । आशा गरौं अबको कोश शुद्ध र आदर्श बनेर आउनेछ ।

मानक बनाऔं

नेपाली भाषा नेपालभित्र नभई संसारभर नै बोलिन्छ । त्यसैले नेपाली भाषालाई मानक बनाउने कार्यभार हाम्रो हो । त्यसैले नेपाली भाषालाई मानक बनाउनुपर्छ हामीले भन्ने मैले उठाइरहेको मूल विषय हो । मानक बनाउँदा संसारभर सबैले स्वीकार्नेगरी बनाउने हो । संसारभर चलेको प्रचलन स्वीकार्ने हो । एउटा भाषिकाको यात्रा हुन्छ, अर्को विश्वभाषाको । हामीले हिंड्ने विश्वभाषाको यात्रा हो । नेपाली भाषालाई विश्वभाषा बनाउने भनेको अन्तर्राष्ट्रियस्वरुप दिने हो । त्यसका लागि हामीले संसारभर प्रयोग गर्ने शुद्ध स्वरुप अपनाउनुपर्छ ।

संसारमा कहीं पनि बैठक, गोष्ठी गरेर भाषामा परिवर्तन हुँदैन । हामीमा भने बहुमतले ताली बजाएर वा नबजाए पनि माथीबाट लादेर परिवर्तन गर्न खोजियो । अब यस्तो भूल दोहोरिन हुन्न ।

(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.