पदक विजेतालाई शैक्षिक सुविधा
काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सातौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीका लागि उनीहरूको मासिक स्कुल तथा कलेज शुल्क आफूले बेहोर्ने जनाएको छ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्यसचिव केशव विष्टले सातौं खेलकुदमा पदक जित्ने खेलाडीहरू राष्ट्रिय टोलीमा पर्ने भन्दै राष्ट्रिय टोलीमा रहेसम्म उनीहरूको विद्यालय तथा कलेजको मासिक शुल्क सरकारले बेहोर्ने बताए ।
‘पदक जित्ने खेलाडी राष्ट्रिय टोलीमा रहनेछन् । उनीहरू राष्ट्रिय टोलीमा रहेसम्म उनीहरूको स्कुल तथा कलेजको मासिक शुल्क राखेपले बेहोर्ने छ । तर, उनीहरू नेपालभित्र पढिरहेको हुनुपर्नेछ', सदस्यसचिव विष्टले भने । सदस्यसचिव विष्टले यसो भनिरहँदा राखेपको तयारी भने कमजोर देखियो ।
राखेपले यसअघि अन्तर्राष्ट्रिय पदक जित्नसक्ने सम्भावना बोकेका १२ खेलको मात्र राष्ट्रिय टोली बनाएको थियो जसमा धेरै खेलको राष्ट्रिय टोलीमा स्वर्ण पदक विजेतामात्र समावेश थिए । सुरुमा सबै पदक विजेता र सबै खेल भने पनि पछि सदस्यसचिव विष्ट आफैं अन्योलमा देखिए ।
‘सम्भावना बोकेका खेलाडीलाई राष्ट्रिय टोलीमा राख्न सकिन्छ', उनले भने । विष्टले सातौं खेलकुदको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले भने, ‘अब केही रङरोगन र झिनामसिना काममात्र बाँकी छन् ।' उनले खेलाडीको सुविधामा विशेष ध्यान दिएको बताउँदै सम्पूर्ण पूर्वाधार अन्तर्राष्ट्रियस्तरको भएको दाबी गरे ।
पूर्वाञ्चलका ६ जिल्लामा पुस ८ देखि १५ सम्म आयोजना हुने सातौं खेलकुदमा ३१ खेल समावेश भए पनि गल्फ, आर्चरी र फेन्सिङ कम्तीमा चार टिम हुनुपर्ने सर्त पूरा नभएका कारण सो खेलका प्रतियोगिता आयोजना भए पनि पदक वितरण नहुने जनाइएको छ । सातौं खेलकुदअन्तर्गत महिला फुटबल पुस २ गतेदेखि नै सुरु हुनेछ ।
यसैगरी राखेपले उद्घाटनलगायत केही खेलमा दर्शकलाई प्रवेश शुल्क लगाउने निर्णय गरेको छ । यसैबीच राखेपले दक्षिण एसियाली खेलकुद (साग)मा रजत र कांस्य जित्ने खेलाडीलाई क्रमशः मासिक २५ सय र एक हजार रुपैयाँ दिने निर्णय गरेको छ ।