पीडा र पतनको सचित्र

पीडा र पतनको सचित्र

झापाको हात्ती आतंक देख्ने-भोग्नेहरूको हालत के होला ? भुक्तभोगीहरूको पीडालाई उपन्यासमा उतार्ने काम उमा सुवेदीले गरेकी छन् । उपन्यासको मूल विषय हात्ती आतंक नै भए पनि त्यसैसँग जोडिएर प्रमुखरूपमै आएको छ सुपारी तस्करी र राजनीति ।

एकदिन, सबैका सहयोगी भगीरथ काका आफ्नो जग्गाजमिन त्यसै छोडेर धुलाबारीतिर लागे । अर्को दिन, वृहस्पति बाजेका छोरा र भाइ मोतीलाल जलथलतिर लागे । त्यसपछि अर्को दिन, सुब्बा बाजे आफन्त खोज्दै फेरि पाँचथरतिरै लागे । फेरि अर्को दिन, पञ्चनाथ झापाकै राजगढतिर बसाइँ सरे ।
त्यो गाउँ यसरी नै रित्तिँदै थियो ।

त्यहाँ पहिले केही पनि थिएन । बिस्तारै एकघर, दुईघर, तीनघर हुँदै एउटा गाउँ नै बन्यो - दामाटार ।
गाउँ त बन्यो तर बजार भएन । एकजनाले पसल खोल्यो । एउटा पसल, दुईटा पसल, तीनटा पसल हुँदै दामाटारमा एउटा बजार पनि बन्यो । गाउँ बजारमा परिणत भयो । दामाटारको रूपमात्र फेरिएन, नाम पनि फेरियो र बन्यो विजय बजार । दामाटारको नाममात्र फेरिएन, त्यहाँको काम पनि फेरियो ।

पहिलेको दामाटार सुन्दर थियो, अहिलेको विजयबजार कुरूप छ । दामाटार इमानदार थियो, विजयबजार बेइमान बन्दै गएको छ । दामाटार परोपकारी थियो, विजयबजार स्वार्थी बन्दै गएको छ । दामाटार नैतिक थियो, विजयबजार अनैतिक बन्दै गएको छ ।

दामाटार झापा जिल्लाको कुनै एउटा काल्पनिक गाउँ हो । पूर्व-पश्चिम राजमार्गबाट उत्तर दिशामा पर्ने पहाडको फेदीमा छ- दामाटार । हरिया सुपारी बगानले छपक्कै छोपेको छ दामाटारलाई । त्यसको पूर्वतिर मेची खोला छ । दामाटारबाट दक्षिणतिर केही गाउँ, केही सुपारी बगान र केही बाँसघारी कटेपछि पुगिन्छ नेपाल भारत पूर्वीनाका- काँकडभिट्टा भन्सार ।

विजयबजार बनेको दामाटारमा धेरै खालका चहलपहल सुरु भए । धर्म-अधर्म, नैतिक-अनैतिक, कानुनी-गैरकानुनी, सभ्य-असभ्य सबै खालका कर्महरूको थलो बन्न पुग्यो दामाटार । आफ्नै परि श्रममा बाँचेको दामाटार क्रमशः बदलिँदै गयो । दुःखी र इमानदारहरू गाउँ छोडेर भाग्न थाले, विकार र विकृतिका जडहरू बलिया बन्दै गए । हात्ती आतंकबाट पिल्सिएको दामाटार, त्यही हात्ती आतंकलाई नै आधार बनाएर गैरकानुनी धन्दाको एउटा केन्द्र बन्दै गयो ।

पीडामा बाँचेको थियो दामाटार । त्यही पीडामाथि टेकेर त्यहाँ पतनका अन्य धन्दा सुरु भए । पीडा र पतनका बीच दामाटारमा के के भयो, के के । त्यही दामाटारलाई ‘इति’ उपन्यासमा उतार्ने काम गरेकी छन् उपन्यासकार उमा सुवेदीले ।
स्वच्छ दामाटार भ्रष्टीकरणका क्रममा कसरी विजय बजारमा बदलियो भन्ने कुरालाई उपन्यासकै एउटा प्रसंगले छर्लंग पारेको छ । उपन्यासमा एक पात्र छन् - कर्णराज । उनी परोपकारी र समाजसेवी भावनाका छन् । सुनसान दामाटारलाई उनैले आवाद गराएका थिए । उनले विद्यालय स्थापना गर्न दुई बिगाहा जमिन दिए । विद्यालयको नाम नै कर्णराज माध्यमिक विद्यालय राखियो । पछिसम्म विद्यार्थी कर्णराजको नामलाई श्रद्धाभावका साथ लिन्थे । पछि दामाटारमा एउटा साहु देखापर्‌यो - भगवान् दास ।

उसले विद्यालयलाई २० लाख रुपैयाँ दियो । त्यसपछि विद्यालयको नाम नै फेरिएर भगवान दास माध्यमिक विद्यालय राखियो । विद्यालयको नाम फेरेको केही दिनपछि आफ्नै साझेदार साथीको अपहरणपछि हत्या गरेको आरोपमा भगवान दास पक्राउ पर्‌यो । ऊ जेल गयो । जेलभित्र रहे पनि अपराधको दुनियाँसँग उसको सम्पर्क कायमै रह्यो । विद्यालयको नाम पनि उसकै नममा रहिरह्यो ।

झापाको हात्ती आतंकका बारेमा समाचारमात्र सुन्दा पनि कतिको मन डराउने गर्छ । त्यो आतंक देख्ने र भोग्नेहरूको हालत के होला ? त्यही हात्ती आतंकका भुक्तभोगीहरूको पीडालाई उपन्यासमा उतार्ने काम उमा सुवेदीले गरेकी छन् । उपन्यासको मूल विषय हात्ती आतंक नै भए पनि त्यसैसँग जोडिएर प्रमुखरूपमै आएको छ सुपारी तस्करी र राजनीति ।


दामाटारको सबैभन्दा ठूलो सुपारी तस्कर हो - चिनी काका । जिल्लामात्र होइन, सीमापारिका कुख्यात मान्छेहरूसित पनि उसको उठबस छ । विभिन्न पार्टीका प्रभावशाली नेताहरूसँग सम्पर्क बढेपछि उसको तस्करीले राजनीतिक संरक्षणसमेत पाएको छ । एउटा पार्टीको त कोषाध्यक्षमै निर्वाचित भएको छ ऊ । अख्तियारको एकजना मुख्य मान्छेसँगसमेत उसको सम्बन्ध गाँसिइसकेको छ । हात्तीको चोरी सिकारीमा समेत ऊ लागेको छ । उसले मालपोत कर्मचारीको मिलोमतोमा मन्दिरको जग्गासमेत निजी बनाएको छ ।

जति गरे पनि दामाटारमा हात्ती आतंक रोकिएन । दुःख गरेर बालीनाली उमार्‌यो, हात्ती आएर नष्ट गरिदिन्छ । एक वर्ष होइन, दुई वर्ष होइन, हरेक वर्ष त्यस्तै । गाउँलेहरू कि त तस्करीमा लाग्नुपर्ने, कि त गाउँ नै छोडेर हिँड्नुपर्ने भयो । तस्करीमा लाग्न नचाहनेहरू एक-एक गरेर त्यहाँबाट हिँड्दै गए । तस्करीमा लाग्ने र हात्ती आतंकको नाममा देशी-विदेशी पैसा खान पल्केकाहरूको चहलपहल बढ्दै गयो । दामाटारमा विभिन्न कार्यालयका कर्मचारी, एनजीओ, आईएनजीओका अधिकारी, जिल्लास्तरीय नेता कार्यकर्ताको ओइरो लाग्न थाल्यो । रक्सी पसल, धराने कालो बंगुरको सेकुवा, सबै चीज पाइने भयो । साँझ नपर्दै मातेर झगडा गर्नेहरू बढ्दै गए ।

दामाटारमा बढ्दै गएको भ्रष्टताले मानिसको मनोवृत्तिलाई नै प्रभावित गर्‌यो । मान्छे-मान्छेबीचको सम्बन्ध पूरै व्यावसायिक बन्न पुग्यो । एउटाले कमाएको अर्कोले डाहा गर्ने र जेजसरी हुन्छ कमाउनेमा प्रतिस्पर्धा हुन थाल्यो । साइकल हुनेलाई मोटरसाइकल चाहियो, मोटरसाइकल हुनेलाई गाडी चाहियो ।

हात्ती आतंक, सुपारी तस्करी र राजनीति ! यस्तो ज्वलन्त विषयलाई लेखकहरूले अहिलेसम्म किन देख्न सकेनन् ? देख्नेहरूले किन लेख्न सकेनन् ? लेख्नेहरूले पनि यसलाई किन राम्रोसँग उजागर गर्न सकेनन् ? यस सन्दर्भमा उपन्यासकार उमा सुवेदीलाई धन्यवाद भन्नुपर्छ र बधाई पनि दिनुपर्छ; उनले एउटा गम्भीर समस्यालाई विषयवस्तु बनाएर सिंगो उपन्यास लेखिन् ।

उपन्यासले कतिपय सामाजिक चरित्रको अस्तित्वको अन्तसँग पनि चासो राखेको छ । समाजमा कतिपय यस्ता पात्र पनि छन् जो जान-अञ्जानमा अकल्पनीय संकटमा पर्छन्, बाध्यतामा पर्छन् र परिबन्धमा पर्छन्, धेरैपटक आत्मा मरेजस्तो ठान्छन्, धेरैपटक आफ्नो अस्तित्वको इति श्री भएजस्तो अनुभव गर्छन् । असल सोच, स्वच्छ चरित्र, निस्वार्थ कर्म, सहयोगी व्यवहार र सामाजिक सम्मानमा मानिसको अस्तित्वको खोजी गर्ने प्रयत्न पनि उपन्यासकारले गरेकी छन् । जोसुकैमा पनि बहिष्करणमा पर्नु र किनारामा रहनु पर्दाको पीडा अर्कै हुन्छ ।

त्यो पीडा नारीमा अझ बढी बिझ्ने खालको हुन्छ । त्यस्तो मनोदशालाई लिएर उपन्यासकार लेख्छिन्- 'मलाई यसरी सडक किनारामा अल्मलिएर उभिनु पर्दा मेरो समग्र अस्तित्व नै किनारा पारिएको अनुभूति भइरहेको थियो । त्यसैले म हीनताबोधले ग्रस्त भएकी थिएँ ।'

उपन्यासमा गाउँमा व्याप्त अन्धविश्वास र रुढीलाई पनि उतारिएको छ । बाँदर र ....................दोखको के सम्बन्ध छ ? कसैलाई पनि थाहा छैन । तर, अन्धविश्वासमा विश्वास गर्ने मानिस अर्थहीन कुरालाई पनि अर्थपूर्ण ठान्छन् । बाँदरको बलि दिएर हात्ती आतंकबाट मुक्त हुने अन्धविश्वासलाई उपन्यासकारले रोचक शैलीमा प्रस्तुत गरेकी छन् ।

कर्णराजको छोरो दीर्घराज कम्युनिस्ट बनेको प्रसंगसँगै उपन्यासकारले झापाली कम्युनिस्ट आन्दोलनको बारेमा केही गम्भीर सन्दर्भ उठाउन खोजेझैं पाठकलाई लाग्छ तर पढ्दै जाँदा उपन्यासको यो प्रसंग सत्यतथ्यमा आधारित लाग्दैन । उपन्यासको पृष्ठ ७ मा लेखिएको छ - 'दीर्घराजलाई ता सबै कम्निस्ट पो भन्छन् त...। रामनाथ दाहाल र रत्नकुमार बान्तवाहरूको पछिपछि हिँड्छन् अरे ।'

यहाँ उपन्यासकारले रामनाथ दाहाल र रत्नकुमार बान्तवालाई एकै ठाउँका समकालीन-सहयात्रीका रूपमा चित्रित गरेकी छन् तर यथार्थ त्यस्तो होइन । रामनाथ दाहाल र रत्नकुमार बान्तवा एकै ठाउँका समकालीन-सहयात्री हुनु त कता हो कता, दुईजनाका बीच चिनापर्चीसमेत थिएन । यी दुई कम्युनिस्टका बीच कहिल्यै भेट पनि भएन । जुन समयमा रामनाथ दाहालको हत्या भयो, त्यतिबेला रत्नकुमार बान्तवा कम्युनिस्ट बनिसकेकै थिएनन् ।

त्यस्तै, अर्को पंक्तिमा उपन्यासकार लेख्छिन्- 'केही समयपछि झापामा कम्युनिस्ट आन्दोलन सुरु भयो । रामनाथ दाहाल र रत्नकुमार बान्तवाहरू मारिए ।'

यो पंक्तित पढ्दा रामनाथ दाहाल र रत्नकुमार बान्तवाको हत्या एकै ठाउँमा, एकै समयमा भएको भन्ने अर्थ लाग्छ तर यथार्थ यो पनि फरक छ । रामनाथ दाहालको हत्या झापामा भएको हो भने रत्नकुमार बान्तवाको हत्या इलाममा भएको हो । रामनाथ दाहालको हत्या भएको सात वर्षपछि रत्नकुमार बान्तवाको हत्या भएको हो । इतिहासको यो यथार्थलाई उपन्यासमा अर्कै ढंगले प्रस्तुत गरिएको देखिन्छ ।

उपन्यास लेखनमा विभिन्न प्रयोगहरू हुँदै आएका छन् । उपन्यासमा केलाई प्रमुख मान्ने भन्ने कुरामा पनि विभिन्न प्रयोग भएका पाइन्छन् । कुनै बेला विषयवस्तु प्रमुख बन्यो र पात्र गौण बन्यो । कुनैबेला पात्र प्रमुख बन्यो भने कथानक गौण । १९ औं शताब्दीमा विषयवस्तु र कथानक प्रमुख मानिन्थे । २० औं शताब्दीमा चरित्र र दृष्टिविन्दु प्रमुख मानिए । २१ औं शताब्दीमा शैली प्रमुख बन्दै गएको हो कि जस्तो लाग्छ । यस सन्दर्भमा कतिपय लेखक आफूलाई प्रयोगशील देखाउन चाहन्छन् र नयाँ प्रयोगको हल्ला गर्छन् । उपन्यासकार उमा सुवेदी नयाँ प्रयोगका नाममा हल्ला मच्चाउने पक्षमा देखिन्नन् ।

भर्जिनिया उल्फ नारी र पुरुषले भिन्नाभिन्नै मनस्थितिमा लेख्ने भएकाले उपन्यासमा नारी र पुरुषको सोच र शब्द पनि फरक-फरक हुने धारणा राख्छिन् । तर, उमा सुवेदीको लेखनमा त्यस्तो पाइँदैन । यस उपन्यासमा उनी नारीवादी पनि लाग्दिनन् । उपन्यासमा धेरै चरित्र भएकाले पनि होला, नारी र पुरुष दुवै चरित्र कतै सबल र दुर्बलरूपमा प्रस्तुत भएका छन् । पात्रको चरित्र निर्माणमा पनि उपन्यासकार नारीवादी भएर प्रस्तुत भएजस्तो कतै पनि लाग्दैन ।

नारीवादी चिन्तनमा लागेकी एलेन सोवाल्टर अंग्रेजी उपन्यासको अध्ययन-अनुसन्धानपछि के निष्कर्षमा पुगिन् भने पुरुष लेखकले नारीका इतिहास र कृतिलाई उपेक्षा गरेका छन् । सोवाल्टरको यो निष्कर्षबाट नेपाली साहित्य पनि मुक्त छैन । तथापि उमा सुवेदीको 'इति' लाई त्यो प्रवृत्तिको सिकार बनाउने आँट कसैले गर्नेछैन ।

'तोदा' उपन्यासबाट चर्चामा आइसकेकी उमा सुवेदीको 'इति' अर्को पठनीय उपन्यास हो । उपन्यासको आरम्भ सामान्य लाग्न सक्छ तर अन्त्य मार्मिक छ ।

किताबः इति
लेखकः उमा सुवेदी
विधाः उपन्यास
मूल्यः रु. ३००÷-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.