ऐना

ऐना

वर्तमान भनेको वास्तवमा समय नै होइन । यो त एउटा लकिरमात्रै हो । सानो धर्को । सीमारेखा । जसले भूत र भविष्यलाई विभाजनमात्रै गरेको हुन्छ ।

मलाई ऐना हेर्ने बानी छैन । आक्कलझुक्कलका अवस्थाबाहेक । मेरा धेरै प्रियजन 'दाह्री कपाल मिलाऊ । चिटिक्क परेर हिँड' भनेर अर्ती दिन्छन् । यो ब्युटी-हाइजिनका मामलामा म कहिल्यै ठीक ठाममा भइनँ । 'मेरो दाह्रीको स्टाइल यो हो । मेरो कपाल कटाइ यो मार्काको हो । म यस्ता कपडा लगाउँछु । खानपिनको मापदण्ड यो हो ।' यस्तो निक्र्योल मलाई कहिल्यै आएन । कहिले लामो लामो जुल्फी पालेर हिँडियो । कहिले चिन्डेचैट भएर । साँच्चै 'लुक र लाइफ'को मामलामा ब्रान्डलेस ब्रान्ड हुँ म ।

तर पनि ऐना हो, अन्तरालमा हेरिरहन पर्छ । आज बुधबार ८ बजे उठेँ । अन्य दिनभन्दा फरक । एक वर्षयता बिहान ३ बजे उठ्ने दैनिकी थियो । तर, आज भंग भयो । मस्त सुतिदिएँ । बिस्तारामा घाम परेपछि उठेर ज्यान हल्का पारेँ । हातमुख पखालेर ऐना अघिल्तिर उभिएँ । आफ्नै अनुहारभन्दा मायालाग्दो के छ दुनियाँमा ? वर्ष दिनपछि घर फर्केको परदेशी लोग्नेको झैँ प्रेमालु स्पर्शले आफ्नै गाला मुसारेँ । कपाल मिलाएँ ।

चिउँडोमा दुई औंलाको टेको लगाएर टक्क हेरेँ । नाक उही थियो । आँखा बिल्कुल मेरै । मुस्कुराउँदा दाँत दुरुस्तै थिए । तर, एक चिज जे थियो त्यो उस्तै थिएन । कालोपोतो । देब्रे गालाको पुकुल्टोमा माल्दिभ्सको नक्साजसरी छरलिएको थियो कालोपोतो । 'ऐ बूढी हेर्नुस् त ? मेरो गालामा कालोपोतो छ त गाँठे ? ' छोरीको कपाल बाट्दै गरेकी म्याडम नताशा पराजुलीतिर मुन्टो फर्काएर अनुहारमा आएको परिवर्तनको सूचना दिएँ ।

'बल्ल देख्नुभो क्या हो ? सनसेभ लगाएर हिँड्नुभन्दा मान्ने होइन ।'
'अब बिहे गरिहालियो । किन राम्रो हुन पर्‌यो र ? '
'अर्काको लागि हो र राम्रो हुने ? '
०००
छोरी र म्याडम स्कुल हिँडेपछि हाउस हजबन्ड भैटोपलेको म एक्लै परिगएँ । तीन वर्षदेखि यसैगरी घरकुरुवा छु । गृहिणीको पुलिंगी के हुन्छ ? हो, त्यै भएको छु तीन वर्षदेखि । घरकुरुवा हुँदा प्राप्त हुने एकान्तलाई लेखपढमा प्रयोग गर्न पाइने लोभले छुँदाखाँदाको जागिर छोडेको थिएँ । यो तीन वर्षमध्येको पहिलो वर्ष रल्लिएर बित्यो । लगातार २० वर्ष काम गरेर अचानक फाल्तु बस्दा भयंकर अत्यास लाग्दो रहेछ ।

एउटा आकस्मिक शून्यबोधजस्तो । जस्तो कि कुनै प्रियजनको मृत्यु हुँदा अचानक शून्यको अनुभूति हुन्छ । त्यो शून्यलाई पूर्ति गर्न यति धेरै सिनेमा हेरेँ कि साँधी भएन । पछि सिनेमामा समय खर्चिन छोडेँ । किताब पढ्दा चाँडचाँडै पढ्न पाइन्थ्यो । तर तीनघन्टे सिनेमालाई चाँडचाँडै हेरेर एक घन्टामा भ्याउने कुरा हुन्थेन । आज रामलाल जोशीको 'ऐना' पढेँ । पहिला पनि आधी पढेर छोडेको हो । रामलाल पढेपछि नै यो शीर्षक फुरेको हो । यो आलेख शीर्षकले फुराएको हो ।

केटाकेटीमा एउटा कविता पढ्नुपथ्र्यो । विलियम वर्डस्वर्थको । आई वान्डर्ड लोन्ली याज द क्लाउड । ड्याफोडिल अर्थात् पहेँलो जातको नर्गिसको फूलको सुन्दरतामात्रै हेरेर बस्न पनि मान्छेको चोला कति छोटो छ ? स्वच्छन्दता र प्रकृतिप्रेमका लागि संसार प्रसिद्ध कवि वर्डस्वर्थको यो कविता मलाई अझै कण्ठ छ । तिनताकै यो कविता पढ्दा ड्याफोडिलको संस्करणमा म पोखराका हिमालहरू देख्थे । ड्याफोडिलसमान माछापुच्छ्रे र अन्नपूर्ण हेरेर बिहान बिताउँथे र आफैंलाई वर्डस्वर्थको अवतार ठान्थेँ । स्कुल हाप्थेँ र एक्लै विजयपुर खोलामा पौडी खेलेर चार बजाउँथे ।

कल्पना गर्थेँ माछाझैं दिनभर पौडेर बस्न पाए कस्तो हुन्थ्यो ! चराझैं फुर्र उड्न पाए कस्तो हुन्थ्यो ! खोलामा बग्गु खेल्दै खेल्दै गए कहाँ पुगिन्थ्यो होला ? फिलिङको फिलिंगो यसरी झिल्किन्थ्यो, घरबाट भागेर कतै जाऊँजाऊँ लाग्थ्यो । संसारको पल्लो छेउ । सायद त्योभन्दा पनि प...र ब्रह्माण्डको छेउकुनासम्म । मलाई मेरै संसार साँघुरो लाग्न थालेको थियो ।
तीन वर्षअघि मैले जागिर छोडेँ थोरै फराकिलो बाँचू भनेर । आफ्नै लगानी भएको विद्यालयमा पढाउँथे । सरकारी स्केलको दोब्बर तलब खान्थेँ । लोग्नेस्वास्नी दुवैको कमाइ जोड्दा राम्रै हुन्थ्यो ।

एक दिन अचानक मलाई अनुभूत भयो, म हिँड्ने बाटै होइन यो । म जहाँ पुग्न चाहन्छु, त्यहाँ पुर्‌याउने हाइवे अर्कै छ । अनि छोडिदिएको थिएँ जागिरसागिर ।

दराजभरि आधी तलब सकेर किनेका किताब थिए । तिनलाई पढ्नु थियो । कति दुःखले खोजखाज पारेर जम्मा गरेका फिल्मका सीडीहरू थिए । तिनलाई हेर्नु थियो । अरू त अरू भइहाले, आफ्नै आमासँग दिनभरि गफिएर बस्न नपाएको कति भएको थियो । अविश्वास र गलतफहमीका कारणले बोलचालै बन्द भएका आफन्त र मित्रहरू थिए, तिनीहरूसँग माफी माग्नु थियो । तमासले दिनभर हेरेर नबसेको फेवाताल थियो । घाम डुबुन्जेल पौडेरै बस्ने रहर भएको बेगनास थियो । फोटो खिचेरै मन नभरिने मुस्ताङ थियो । पहाडका पत्रपत्र थिए जहाँ मेरा पैताला पुगेका थिएनन् । गोजेरोसम्म भरिएका कतिकति भन्न मन लागेका कुरा थिए । लेख्न मन लागेका कुरा थिए । भन्नु थियो, लेख्नु थियो ।

र्‌याफ्टिङ गएकै थिइनँ । बन्जी जम्प हानेकै थिइनँ । थोरङ्ला क्रस गरेकै थिइनँ । मन भरिने गरी प्याराग्लाइडिङ वा अल्ट्रालाइटमा उडेर पोखरा हेरेकै थिइनँ । स्काई डाइभिङ गर्दै आइकरसको अवतारमा आफूलाई उतारेकै थिइनँ । आइकरसझैं बरु कुनै गहिरो पानीमा छप्ल्याङ भैजाऊँ र डुबी मरूँ ! केटाकेटीदेखि पढ्दै आएको सगरमाथाको फेदीको हिउँ छोएकै थिइन । अहो, म कति धेरै काम छोडेर जागिर खाँदै थिएँ ! कति धेरै रहर बन्धक बनाएर सुक्खासुक्खा बाँच्दै थिएँ ! मैले जुन खुसीका निम्ति पैसा कमाउँदै थिएँ, तिनै खुसीलाई दिनुपर्ने समय बेचेर पैसा कमाउँदै थिएँ । म विडम्बना बाँच्दै थिएँ ।

जागिर छोड्नु सजिलो काम होइन । त्योभन्दा पनि असजिलो काम हो, जागिर छोडेर पनि बाँचिरहन सक्नु । तथापि तीन वर्षअघि चैतमा मैले निर्णय गरेँ— म जागिर खान्नँ । म व्यवसाय गर्दिनँ । म उद्योग चलाउन्नँ । बरु उस्तै परे दिनभरि सुतेर बस्दिन्छु तर म त्यस्तो कुनै काम गर्दिनँ जसको उद्देश्य पैसा कमाउनु हुन्छ । मान्छेको जात जागिर खानमात्रै जन्मेको त होइन नि ! जिन्दगी पैसा कमाउनमात्रै बनेको त होइन नि !

साँच्चै जीवन कति छोटो छ ? मन परेका सिनेमा हेरेर बस्दाबस्दै जिन्दगी सकिन्छ तर सिनेमा सकिन्नन् । किताब पढेर बस्दाबस्दै उमेर सकिन्छ तर किताब सकिन्नन् । घुम्दाघुम्दै समय सकिन्छ तर ठाउँ सकिन्नन् । हिँड्दाहिँड्दा गन्तव्य सकिन्छन् तर बाटो सकिन्नन् । सुन्दासुन्दै कानको श्रवणशक्ति सकिएला, हेर्दाहेर्दै आँखाको ज्योति सकिएला तर न सुन्नुपर्ने संगीतको धुन सकिन्छ, न हेर्नुपर्ने कलाको सौन्दर्य । यहाँ सकिनका लागि हाम्रो आयुमात्रै हुँदो रहेछ ।

हामी हरबखत दौडेको दौड्यै गर्छौ तर पनि कहीँ कतै पुग्दैनौं । जिन्दगी अर्थात् रहरदेखि भागेर पुग्ने ठाउँ पनि कतै हुँदैन रहेछ । मर्ने बेला बुढेसकालमा हिसाब गर्छौं, जिन्दगी त गर्नुपर्नेभन्दा नगर्नुपर्ने वा नगरे पनि हुने काम गरेरै सकिएको रहेछ । आफूले जिन्दगीभर गरेको कामलाई अर्थहीन देखेर मर्नुभन्दा पीडादायी मरण के हुनसक्छ ? म कमभन्दा कम पीडादायी जिन्दगी बाँच्न चाहन्छु । म बाँकी जीवन धेरैभन्दा धेरै हेरेर, सुनेर, पढेर र अनि लेखेर बाँच्न चाहन्छु ।

०००
साँझपख फेरि ऐना हेरेँ । आफैंलाई सोधेँ, 'म ऐनामा कसलाई हेर्छु ? '
खासमा म त ऐनामा एउटा तुलना हेर्दो रहेछु । कहिले त्यो तुलना आफ्नै विगतको रूपसँग हुँदो रहेछ, कहिले आगतको अनुमानसँग हुँदो रहेछ । कहिले भने त्यो तुलना अरू धेरै मान्छेसँग हुँदो रहेछ । ऐना हेरिरहँदा कपाल, रङ, दाह्री, रेखा, मुस्कुराहट आदिका बान्कीहरू आफ्नो होइन अरूकै देखिँदो रहेछ ।

ऐनामा एउटा तुलना हेर्ने मात्रै होइन, आजको मान्छेले आफ्नो पूरै जिन्दगी तुलना बाँच्न थालेको छ । फलानाको भन्दा मेरो घर कस्तो ? व्यवसाय कस्तो ? कमाइ कस्तो ? लवाइखवाइ कस्तो ? सोच कस्तो ? शैली कस्तो ? लेखाइ कस्तो ? उफ ! हामी अर्काको आडमा आफ्नो परिचय निर्माण गरिरहेका हुन्छौं ।
भो ऐना हेर्दिनँ । जुन ऐनाले मलाई होइन अरूलाई देखाउँछ त्यो किन हेरूँ ?
०००
ऐनाबाट अनुहार हटाए पनि अनुहारबाट कालोपोतो हटेको थिएन । मेरो अनुहारमा परिवर्तन आइसकेको थियो ः कालोपोतो । म आफ्नै परिवर्तन देखेर आश्चर्यचकित भएँ ।
यो आश्चर्य भन्ने पनि अजीव अनुभूति हो । अल्लि पहिले एउटा साथी भेट भएथ्यो, रामबाबु बस्ताकोटी । धेरै वर्षपछि । स्कुले साथी ।
'अरे तँ त पूरै चेन्ज भइछस् ? ' मैले आश्चर्य जनाएँ ।
'अरे तँ त जस्ताको तस्तै छस् त ? ' उसले पनि आश्चर्य जनायो ।

खासमा आश्चर्यबोधको परिवर्तनसँग कुनै सम्बन्ध छैन । म उसको रूपरंग परिवर्तन भएको देखेर आश्चर्यमा परेँ । ऊ मेरो रूपरंग परिवर्तन नभएको देखेर आश्चर्यमा पर्‌यो । मान्छे परिवर्तन देखे पनि आश्चर्यचकित हुन्छ नदेखे पनि ।
हो, म ऐनामा थिएँ । ऐनाबाट मुन्टो बटारेर आश्चर्य-दर्शनमा घोत्लिएपछि मनमा उठ्यो— परिवर्तन के हो ? उत्तरमा 'एउटै नदीमा दुईपल्ट डुबुल्की लाउनु असम्भव छ' हेराक्लिटसले भनेको पुरानो वाक्य सम्झिएँ । अझ थपेर सम्झेँ: परिवर्तनबाहेक अपरिवर्तनशील अरू केही छैन ।

परिवर्तनलाई सत्य मान्ने काम हाम्रैतिरको बुद्धले पनि गरेकै हुन् । ध्यानको मुख्य सार नै वर्तमानमा अवस्थित हुनु हो । हामीभन्दा एक मिलिसेकेन्ड वा त्योभन्दा पनि कम समय अगाडिको समय भूतकाल हो । त्यत्तिकै पछाडिको समय भविष्यकाल हो । अर्थात् वर्तमान भनेको वास्तवमा समय नै होइन । यो त एउटा लकिरमात्रै हो । सानो धर्को । सीमारेखा । जसले भूत र भविष्यलाई विभाजनमात्रै गरेको हुन्छ । जमिनको दुनियाँमा सीमारेखाको न भूगोल हुन्छ न राष्ट्रियता । वर्तमान पनि त्यस्तै हो समयको दुनियाँमा ।

बुद्ध भन्छ— वर्तमानमा बाँच । अब यो हुँदै नहुने, हुँदै नभएको समयमा कसरी बाँच्ने ? तर बुद्ध थप्छ— वर्तमानमात्रै यस्तो ठाउँ हो जहाँ संसारका सब थोक रोकिन्छन् । स्थिर हुन्छन् । किनकि परिवर्तनले 'समयको अवधि' डिमान्ड गर्छ । एक अवस्थाबाट अर्को अवस्थामा गुज्रने अवधि । वर्तमानमा त्यस्तो अवधिको सुविधा हुँदैन । 'ध्यानीहरू ध्यान मुद्रामै हजारौं वर्ष बाँचिरहन सक्छन्' भन्ने पूर्वीय मान्यताको जड यही हो । त्यहाँ ध्यानीका लागि सायद समय रोकिन्छ । ध्यानीहरू सदैव वर्तमानमा मात्रै भइदिन्छन् ।

त्यही बुद्धले थपेर भन्यो, 'संसार दुःखपूर्ण छ ।' यो वाक्य मैले कहिल्यै पचाउन सकिनँ । मैले सदैव घोरिएर सोच्ने विषय नै यही भएको छ अचेल । संसार दुःखपूर्ण कसरी छ ? दुःख हुनु भनेको के हुनु हो ? अथवा दुःख हुनु भनेको के नहुनु हो ?
तर पनि दुःख त छ । दुख्ने काम नै दुःख हो । चाहे त्यो मन होस् या तन । तर, तन र मनबाहेक पनि अस्तित्वका अन्य आयाम छन् । मस्तिष्क छ । चेतना छ । ज्ञान छ । अनुभव छ । ऊर्जा छ । स्वयं बुद्ध दर्शनले व्याख्या गरेको शून्य छ । के ती पनि दुख्छन् ?

'दुःख वा सुख मान्छेका क्रियात्मक अवस्था हुन् ।' मेरै दिमागभित्रबाट एउटा बोल्यो । क्रियात्मक अवस्था अर्थात् काम । अनि सोच्छु हामीले रमाइलो भन्ने गरेका सुख साँच्चै सुख हुन् त ? खेल्नु, पढ्नु, खानु, पिउनु, घुम्नु, सेक्स गर्नु यी सुख हुन्थे भने नखेल्नु, नपढ्नु, नपिउनु, सेक्स नगर्नु सब दुःख हुनुपर्ने ।

तर, हामी जे कारणले दुःखी भइरहेका छौं त्यो सब नखेल्नु, नपिउनु, नखेल्नु होइन । सायद अर्कै छ । मान्छेको सभ्यताले दुःख बिर्सन यति धेरै प्रपञ्चको आविष्कार गर्‌यो कि मान्छेले दुःखको कारणै बिर्सन थालिसक्यो । तर कारण नहुँदैमा दुःख नहुने होइन । जस्तो कि मृत्युको कारण थाहा नहुँदैमा मृत्यु रोकिने गर्दैन ।

एउटा भन्छ, दुःख नै सत्य हो । अर्को भन्छ, परिवर्तन नै सत्य हो । गणितको समान्य फर्मुला हुन्थ्यो भने बराबरी तथ्य लगाएर भन्न सकिन्थ्यो । दुःख नै परिवर्तन हो । परिवर्तन नै दुःख हो ।
उसो भए मान्छे किन परिवर्तन चाहन्छ ? थप दुःख पाउन ?

हेर्छु संसारका हरेक थोक चलिरहेका छन् । हावा र पानी चलेका छन् । आकाशमा अनेकन् पिण्ड तमासले दौडिरहेका छन् । सबथोक दौडिएका छन् इलेक्ट्रोनदेखि पृथ्वीसम्म । वैज्ञानिकहरू भन्छन्, यो ब्रह्माण्ड नै दौडिरहेछ (फैलनु पनि दौडनु त हो नि आखिर !) यो परिवर्तन अर्थात् चेन्ज हो या स्थान्तरण अर्थात् डिस्प्लेस्मन्ट हो भन्न सकिन्न । परिवर्तन आन्तरिक फेरबदल हो कि स्थान्तरण अर्थात् पोजिसनल फेरबदल ? हेराक्लिटसले दिएको खोलाको उदाहरण डिस्प्लेसमन्ट हो कि चेन्ज ?

पदार्थको सानो अंश परमाणुदेखि ठूलो अंश आकाशीय पिण्डहरू गोल गोल छन् । पृथ्वी पनि घुमिरहेकै छ । एउटा वृत्तमा दौडिरहेको खेलौना ट्रेनजस्तै । संसारका हरेक कुरा दौडेको देख्छु म, गोलाकार घेरोमा । के यो परिवर्तन हो ? गम्छु, परिवर्तन समय र वस्तुको सापेक्ष हुन्छ । तर, सारा विश्व बह्माण्डलाई नै एक मानेर सोचौं त ! संसारमा जब 'एउटा'मात्रै चिज बाँकी हुन्छ । के त्यहाँ परिवर्तन हुन्छ ? के त्यहाँ ऐना चाहिन्छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.