डाँडैडाँडा सन्दकपुर (फोटोफिचर)

डाँडैडाँडा सन्दकपुर (फोटोफिचर)

शरद यामको पारिलो दिन पाँचथर सिलौटी डाँडा तुवाँलो फाटेर छ्यांग भएको थियो । वरिपरिका पौवाभन्ज्याङ, लोब्रेकुटी, सुकेपोखरी, चिवाभन्ज्याङ डाँडाहरू त्यहीँ मायालु मौसमको सप्को ओढेर हिस्सी परेजस्ता देखिन्थे । परपर पत्रपत्र परेका पहाडी तरेलीहरूको पृष्ठभूमिमा कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमशृंखला मुस्कुराइरहेका थिए । हिमाली सौन्दर्यले सिलौटीदेखि-सन्दकपुरसम्म जान भनी हिँडेका हामीलाई ऊर्जा थपिदियो ।

१६ औं राष्ट्रिय विभूति (किराँती धर्म गुरु) फाल्गुनन्दको तपोभूमि एवं समाधिस्थल सिलौटी डाँडामा पुग्दा मन हर्षित थियो । फाल्गुनन्द गुरुको यो तपोभूमि ढोगेर हामी अगाडि बढ्यौं । सिलौटीदेखि-सन्दकपुरसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गर्ने उद्देश्य त छँदैथियो । पाँचथरका सभासद् अइन्द्रसुन्दर नेम्बाङको नेतृत्वमा कवि उपेन्द्र सुब्बा, विरु बनेम (स्वामी), रवि शेर्मा, रोशन आम्बुहाङ, विशाल लिम्बूलगायत दर्जन बढी सहयात्रारत थियौं ।

०००

'पाँचथर जिल्लाको प्राकृतिक तथा जैविक विविधता यहाँको संस्कृति एवं जीवन धान्ने प्रणालीसँग मिल्दोजुल्दो छ । त्यसैले यहाँको विकास भनेको पर्यटन नै हो । यही सोचले म केही योजनासहित पाँचथरमा काम गर्दैछु ।' साइतका बेला सांसदज्यू यो भनाइ उत्साह थप्न पर्याप्त थियो ।

यही सम्भावनाको पोको बोकेर हामी पौवाभन्ज्याङ, सुकेपोखरीको बाटो हुँदै डाँडैडाँडा यात्रा अगाडि बढायौं । पहाडको उचाइबाट जता हेरे पनि उही असरल्ल परेका हरियालीयुक्त डाँडाहरू नै देखिन्थे । अग्लाअग्ला डाँडा उक्लिनु र ओर्लिनु हाम्रो दायित्व बनेको थियो । गुराँस, कटुस, मालिंगो, निगालो र खस्रुको भव्य जंगल हिँड्दा शान्तिपूर्ण शुभ्रताले मन प्रफुल्ल हुन्थ्यो ।

जति हिँड्यो उति सन्दकपुर पुने सुखको कल्पनाले यात्रालाई रोमाञ्चक बनाइरह्यो । ठूला डाँडामा पुग्दा त्यहाँको हरियालीयुक्त चमक र प्राकृतिक भव्यताले हामी सबैलाई हर्षित र आल्हादित तुल्याउँथ्यो । सबै खुसीको फसलमा बुर्कुसी माथ्र्यौं ।

यो वन क्षेत्र विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डाको सुरक्षित बासस्थान पनि रहेछ । यस सेरोफेरोमा रेडपाण्डा संरक्षणका लागि भनी विभिन्न देशी-विदेशी परियोजनाहरू सञ्चालन गरिएको रहेछ । यो योजनाले पनि यस क्षेत्रको साख बढाएको हामीले त्यहाँपुग्दा महसुस गर्‌र्यौं ।

०००

यात्राको पहिलो बास इलामको अधिकारीबासमा भयो । यस गाउँ पातलो लिम्बू बस्तीमा फैलिएको अनुपम प्राकृतिक वातावरण र जैविक विविधतायुक्त पर्यटकीय स्रोतले उपयुक्त रहेछ । हातेकागजका लागि उपयुक्त कच्चापदार्थ लोकताको पकेट क्षेत्रका रूपमा पनि यस गाउँ चिनिँदो रहेछ ।

भोलिपल्ट बिखेभन्ज्याङ, थामखर्क, होमडाँडा हुँदै गोरुवाल भन्ज्याङ बास बस्न पुग्यौं । यो ठाउँ इलाम र पाँचथरको सीमावर्ती बजार क्षेत्र रहेछ । ८/१० घरधुरीमा फैलिएको बस्ती भोलिको महत्त्वपूर्ण पर्यटकीय बजार लाग्थ्यो हामीलाई । केही खोचमा भए पनि यहाँ मानिसको बाक्लै चहलपहल देखिन्थ्यो । यो सन्दकपुरको प्रवेशद्वार पनि रहेछ । यस वरपरका जंगलहरू जैविक विविधतायुक्त लाग्यो । आधा दर्जन ठूला र विशेष प्रकारका पर्यटकीय प्रभाव पार्न सक्ने ताल-तलैयाहरू यहाँ लुकिबसेका देखिए ।

०००

सन्दकपुर (तीन हजार ६ सय ३६ मिटर) पुग्दा त्यहाँको दृश्य मोहिनी आवृत्तिमा फैलिएको थियो । भर्खरै बिदा भएको रोमाञ्चक गोधूलि रङ सन्दकपुर डाँडाभरि पोतिएको थियो । उत्तर दिशाबाट बगिआउने चिसो बतासले मनमा रोमाञ्चकता थपेको थियो । त्यहीँ चिसो मौसममा साँझपख खुला आकाशमुनि 'फायर क्याम्प' गर्दा यात्राको थकान पूरै हरायो ।
बिहान उठ्दा इलाम र भारतको दार्जिलिङसँग सीमा गाँसिएको सन्दकपुर डाँडा धपक्क बलेको थियो ।

नजिकै जस्तो देखिने जौबारी, छिन्टापु, मावुथाम, कालपोखरी, फलाटे, पाँचथर, तेह्थुम र ताप्लेजुङका पहाडी गाउँबस्ती हातले स्पर्श गरौंगरौंझैं गरी नजिकै उभिएका थिए । कलिलो घामको रेखाले उत्तरतर्फका हिमालहरू सफा र सिनित्त देखिन्थे । डाँडाभरि हिमाल हेर्ने र सूर्योदय खिच्ने पर्यटकको ठूलो लर्को थियो । हातहातका क्यामेरालाई फोटा खिच्न भ्याइनभ्याइ थियो । साँच्ची सन्दकपुरको बिहान बेफुर्सदिलो जस्तो देखिन्थ्यो । बेग्लै छनक र रौनकतामा सन्दकपुर अग्लिएको थियो । हामी त्यहीँभित्र चुपचाप हराएका थियौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.