आमा प्रेमी भेट्न गएपछि २३ महिने बालकको खान नपाएर मृत्यु
एजेन्सीः बालबालिकाको जीवनमा आमाको महत्व अति नै हुन्छ । त्यसैले त मानिस आमालाई धेरै सम्मान गर्छन् । तर, यूक्रेनमा आमा प्रेमी भेट्न गएपछि खान नपाएर एक २३ महिने बालकको मृत्यु भएको छ ।
प्रेमी भेट्न पुगेकी आमाले घरमा छोराछोरी छोडेको बिर्सिएपछि नौ दिनसम्म खान नपाएर २३ महिनाको बालकको मृत्यु भएको बिबिसीले जनाएको छ । २० वर्षकी आमाले झण्डै तीन वर्षकी छोरी र २३ महिने छोरालाई नौ दिनसम्म खाना बिना फ्याटमा छाडेपछि बालकको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।
खान नपाएर भाइको मृत्यु भएपछि झण्डै तीन वर्षकी दिदी आन्या भाइको शव लिएर तीन दिनसम्म फ्ल्याटमा एक्लै बसेकी थिइन् । बच्चाकी आमा ब्लादिस्लावा पोदचाप्को छोराछोरीलाई घरमा छोडेर आफ्नो प्रेमीको घरमा गएको उनलाई नजिकबाट चिन्ने आफन्तलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ ।
यो खबर बाहिर आएपछि यूक्रेनमा सामाजिक संजालमा हंगामा मच्चिएपछि राष्ट्रपतिका सल्लाहकार माइकोला कुलेबाले फेसबुकमा यो घटनाबारे जानकारी दिएका छन् ।
नौ दिनसम्म खान नपाएकी छोरी आन्याको अहिले आइसियूमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार उनी फ्ल्याटमा बेहोस भेटिएकी थिइन् ।
माइकोला कुलेबाका अनुसार पोदचाप्कोले बच्चाको लागि केही चकलेट मात्र राखिदिएकी थिइन् । आमाले धेरैदिनसम्म छोडेर गएपछि बच्चाले बाहिर निस्कन कोसिस गरेका थिए । तर सफल भएनन् । प्रहरी अनुसन्धानबाट पोदचाप्कोले आफ्नो प्रेमी नै पति भएको बताएकी छिन् । यी दुई बच्चाको पिता पनि उनी नै भएको प्रहरीको अनुमान छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।