बानेश्वरको तरकारी बजारमा डोजर लगाएर भत्काइयो, पाँच करोडको क्षति
काठमाडौंः बानेश्वरमा करिब १४ बर्षदेखि सञ्चालन हुँदै आएको उपत्यका ताजा तरकारी तथा फलफूल थोक बजार शनिबार प्रहरीले भत्काएको छ । नागरिक लगानी कोषको जग्गा भाडामा लिएर सञ्चालन हुँदै आएको उक्त बजार कोषले नै प्रहरीको सहयोगमा भत्काएको हो ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार प्रहरीले तीनवटा डोजरको सहयोगमा उक्त बजार भत्काएको थियो । बजार भत्किएपछि करिब पाँच करोड मूल्य बराबरको तरकारी, फलफूल र भौतिक पूर्वाधार नष्ट भएका छन् । बजार भत्काएको विरोधमा व्यवसायीले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वी क्षेत्रको सडकमा तरकारी र फलफूल फालेर सडक अवरुद्ध गर्दै बिरोध जनाएका थिए ।
कोषसँग करिब १२ लाख ५० हजार मासिक भाडा तिर्ने गरी व्यवसायीले केन्द्र पछाडिको जग्गामा तरकारी तथा फलफूलको बजार सञ्चालन गर्दैआएका थिए । बजारमा दुई सय ५० जना व्यवसायीले तरकारी तथा फलफूल बिक्री गर्दै आएका थिए ।
बैकल्पिक व्यवस्थापन गर्न नपाउँदै कोषले बजार भत्काउन लगाएको तरकारी बजारका अध्यक्ष भर्तबहादुर लावतीले आरोप लगाए । ‘हामी वैकल्पिक व्यवस्था गर्न नपाउदै सुरक्षाकर्मीको सहयोगमा बजार भत्काइयो’, लावतीले भने । उक्त बजारमा कालिमाटी बजारसँगै धादिङ्ग, काभे्र र भक्तपुरबाट ल्याइने दैनिक करिब डेढ सय मेट्रिक टन तरकारी र फलफूलको कारोबार हुन्थ्यो ।
कोषले बजार सञ्चालन भइरहेको क्षेत्रमा कार्यालय निर्माण गर्न जग्गा खाली गर्न लगाएको हो । कार्यालयको भौतिक पूर्वाधार निर्माण गर्न कोषले यसअघि पटक पटक जग्गा खाली गर्न आग्रह गरेपनि व्यवसायीले अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा बजार भत्काएको जनाएको छ ।
महासंघले पाटनस्थित उच्च अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा बल प्रयोग गरी भत्काइएको प्रति विरोध जनाउदै पुस दो श्रो सातादेखि देशभरको तरकारी बजार बन्द गरी आन्दोलनमा जाने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष घिमिरेले भने, ‘हामी कोषको विरोध गर्नुभन्दा समग्र रुपमा सरकारको विरोध गरेका छौं । कृषि प्रधानमुलुक भन्ने सरकारले हालसम्म कृषि बजार व्यवस्थित गर्न कृषि बजार ऐन र नीति ल्याउन नसक्नु लाजमर्दो भयो ।’ उनका अनुसार सरकारले हालसम्म कृषि सम्बन्धी बजारको पनि व्यवस्थापन गर्न सकेको छैन् ।