भारु प्रतिबन्धले घटे भारतीय पर्यटक

भारु प्रतिबन्धले घटे भारतीय पर्यटक

काठमाडौं: विगतमा यो मौसमा नेपालका होटेल भारतीय पर्यटकले भरिभराउ हुन्थे । तराईदेखि मुक्तिनाथ मन्दिरसम्म होटेलमा भारतीय पर्यटककै बाहुल्य हुन्थ्यो । मिनी र ठूला क्यासिनोमा पनि प्रशस्तै भारतीय पर्यटक भेटिन्थे । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय हुने गर्छन् । तर, अहिले भारतीय पर्यटक मुस्किलले देख्न पाइन्छ । भारतले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि भारतीय स्वात्तै घटेका हुन् ।

भारतको निर्णयपछि नेपालमा पनि भारु कारोबारमा प्रतिबन्ध लगाइयो । भारुमा लगाएको प्रतिबन्धले नेपालका होटेल र क्यासिनो प्रत्येक्ष मारमा परेका छन् । नेपाल भ्रमणमा आउने धेरैजसो भारतीय पर्यटकले भारु बोकेका हुन्छन् । एजेन्सीमार्फत पनि भारतबाट पर्यटक आउँछन् तर त्यो संख्या अत्यन्तै कम हुन्छ । एजेन्सीमार्फत आउने पर्यटकले उतै पैसा तिर्छन् । माथिल्लो दर्जाका भारतीय क्रेडिट कार्ड बोकेर पनि घुमफिरमा आउँछन् ।

नेपालमा धार्मिक तथा पारिवारिक भ्रमणमा आउने भारतीय धेरै हुन्छन् । उनीहरू नगदै बोकेर आउने गर्छन् । नेपालमा क्रेडिट कार्ड बोकेर घुमफिर गर्ने भारतीय निकै कम हुने गरेको पर्यटन व्यवसायी बताउँछन् । आफूसँग भएको नोट नचल्ने भएपछि भारतीय घुमफिरमा आउन छाडेको होटेल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्य बताउँछन् । यतिबेला आफूसँग भएको नोट साट्न बैंकमा भारतीय नागरिक भीड लगाइरहेको देखिन्छ । उनीहरूले होटेल बुकिङ धमाधम रद्द गरिरहेको उनको भनाइ छ ।

तराई भेगमा भारुको खुलेआम कारोबार हुन्छ । तराईमा खुलेका होटेल पनि भारतीय पर्यटकलाई लक्षित हुन् । त्यहाँ खुलेका क्यासिनोमा भारतीय आउँछन् । भारु प्रतिबन्धको असर तराई भेगका होटेलमा सबैभन्दा ठूलो परेको सिद्धार्थ होटेल एसोसियसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले भैरहवा-लुम्बिनी क्षेत्रमा भारतीय पर्यटकबाट हुने होटेल बुकिङ ९० प्रतिशतले घटेको छ ।

खासगरी तराईका झापा, विराटनगर, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, नेपालगन्ज, कोहलपुर, बर्दिया, धनगढी, सुक्लाफाँटालगायतका होटेल सुनसान छन् जहाँ यअसघि भारतीय पर्यटकको घुइँचो लाग्ने गथ्र्यो । उल्लेखित ठाउँमा भारतीय पर्यटकलाई लक्षित गरेर ठूलाठूला तारे होटेल निर्माण भइरहेका छन् । भारु प्रतिबन्धले काठमाडौं, पोखरा, जोमसोमलगायतका ठाउँमा सञ्चालित होटेल पनि उत्तिकै प्रभावित छन् । गएको वर्ष भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले नेपाली पर्यटन उद्योग सुस्ताएको थियो । विस्तारै जुरमुराउन लागेको बेलामा गरिएको भारु प्रतिबन्धले थप असर पार्‌यो ।

सन् २०१७ मा सात लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यसमेत धरापमा परेको छ । यो समय नेपालमा भारतीय पर्यटक आगमन बढ्ने समय थियो । भूकम्प, नाकाबन्दीका कारण थलिएको होटेल व्यवसायमा पुनः भारु असर देखिन थालेको श्रेष्ठ बताउँछन् । नेपाल भित्रिने पर्यटकमध्ये झन्डै एक तिहाइ भारतीय हुने गर्छन् । 'अहिले युरोपेली र अमेरिकी पर्यटकको सिजन सकिएको छ । भारतीय पर्यटक आउने सिजनमा भारु प्रतिबन्ध भयो', उनी थप्छन्, 'पर्यटन उद्योग सुस्ताउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।'

-भारुमा लगाएको प्रतिबन्धले नेपालका होटेल र क्यासिनो प्रत्येक्ष मारमा परेका छन् ।
-नेपालमा धार्मिक तथा पारिवारिक भ्रमणमा आउने भारतीय धेरै हुन्छन् । उनीहरू नगदै बोकेर आउने गर्छन् ।
-अहिले पोखरामा भारतीय पर्यटक आगमन १५ प्रतिशतमा खुम्चिएको छ ।
-काठमाडौं र पोखरापछि सौराहा तेस्रो पर्यटकीय गन्तव्यका रूपमा हेरिँदै आएको छ । सौराहामा भारत, चीन, मध्यपूर्व, युरोप, अमेरिकाका पर्यटक आउने गर्छन् ।

नेपालमा एक हजारभन्दा बढी पर्यटकीय होटेल सञ्चालनमा छन् । यसैपनि सञ्चालनमा रहेका होटेल आधा खाली हुन्छन् । भारु प्रतिबन्धले नेपालको समग्र होटेलमा अकुपेन्सी ५० प्रतिशतले घटेको हानका अध्यक्ष शाक्य बताउँछन् । नेपालमा होटेलसँगै ट्राभल व्यवसायमा समेत असर परेको छ । यो असर अझै लामो समय रहने व्यावसायिको ठहर छ ।

भारु प्रतिबन्धले भारतीय नागरिकमा मनोवैज्ञानिक असर पर्दा घुमफिरमा निस्कन छाडेको हानका महासचिव विनायक शाहको बुझाइ छ । 'नेपालमा आउने धेरै भारतीय नोट बोकेर आउँथे, नोटमा प्रतिबन्ध लागेपछि क्रेडिट कार्डबाट पनि कारोबार हुन्थ्यो', उनी भन्छन्, 'तर अधिकांश भारतीयलाई घरमा भएको नोट साट्ने पिरलो देखिन्छ, उनीहरू मानसिक तनावमा छन् ।' यद्यपि, नेपालमा पारिवारिक भ्रमण र धर्मकर्ममा आउनेहरू धेरै हुन्छन्, उनीहरू नोट नै बोक्न सहज ठान्छन् ।

कतिपय भारतीय नयाँ पाँच सय र दुई हजारको नोट बोकेर आउन थालिसकेका छन् । तर, नेपाल राष्ट्र बैंकले कारोबार नगर्न उर्दी जारी गरेको छ । नयाँ नोट बोकेर आउने भारतीय पनि अप्ठ्यारोमा परेको हान अध्यक्ष शाक्य बताउँछन् । 'नयाँ भारु नोट प्रचलनका विषयमा राष्ट्र बैंकले सोच्नुपर्ने अवस्था आएको छ', उनी थप्छन् । चिया पसलदेखि तारे होटेलसम्म खुलेआम भारु नोटको प्रयोग हुँदा अहिलेको अवस्था सिर्जना भएको उनको बुझाइ छ ।

भारु प्रतिबन्धको असर ठूला होटेल र सीमा क्षेत्रमा सञ्चालित होटेलमा बढी देखिएको व्यवसायी बताउँछन् । तारे होटेलमा सञ्चालित क्यासिनो पनि प्रत्येक्ष मारमा परेका छन् । क्यासिनोमा नेपाली प्रवेश प्रतिबन्ध छ । युरोप तथा अमेरिकी पर्यटकले मात्र क्यासिनो धानिने अवस्था छैन । प्रमुख ग्राहक भारतीय पर्यटक घटेपछि क्यासिनोको व्यापारमा असर देखिसकेको छ । भारतमा अवैधानिक रूपमा कमाएको पैसा नेपालको क्यासिनोसम्म आइपुग्थ्यो । भारु प्रतिबन्धले पाँच सय र हजारको अवैधानिक नोट कागजको खोस्टासरी बनेको छ ।

भैरहवा-लुम्बिनी

भैरहवा तथा लुम्बिनी क्षेत्रमा दर्जनौं तारे होटेल सञ्चालनमा छन् । उत्तिकै संख्यामा तारे होटेल निर्माण भइरहेका छन् । दुईवटा होटेलमा मिनी क्यासिनो छ । यी सबै होटेलका प्रमुख ग्राहक भारतीय हुन् । तर, अहिले लुम्बिनीमा भारतीय पर्यटकको संख्या ३० प्रतिशतभन्दा बढीले घटेको होटेल रेडसनका म्यानेजर अमृत थापा बताउँछन् ।

'होटेलको बुकिङ धमाधम रद्द भइरहेको छ तर ग्रुपमा एजेन्सीको सहयोगमा आउने पर्यटकको संख्यामा भने खासै प्रभाव परेको छैन', थापाले भने, 'एजेन्सीबाट आउने भारतीयले उतैबाट पेमेन्ट गरेर आउँछन् ।' सानका अध्यक्ष श्रेष्ठका अनुसार बुटवल तथा लुम्बिनी क्षेत्रका होटेलमा नयाँ बुकिङमा ९० प्रतिशतभन्दा बढीले कमी आएको छ । कतिपय भारतीय पर्यटकलाई होटेलले पछि पेमेन्ट गर्नेगरी होटेलमा खानेबस्ने सुविधा दिइरहेका छन् । भारतीय नोटको प्रतिबन्धसँगै लुम्बिनी क्षेत्रमा चर्किएको संघियताको आन्दोलनले पनि होटेल बुकिङ गरेका पर्यटक पनि धमाधम रद्द गर्न थालेका छन् ।

पोखरा

भारतीयको आकर्षक गन्तव्य हो, पोखरा । तर, भारु प्रतिबन्धपछि त्यहाँ भारतीय पर्यटकको चहलपहल नै घटेको छ । अहिले पोखरामा भारतीय पर्यटक आगमन १५ प्रतिशतमा खुम्चिएको पश्चिमाञ्चल होटेल व्यवसायी संघ, पोखराका अध्यक्ष भरत पराजुलीले बताए । उनका अनुसार अझै आगमन घट्दो क्रममा छ । भारतीय नगदमा कारोबार गर्ने हुँदा भारु प्रतिबन्धले भ्रमणमा आउन छाडेको उनी सुनाउँछन् । यतिबेला पोखरामा कुल पर्यटकमध्ये २० प्रतिशत भारतीय हुन्थे । धार्मिक भ्रमण तथा दृश्यावलोकनका लागि भारतीय पोखरा पुग्थे ।

यो संख्या अहिले १/२ प्रतिशतमा झरेको पराजुली बताउँछन् । सुनौली नाका हुँदै भारतीय पर्यटक पोखरा पुग्थे । अहिले लुम्बिनी क्षेत्रमा आन्दोलन चर्किएको छ । यसले पनि भारतीय पर्यटकको संख्या घटाएको उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका अनुसार स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने सुनौलीबाट हो ।

सौराहा

सौराहाको अवस्था बेग्लै छ । भारु प्रतिबन्ध भएको एक महिना बितिसक्दा समेत सौराहामा अहिलेसम्म त्यस्तो प्रभाव पारेको छैन । भारु प्रतिबन्ध अहिलेसम्म भारतीय पर्यटक नघटेको पश्चिमाञ्चल होटेल व्यवसायी संघ, चितवनका अध्यक्ष सुमन घिमिरे बताउँछन् । 'अहिलेसम्म एजेन्सीमार्फत भारतीय सौराहा आइरहेका छन्', उनले भने, 'अब नयाँ आउने पर्यटक भने घट्न सक्ने देखिएको छ ।'

अहिले सौराहा क्षेत्रमा डेढ सयभन्दा बढी होटेल सञ्चालनमा छन् । यहाँ आउने अधिकांश भारतीय पर्यटक एजेन्सीमार्फत उतै पैसा बुझाएर आउने गरेको घिमिरेको भनाइ छ । काठमाडौं र पोखरापछि सौराहा तेस्रो पर्यटकीय गन्तव्यका रूपमा हेरिँदै आएको छ । सौराहामा भारत, चीन, मध्यपूर्व, युरोप, अमेरिकाका पर्यटक आउने गर्छन् ।

भारतीय पर्यटक भित्र्याउन सरकारले पनि अनुकूल वातावरण बनाउनेतर्फ पहल गर्न व्यवसायीको सुझाव छ । 'नेपालमा घुम्न जान कुनै समस्या छैन भन्ने सूचना फैलाउनुपर्छ' हानका अध्यक्ष शाक्यले भने । भारतीय पर्यटक बढाउन सरकारले कूटनीतिक पहल गरेर भारु प्रतिबन्धको समस्या व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने होटेल व्यवसायीको भनाइ छ ।

'ठूला होटेल व्यसायीसँग दैनिक आउने वैधानिक भारु पनि दराजमा थन्किएको छ', हान अध्यक्ष शाक्यले भने, 'बर्सेनि आउने यस्तो समस्याले अर्बौंको लगानीमा थपिन लागेका तीन दर्जन तारे होटेल निरुत्साहित हुनेछन् ।' लगानीकर्ताले आन्तरिक र वाह्य घटनाक्रमलाई हेरिरहेको बताउँदै उनले भने, 'अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।'

'पर्यटनमा असर पर्नसक्छ'

डा.युवराज खतिवडा, पूर्वगभर्नर
भारु पाँच सय र हजार दरका नोटमा प्रतिबन्धका कारण नेपालीसँग धेरै/थोरै जेजति नोट छ, साटिएको छैन । असर परिहाल्यो । वैधानिक रूपमै २५ सय भारु त राख्न पाइन्छ, त्योपनि साटिएको छैन । कहिले सटही हुन्छ, त्योपनि थाहा छैन । दैनिक भारतीय नोट प्रयोग गर्नेहरूसँग त तरलता नै रहेन नि ।

नोट प्रतिबन्धले दीर्घकालमा भारतीय अर्थतन्त्र संकुचनमा जान्छ । दुई महिनालाई ८५ प्रतिशत क्रयशक्ति खुम्चिएको छ । २/३ महिनाको असर पनि ठूलो हुन्छ । हामीलाई ३/४ महिना नाकाबन्दी गरिदिँदा कति ठूलो असर पर्‌यो, अहिलेसम्म प्रभावमुक्त भइसकेका छैनौ ।

दोस्रो कुरा, जसको अवैध सम्पत्तिले पनि अर्थतन्त्र चलायमान त गराएको थियो । त्यो अब हुने भएन । महँगामहँगा रेस्टुरेन्ट तथा होटेल जाने ग्राहक घट्छन् । पर्यटन उद्योगमा असर पर्छ । महँगा गाडी नबिक्ने होलान् । भारतीय अर्थतन्त्रको गति प्रभावित हुँदा नेपाल-भारत व्यापारका साथै हाम्रो पर्यटन उद्योगमा असर पर्छ । हाम्रो पर्यटन उद्योगमै बढी प्रभाव पर्ने सम्भावना छ । ब्ल्याक मनी हुने यहाँ आएर राम्रो होटेलमा बस्थे, महँगो मदिरा पिउँथे, खर्चिला भारतीय पर्यटक घट्न सक्छन् ।

सीमावर्ती सहरमा भारु पाँच सय र हजारमा हुने कारोबारमा लाभहानि दुवै हुन्छ । अब हामीले प्रतीतपत्र ( एलसी) मार्फत व्यापार गर्नु राम्रो हुन्छ भन्ने सन्देश गएको छ । एलसीमार्फत व्यापार हुँदा पूरा मूल्यांकनमा एलसी खोलिन्छ । एलसी खोल्ने बित्तिकै कर तिर्ने दायरामा आउँछ, उसले कर तिर्ने भएपछि अलि बढी मूल्यमा एलसी खोल्छ । बढी मूल्यमा एलसी खोलेको वस्तुमा बढी भन्सार लाग्छ । भ्याट, आयकर पनि बढी संकलन हुन्छ । राम्रो पाटो राजस्व बढ्छ, नराम्रो पक्ष वस्तुको मूल्य बढ्छ ।

अर्को कुरा भारतीय मुद्रा होल्ड गर्ने प्रवृत्तिको अन्त्य हुन्छ, यो राम्रो पाटो हो । अहिले दुई हजारको नोट निकालेर एक हजार, पाँच सयको अमौद्रीकरण गर्‌यो । अनि दुई हजारको पनि नक्कली निस्कन थालिसक्यो । कति समयपछि दुई हजार पनि अमौद्रीकरण गर्ने होला । त्यो झन्झटभन्दा नेपाली रुपैयाँ राखौं भन्ने भावना जाग्छ । नेपाली मुद्राप्रतिको विश्वसनियता र नेपाली मुद्रामा व्यवसाय गर्ने चलनचल्ती बढ्न थाल्छ । बैंकिङ प्रणालीबाट व्यवसाय गर्ने राम्रो पाटो हो । केही मान्छेलाई पीडा पक्कै हुन्छ । सीमा वारीपारी गर्नेलाई दुःख हुन्छ । दीर्घकालमा राम्रै हुन्छ ।

भारतले यसअघि पनि अमौद्रीकरण गरेको (सत्तरीको दशकमा) थियो, त्यतिखेर प्रभाव परेन होला । सयका नोटनै चल्तिमा थियो, सयनोटमै क्रयशक्ति थियो । भारतसँग व्यापार केन्द्रित हुँदै गएपछि भारुको प्रचलन बढेको हो । ठूला नोट राख्न थालिएको हो । भारतबाट साढे चार खर्बको आयात हुन्छ । त्योमध्ये ४० प्रतिशतमात्र बैंकिङ प्रणालीमार्फत हुने हो । औसत भन्सारको मूल्यांकन ४०/४५ प्रतिशत होला । अनि त्यतिमै ल्याउने भैहाल्यो नि ।

खुबै भए ५० प्रतिशत होला । बाँकी त भारु नै दिने हो नि । त्यही भएर पनि भारु राख्ने प्रचलन बढ्यो । पहिला पनि भारतसँग व्यापार हुन्थ्यो तर आकार सानो थियो । त्यतिबेला र अहिलेको भारु प्रतिबन्ध उस्तै हो । अहिलेको आकार ठूलो भयो, त्यतिबेला सानो थियो । प्रभाव सानो भयो । सम्भवतः ठूलो दरको भारु नोटबाट नेपाल भारत व्यापारलाई फाइनान्स गर्छौं भन्ने दिन गए । अब बैंकिङ प्रणालीमा नगइ हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.