स्थानीयवासीको अवरोधले कालीगण्डकी प्रसारणको काम प्रभावित

स्थानीयवासीको अवरोधले कालीगण्डकी प्रसारणको काम प्रभावित

फलेवास: पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ।

उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित बनेको हो। आयोजनाको धाइरिङ खण्डअन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुने भन्दै प्रभावित बासिन्दा विरोधमा उत्रिएका हुन्।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने धाइरिङको वडा नम्बर २, ३ र ४ का स्थानीयवासीले बस्ती नजिकको खेतीयोग्य जमिनबाट लाइन विस्तार गर्न नहुने भन्दै विरोध गर्दै काम गर्न रोक लगाएका छन्। आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्भेलाई परिवर्तन गरी फाँटबाट लैजान खोज्दा स्थानीयवासी चर्को विरोध उत्रिएका हुन्।

फाँटबाट प्रसारण लाइन विस्तार गर्दा खेतीयोग्य जमिनमा असर पुर्‍याउने भएकाले यसको विकल्प खोज्न प्रभावित स्थानीयवासीले आयोजनासमक्ष माग गरेका छन्।

दुई सातादेखि खेतीयोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निर्णय गर्र्दै काम गर्न अवरोध गर्दै आएको सङ्घर्ष समितिका संयोजक टुङ्गनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रसारण लाइन विस्तार गर्दा दीर्घकालीन रुपमा ठूलो असर पुर्‍याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उनले बताए ।

आयोजनाले सल्यानको फाँटमा तीनवटा एङ्गल टावर बनाउन लागेको हो । टावरसँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पुर्‍याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद बिक्री गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए ।

आयोजनाका कर्मचारी र स्थानीयवासीको छलफलबाट गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदलका सदस्य शेरबहादुर केसीले बताए ।

आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीको मागलाई आयोजनाले गम्भीर रुपमा लिएको बताउनुभएको छ । उनले प्रसारण लाइनबाट प्रभावित स्थानीयवासीलाई नियमानुसार मुआब्जा दिने र राष्ट्रिय गौरवको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्ने बताए ।

आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ४० किमी लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि दुई अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो ।

आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ ।

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.