‘डोनाल्ड ट्रम्पको जितमा रूसको हात’
वासिङटन: संयुक्त राज्य अमेरिकाको खुफिया एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) ले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुनुमा रूसको हात रहेको बताएको छ। एक गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै ट्रम्पलाई जिताउन रूसले सहयोग गरेको बताएको हो।
सिआइएका अधिकारीहरूले अमेरिकी निर्वाचनका विषयमा रूसी प्रशासनिक केन्द्र क्रेमलिन र विकिलिक्सबीच सम्बन्ध रहेको दाबी गरेका छन्। ‘वासिङटन पोस्ट’को समाचार अनुसार रूसले ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको डेमोक्र्याटिक नेसन कमिटी, हिलारीको क्याम्पियनका अध्यक्ष जोन पोडेस्टा र कयौं व्यक्तिको इमेल ह्याक गरेको उल्लेख गरेको छ।
चुनावको अन्तिम महिनामा सम्बद्ध व्यक्तिहरूका इमेल ठूलो परिमाणमा लिक भएकाले ट्रम्प र हिलारीबीचको मतान्तर कम हुँदै गएको हो। सर्वेक्षणमा सुरुमा हिलारी र ट्रम्पको मतान्तर निकै फरक रहेको थियो। इमेल ह्याक भएकै कारण ट्रम्मले हिलारीका सबै रणनीति र योजना थाहा पाएको दाबी पनि गरिएको छ। साइबर सुरक्षाका विज्ञहरू र गुप्तचर अधिकारीहरूले उक्त ह्याकिङमा रूस संलग्न रहेको बताएका छन् । विकिलिक्सले निर्वाचनका बेला हिलारीको विपक्षका सूचनाहरू चुहाएको थियो। हिलारी विदेशमन्त्री हुँदा भएका कमी कमजोरीको विकिलिक्सले निकै आलोचना गरेको थियो। विकिलिक्सका सञ्चालक रूसमा शरण लिएर बसेका छन्।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पको टोलीले सिआइएको प्रतिवेदनलाई अस्वीकार गरेको छ। एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘यो प्रतिवेदन बनाउनेहरू झुट हुन् । इराकी राष्ट्रपति सद्दाम हुसेनसँग परमाणु हतियार छ भनेर दाबी गर्नेहरूले यस्तो प्रतिवेदन बनाएका हुन सक्छन्।’ चुनाव भएको एक महिना बितिसकेको अवस्थामा यस्ता अफवाह फैलाउनु ठिक नभएको ट्रम्प पक्षधरको भनाइ छ। यस्ता कुरा गर्नुभन्दा अमेरिकालाई महान् बनाउने बेला आएको र त्यसमा संलग्न हुन आह्वान गरिएको छ।
ओबामाद्वारा समीक्षाको आदेश
राष्ट्रपति बाराक ओबामाले गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका बेला भएका साइबर आक्रमणको समीक्षा गर्न आदेश दिएका छन्। रूसले ह्याकिङ गरेर ट्रम्पलाई जिताएको भन्ने खबर आउन थालेपछि ह्वाइट हाउस चिन्तित भएको हो। यसअघि राष्ट्रपति निर्वाचनमा कुनै पनि साइबर हमला नभएको स्पष्ट पार्दै जनमत स्वीकार गरेको बताएको थियो । त्यतिखेर जनमतलाई सम्मान गर्न अनुरोध गरेको थियो।
ह्वाइट हाउसका प्रेस हेर्ने उपसचिव एरिक सुल्जले निर्वाचन समीक्षा गर्न ओबामाले आदेश दिएको जानकारी दिए। सिनेटरहरूले लगातार रूपमा राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेप भएको भन्दै त्यसको जाँच हुनुपर्ने माग राखेकाले समीक्षा गर्न आदेश दिनुपरेको सुल्जले खुलासा गरे।