एन्फाको जवाफ थ्रीस्टारलाई अमान्य

 एन्फाको जवाफ थ्रीस्टारलाई अमान्य

काठमाडौं : रुस्लान थ्रीस्टार क्लबले एएफसी कप २०१७ को प्ले अफ खेलमा आफ्नो सहभागिता अनिश्चित बनेको भन्दै न्यायका लागि जस्तोसुकै कदम चाल्ने जनाएको छ । थ्रीस्टारले पहिलो चरणमा सहभागी भई छनोट भएको टोलीलाई दोस्रो चरणमा सहभागिता गराउने काममा एन्फाकै त्रुटि भएको ठहर गर्दै कानुनी उपचार खोल्ने जनाएको हो ।

थ्रीस्टारका महासचिव सञ्जीव शिल्पकारले एन्फाको लापरबाहीले क्लबको लगानी र प्रतिष्ठामा आघात पुगेको बताए । ‘एन्फाले हामीलाई शुक्रबार पठाएको पत्र आफैंमा गैरजिम्मेवार छ । चारपटक एएफसीबाट आएको पत्रलाई बेवास्ता गरिनु आफैंमा लज्जास्पद विषय हो । एन्फाले हामीलाई पत्रमार्फत पठाएको जवाफमा एएफसीले नेपालको सहभागिता भनेको र कुन क्लब भनेर उल्लेख नगरेका कारण एन्फा सचिवालयबाट भूलवश त्रुटि भएको र एएफसी कपमा थ्रीस्टारको नाम छुटेको भन्ने उल्लेख छ’, शिल्पकारले भने ।

शिल्पकारले एन्फाको जवाफ थ्रीस्टारका लागि मान्य नहुने पनि बताए । ‘एन्फाको गल्ती आफैं गर्ने र पत्रमार्फत भूलवश त्रुटि भन्दै पन्छिने काम गर्दा क्लबले फुटबलमा गरेको लगानी बालुवामा पानीजस्तो भएको छ । एन्फाले छानबिनका लागि समिति बनाए पनि क्लब १५ दिनसम्म त्यत्तिकै बस्नेछैन । हामी अब न्यायका लागि जानेछौं’, शिल्पकारले भने । थ्रीस्टारले मंगोलियामा भएको पहिलो चरणको छनोट खेलमा मात्र ६४ लाख रुपैयाँ खर्च गरेको थियो । यसका लागि एएफसीबाट २० हजार अमेरिकी डलर र एन्फाबाट १० लाख रुपैयाँ सहयोग पाएको थियो ।

थ्रीस्टारका कप्तान विक्रम लामाले एएफसी कपकै लागि क्लब र खेलाडीले ६ महिनादेखि निरन्तर तयारी गरेकाले दोस्रो चरणमा खेल्न नपाउँदा दुःख लागेको बताए । ‘कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागिता जनाउन नपाउँदा खिन्न लाग्छ । अझ हामीले त धेरै ठूलो मेहनत गरेका थियौं । क्लब र खेलाडीको लगानी यसमा धेरै थियो । यस प्रतियोगिताका कारण थ्रीस्टारका खेलाडीले कुनै पनि खेलमा भाग लिएका थिएनन्’, लामाले भने । उनले यस्तो गल्तीले सबै खेलाडीलाई निराश बनाएको बताए ।

एन्फाको अध्यक्ष पदमा हालै पराजित भएका कर्माछिरिङ शेर्पाले एन्फा पदाधिकारीको लापरबाहीको पराकास्टाका कारण थ्रीस्टारको मात्र नभएर सिंगो नेपाली फुटबलको बेइज्जत भएको बताए । ‘एन्फाले झारा टार्नका लागि छानबिन समिति बनाएको छ । एन्फाकै पदाधिकारी बसेर गर्ने छानबिन कस्तो होला । गल्ती आफैं गर्ने, छानबिन पनि आफैं गर्ने यो कस्तो विडम्बना’, शेर्पाले भने । उनले यस घटनाले क्लब फुटबलको भविष्य अन्धकार रहेको भन्दै छानबिनका लागि नेपाल सरकारको मातहतमा छुट्टै समिति बनाइनुपर्ने पनि बताए ।

एन्फा कार्यसमितिको शुक्रबार नै बसेको बैठकले थ्रीस्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनुमा आफ्नो कमजोरी भइसकेको स्वीकार गरेको थियो । घटनालाई मत्थर गर्न एन्फाले शुक्रबार नै मनोनीत भएका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा एन्फा सदस्य रमेश रायमाझी र एन्फाका विकास निर्देशक सञ्जीव मि श्र सदस्य छन् । समितिले १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउने पनि एन्फाले जनाएको छ ।

मंगोलियामा गत अगस्टमा एएफसी कपका लागि भएको छनोट खेलबाट नेपालको लिग विजेता रुस्लान थ्रीस्टार क्लब एएफसी कप प्ले अफका लागि छनोट भएको थियो । थ्रीस्टार क्लबले प्ले अफ छनोटअन्तर्गत समूह ‘बी’बाट प्रतिस्पर्धा गरेको थियो । थ्रीस्टार समूह विजेता बन्दै प्ले अफका लागि छानिएको थियो । तीन टोली सम्मिलित छनोटको पहिलो खेलमा थ्रीस्टारले इर्चिमलाई २–० गोलले हराएको थियो । थ्रीस्टार दोस्रो खेलमा नागावोर्लडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

तर दोस्रो चरणका लागि एएफसीले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपालको थ्रीस्टारको नाम छैन । एएफसीले सार्वजनिक गरेको दक्षिण एसियाली राष्ट्रको सूचीमा भारत, माल्दिभ्स, बंगलादेश, भुटान र श्रीलंकाको नाम भने छ । एएफसीले सहभागी देश र टोलीको समूह विभाजन तथा खेलस्थल डिसेम्बर १३ मा तोक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.