जन्मदिनमा प्रधानमन्त्री प्रचण्डलाई प्रदेश नम्बर ५ बाट पत्र

जन्मदिनमा प्रधानमन्त्री प्रचण्डलाई प्रदेश नम्बर ५  बाट पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम तपाईंलाई जन्मदिनको शुभकामना । तपाई सञ्चै हुनुहुन्छ होला । मेरो कामना पनि त्यही हो । जन्मदिनमा तपाईंको सुस्वास्थ्यको कामना गर्दछु । तर, हामी टुक्राटुक्रा भएर बाँचेका छौँ । तपाईले हाम्रो एउटा शरीरलाई वालुवाटारमा बसेर टुक्राटुक्रा बनाउनु भएको छ । त्यसैले टुक्रटुक्रा शरीर लिएर हामी छट्पटाइरहेका छौँ । टुक्राटुक्रा शरीरको छट्पटाहट शब्दमा कसरी व्यक्त गरौँ ?

मेरो पीडालाई तपाईंको दिमागले एक एमाले कार्यकर्ताको आक्रोश मात्र ठान्छ होला तर, यो एमाले कार्यकर्ताको नभएर आम प्रदेश नम्बर ५ का जनताको पीडा हो । किनभने संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएपछि प्रदेश नम्बर ५ का सबै जनता पीडामा छन् । तर, तपाईले भने सबै नागरिकलाई एमालेको समर्थक र कार्यकर्ता भन्दा हाम्रो मन कटक्क दुख्छ ।
प्रधानमन्त्रीज्यू तपाईले ५ नम्बर प्रदशको स्वास्थ्यलाई बिरामी नहुँदै शल्यक्रिया गर्ने प्रस्तव गर्नुभयो । यो गलत निर्णयले हामीलाई जिन्दगीभर निको नहुने चोट लागेको छ ।

आज १२ दिन भैसक्यो हामीले सडकलाई बस्ती बनाएरका छौँ । तर, तपाई महलमा आरामले निदाउनु भएको होला ? म एउटा प्रदेश नम्बर ५ अन्तर्गतको गुल्मीमा जन्मिएकी छोरी हुँ । पहाडलाई माइती बनाएर मधेसलाई कर्मघर बनाउने इच्छा राख्छु । तर, तपाईले मधेस छिर्नै नपाउने खालको प्रस्ताव दर्ता गर्नुभएको छ। अब जवाफ चाहियो प्रधानमन्त्रीज्यू बर्षोदेखी चलिआएको हाम्रो वैवाहिक सम्बन्ध पनि अब प्रादेशिक हुने भयो होइन ?

११ दिनदेखि जनता भोकभोकै सडकमा छन् । तर, तपाई आकाशमा सुरक्षित यात्रा गर्नुहुन्छ । हाम्रो पीडालाई आकाश बाटै हेरेर रमाउँदै सुदरपश्चिम पुग्नुहुन्छ । अनि भन्नुहुन्छ, ‘मेरो सरकार रहुञ्जेल संशोधन प्रस्ताव फिर्ता हुदैन ।’

यो तपाईंको अडान सुनेपछि मलाई केही प्रश्न गर्न मन लागेको छ । यो अडानले जनतालाई दुख्छ भने तपाईंलाई किन दुख्दैन् ? के तपाई जन्मिदै पार्टीगत नेता भएर जन्मिनुभएको थियो, हो ? नेता हुनुभन्दा पहिला तपाईं नागरिक हुनुहुन्थ्यो होइन ? अनि आज ति आम नागरिकको पीडालाई कुर्सीमा पुगेर बिर्सन मिल्छ र ?

हामी लुम्बिनीवासी वर्षोदेखि मिलेर बसेका छाँै । हाम्रो रहनसहन, संस्कृति र बसोवास अञ्चलभित्रै सीमित छ । न मधेशका जनतालाई टुक्राएकोमा खुसी छ, न हामी पहाडमा बस्ने जनताका लागि ? के जनताको भावना भन्दा केही सीमित व्यक्तिको इच्छा पूरा गर्ने तपाईको प्रस्ताव स्वीकार्य हुनसक्छ ?

प्रधानमन्त्रीज्यू के त्यसो भए तपाई मधेशी मोर्चाको मात्रै प्रधानमन्त्री हो ? हामी मधेसका नेपाली जनतालाई सम्मान गर्छौं र मधेसका नेतालाई यो पनि आग्रह गछौँ सीमित क्षेत्रको नेता मात्रै होइन नेपालीको असल नेता बन्नुहोस् । सँगै आम नेपालीको भावनालाई कदर गर्न सक्नुहोस् । अनि नेतृत्वमा पुगरे देशको रक्षा गर्ने हिम्मत गर्नुहोस् । तपाईंहरुलाई शुभकामना छ ।

यदि हैन भने आज ११ दिनसम्म आन्दोलित नागरिकको भावनालाई कदर किन गर्नुहुन्न ? मैले सुन्ने गरेकी छु, तपाईं भन्दै हुनुहुन्छ, ‘बुटवलमा मात्रै आन्दोलन हो । पहाडका जिल्लामा आन्दोलन छैन ।’

के तपाईंलाई दुई चारजना जनताको मृत्युको खबर नसुनेसम्म आन्दोलन भएको थाहा हुँदैन हो ? होइन भने किन हाम्रो आन्दोलन देख्नु हुन्न ? हुन त तपाईंकै नेतृत्वमा दुई चार जना मात्र होइन हजारौँ नेपाली आमाका छोराछोरी सहिद भएका छन् । शान्तिपूर्ण आन्दोलनको समाचारले तपाईंलाई नछुन सक्छ । तर, यहाँ जनता ११ दिनदेखिको आन्दोलनले भोकभोकै मर्ने बेला भएको छ । यो कुरा तपाईंले थाहा नपाएर कसले थाहा पाउने ?

चाहे जसको सरकारले गरोस् ५ नम्बरका नागरिकलाई यो संशोधन प्रस्ताव कत्ति पनि स्वीकार्य हुनै सक्दैन । यो प्रस्ताव संसदमा दर्ता गर्नु भनेको बली राखेको आगोमा हाम फाल्नु बराबर हो भन्ने कुराको ज्ञान तपाईसँग नहुँदा आज जनता पीडामा छन् ।

हाम्रो संविधान हामी नेपालीको हो वा छिमेकी देशको ? हामीलाई जवाफ चाहियो यो कसको हो ? एसियामै बुद्धिमानी नेताको रुपमा पहिचान बनाउनु भएको तपाईंजस्तो नेतालाई राजदूतले प्रभावमा पारेको हल्ला छ नि त्यो चाहिँ के हो ? यदि त्यसै हो भने अब हामीले तपाईलाई कसरी बुद्धिमानी नेता भन्ने ?

हामी चाहान्थ्यौ लगभग ४० प्रतिशत नेपाली बसोवास गर्ने भारतमा नेपाली भाषा पनि बोल्न सक्ने व्यवस्था होस् । नेपाली पैसा भारतमा पनि चल्ने व्यवस्था होस् । तर, यसको पहल किन कसैले गर्न सक्दैन ? यो आम नेपालीको प्रश्न हो ।

प्रधानमन्त्रीज्यू संघीयतालाई आफैले राम्रोसँग अध्ययन नगरी स्थानीय तहसम्म देश चिरा पार्दा के हुन्छ भन्ने कुरा किन अझै बुझ्न सक्नुहुन्न ? जनताको भावना भन्दा विपरित विदेशी शक्तिको सुझाव बोकेर केन्द्रका राजनितिज्ञ चल्नु पर्ने किन ?

तपाईंले गैरजिम्मेवार ढंगले गरेका निर्णयले आज जनताको रगत तातेको छ । जनता जनतामा फाटो आएको छ । तपाईंलाई थाहै छ पूर्व समानुपातिक सांसद् तथा तपाईंकी छोरी रेणु दाहालको जिल्ला आन्दोलित छ । यदि जिम्मेवार बाबु बन्नुहुन्छ भने छोरीलाई जिल्ला पठाउनुहोस् ।

आज तपाईं ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने भावमा दृढ जनतालाई पहाडे र मधेसीको रुपमा विभाजन किन गर्नुहुन्छ ? दश दश बर्षसम्म स्थानीय निकायको चुनाव नगरी प्रतिनिधि बिहिन गाउँ बन्दा समेत जनता शान्त थिए । तर, आज तपाईंको सानो निर्णयले जनता आन्दोलित भए । प्रधानमन्त्रीको कुर्सीमा बसेपछि जनता बिर्सनु भयो ठिकै छ तर एक पटक आम नागरिक भएर सोच्नुहोस् र प्रदेश नम्बर ५ का जनताको पीडा र भावलाई बुझ्नुहोस् । जनताको भावना बुझ्नुभयो भने हामी फेरि यो टुक्राटुक्रा शरीरको उपचार गरेर प्रधानमन्त्री प्रचण्ड जिन्दावाद भन्दै सडकमा खुशीयाली मनाउने छौँ । यो आम नेपाली जनताको चाहना तपाईंलाई यो पत्रमार्फत् पठाएकी छु । गल्ती भए माफ गरिदिनुहोला । यो तपाईंको जन्मदिनले प्रदेश नम्बर ५ का जनतालाई न्याय गरोस् ।

उही गंगा खड्का
प्रदेश नम्बर ५ गुल्मी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.