‘निर्वाचन टार्न संशोधन प्रस्ताव ल्याइयो’
पाँचथरः नेकपा (एमाले)का सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन् ।
सदरमुकाम फिदिममा सोमबार बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने बताए ।
संविधान कार्यान्वयन गराउनुभन्दा पनि सरकार प्रदेश नं ५ टुक्र्याउन लागिपरेको बताउँदै भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको सचिव आचार्यको टिप्पणी थियो । उनले सरकारले एमालेसँग छलफल नगरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको उल्लेख गरे ।
पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सचिव आचार्यसहित शेरधन राई, जगनाथ खतिवडालगायतका नेताहरु पाँचथर पुगेका छन् । रासस