एमालेले भन्दैमा भारतीय राजदूत फर्किँदैनन् :मन्त्री भण्डारी
काठमाडौंः वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनले नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउनुपर्छ भन्ने कुरा कुटनीतिक मर्यादा विपरित रहेको बताएका छन्।
भण्डारीले भने,‘एमालेले भन्दैमा कोही पनि राजदूत फिर्ता हुँदैनन्, एमालेले भनेर राजदूत फर्किने हो र ?’ उनले एमालेले सस्तो लोकप्रियताको लागि गैरजिम्मेवारपूर्ण कुरा गरेको आरोप लगाए। रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने,‘५/७ हजार मान्छेले सामाजिक सञ्जालमा अनावश्यक हल्ला गर्दैमा सबै त्यसकै पछि लाग्नु हुँदैन, देशमा ३ करोड जनता छन्।’
मन्त्री भण्डारीले संविधान संशोधन प्रस्ताव सदनमा प्रक्रियामा जान नदिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको आरोप लगाए। आफ्नो पार्टीले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भनेर अहिलेसम्म कुनैपनि आधिकारिक निर्णय नै नगरेको बताए।
उनले भने,‘आजसम्म हाम्रो पार्टीमा नेपाललाई धर्मनिरपेक्षता बनाउनुपर्छ भनेर कुनै पनि बैठकमा छलफल नै भएको छैन, ०६२/६३ को आन्दोलनमा पनि धर्मनिरपेक्षताबारे कुनै एजेण्डा नै थिएन, यो अनायस र अप्रत्यासित ढंगले आएको हो, जबरजस्ती अन्तरिम संविधानमा त्यो शब्द घुसाईएको हो, यो विषयमा आवश्यक परे जनमत लिनुपर्छ।’