लागु औषधसहित पाँचजना पक्राउ
काठमाडौं: प्रहरीले प्रतिबन्धित लागु औषध तथा मनोद्दिपकसहित ५ जनालाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण व्युरोले सोमवार पत्रकार सम्मेलन गरी वरामद लागु औषध डाइजपाम, बुप्रेनर्फिन, फेनार्गेनसहित पाँच जनालाई सार्वजनिक गरेको हो।
मंसिर २३ गते विरगञ्जबाट मनोद्दिपक पदार्थ नाइट्रोभेटसहित पक्राउ परेका केशव महतो र राजेश दासको बयानका आधारमा व्युरोले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ३ हजार १ सय ८० एम्पुल डाइजापाम, बुप्रेनर्फिन र फेनार्गन वरामद गरेको छ। बरामद गरिएका लागु औषधको वजारभाउ झण्डै १७ लाख रुपयाँ रहेको व्युरोले जनाएको छ ।
व्युरोका डिआइजी जयबहादुर चन्दले पक्राउ परेकाहरुको अन्य कनेक्सनबारे अनुसन्धान भइरहेको वताए। पक्राउ पर्नेमा काठमाडौका आदर्श तामाङ र सुनिता परियार, झापाका अनुप वराइली,ललितपुरका विष्णु रणपहेली र सिन्धुलीका विजय तामाङ रहेका छन्।
लामो समयदेखि अवैध लागु औषध तथा मनोद्दिपक पदार्थको कारोबारमा संलग्न अभियुक्त बराइलीले ती लागु औषधहरु भारतबाट बिराटनगर, वीगञ्ज तथा भैरहवा नाका हुँदै ओसारपसार र विक्री वितरण गर्दै आएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । प्रहरीले परियारको साथबाट ४५ हजार नगद समेत वरामद गरेको छ ।