छटपटाउँदै छन् रानीपोखरीका माछा( भिडियाेसहित)

छटपटाउँदै छन् रानीपोखरीका माछा( भिडियाेसहित)

काठमाडौंः महानगरको मुटुमा रहेको रानीपोखरीमा अहिले पानी छैन । पोखरीका विभिन्न भागमा घामले धाँजा फाटेका छन् । पश्चिम दक्षिणतर्फको कुनोमा केही भाग हिलाम्मे छ । त्यही हिलोमा केही सातादेखि माछा छट्पटाइरहेका थिए । मुस्किलले हलचल गर्ने ती माछालाई काग र बकुल्लाले ठुँग्न थालेपछि माछाको जीवनप्रति चिन्तित हुनेहरूले तिनलाई जोगाउन पहल थाले ।

पशुपक्षी अधिकारकर्मीहरूले तिनको जीवनरक्षाका लागि पहल गरेपछि काठमाडौं महानगरपालिकाले दैनिक सरदर दुई हजारका दरले रानीपोखरीका माछा काठमाडौं सहरभित्रकै अन्य पोखरीमा सार्ने काम गरिरहेको छ । चौथो दिनमा करिब आठ हजार माछा अन्यत्र सारिए पनि अझै चारपाँच हजार माछा रहेको अनुमान छ ।

पहिलो दिन बालाजुस्थित पोखरीमा करिब १० बाल्टी माछा लगियो । त्यहाँ माछा हाल्ने ठाउँ नभएको भन्दै महानगरपालिकाले रत्नपार्कस्थित सानो पोखरीमा करिब आठ ड्रम माछा लगेको थियो । त्यसपछि कमलपोखरीमा माछा लैजाने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।

चौथो दिन सोमबार पनि कमलपोखरीमा माछा लग्ने काम भएको छ । रानीपोखरीमा खटिएका नेपाल अहिंसाप्रेमी शाकाहारी समाजका महासचिव आदर्श दासले चौथो दिनसम्ममा करिब आठ हजार माछा रानीपोखरीबाट काठमाडौंकै बालाजु, रत्नपार्क र कमलपोखरीस्थित पोखरीमा लगिएको जानकारी दिए ।

‘सरदर दुई हजारका दरले करिब आठ हजार माछा अन्यत्र सारेका छौं । अझै कम्तीमा दुई दिन लाग्छ', कमलपोखरीमा पनि मंगलबारमात्र माछा हाल्न पाइने जानकारी दिँदै उनले अन्नपूर्णसँग भने, ‘जति निकाल्यो भोलिपल्ट फेरि उत्तिनै माछा छन्जस्तो हुन्छ ।

तैपनि करिब दुईतीन हजार माछालाई कहाँ व्यवस्थापन गर्ने भन्ने अन्योल छ ।' रानीपोखरीमा १०/१२ किलोसम्मका माछा भेटिएका छन् । उनका अनुसार कमलपोखरीमा पुर्‍याइएका माछाले साना माछा खाइदिएको र यहाँ झिक्दा र लैजाँदा समस्या भएका केही माछा त्यहाँ पुर्‍याएपछि मरेकाले पनि कमलपोखरी सञ्चालन गर्ने क्लबले नल्याउन भनिसकेको छ ।

दासले गतसाता रानीपोखरीमा माछा जमिनतिर आएको, काग र बकुल्लाले ठुँगेको, पानी नभएर छट्पटाएको भन्दै समाजको कार्यालयमा जानकारी दिएपछि माछाको उद्धारका लागि पहल गरेको बताए ।

भिडियाे हेर्नुहाेस्

 

 

नेपाल शाकाहारी संघसमेतको पहलमा महानगरपालिकाले माछा सार्ने काम गरिरहेको भन्दै उनले कमलपोखरीमा पनि निकै प्रयासपछिमात्र माछा राख्न अनुमति पाएको बताए ।

उनले भने, ‘धेरैले माछा काटेर खाने त हो भने तर उनीहरूको पनि बाँच्न पाउने अधिकार भएकाले छट्पटाएको हेर्न सकेनौं ।' रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएका ठेकेदार अरविन्द न्यौपानेले महानगरपालिकाको अनुरोधमा माछा समात्ने कामका लागि जनशक्ति खटाएको र बाल्टीमा राखी सानो भ्यानमा बालाजु, रत्नपार्क र कमलपोखरी पुर्‍याइरहेको बताए ।

भूकम्पपछि रानीपोखरीभित्रको मन्दिर र नयाँ संरचनामा समग्र रानीपोखरीकै पुनर्निर्माण गर्न पानी सुकाउनुपर्ने भएकाले पनि तत्काल माछाको अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो । माछा समात्न र लैजान सोमबार समाज र संघका पदाधिकारीबाहेक १० जनालाई खटाइएको थियो ।

रानीपोखरीमा कहिलेदेखि माछा राखिए भन्ने मिति यकिन नभए पनि खासगरी बौद्ध धर्मावलम्बीले परिवारजनको निधनमा बाकसमा ल्याएर छोड्ने गरेको देखेको जानकारी न्यौपानेले दिए । काठमाडौं महानगरपालिकाको भौतिक तथा सहरी विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले महानगरपालिकाले माछाभन्दा पुनर्निर्माण प्राथमिकतामा राखेको बताए ।

जनताले तिरेको करलाई निर्माणमा नलगाई माछाको व्यवस्थापनमा लाग्नु सान्दर्भिक नहुने उनको भनाइ छ । उनले भने, ‘महानगरपालिका सेवाग्राही संस्था हो, व्यवसायी होइन । करको सदुपयोग गर्ने हो । निर्माणबाहिरको कामले महँगो हुनजान्छ । यद्यपि क्रमशः व्यवस्थापनको काम गरिरहेका छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.