‘औषधि किन्ने पैसा भए बुबा बाँच्नुहुन्छ रे

‘औषधि किन्ने पैसा भए बुबा बाँच्नुहुन्छ रे

घोराहीः चिसो भुइँमा ढलेको एउटा अधबैंसे शरीर । खिया लागेको टिनको छानो पनि ठाउँठाउँमा प्वाल परेको छ । प्वालबाट छिरेका सूर्यका किरण उनको शरीरमा चम्किरहेका छन् ।

छेउमा १२ वर्षीया बालिका त्यो ढलेको शरीरलाई च्यातिएको एउटा ओढ्ने मिलाएर ओढाउँदै छिन् । ती उनका बाबु हुन्, दिनेश वादी । दुई महिनादेखि ओछ्यानमा थला परेका आफ्ना बाबुलाई पानी खुवाउन १२ वर्षीया रोशनी वादी घरछेउको खोलामा हथौडा बिसाएर आएकी हुन् ।

उनी घरनजिकैको सेवार खोलामा गिट्टी कुट्छिन् । बाबु बिरामी भएर ढलेको दुई महिना बितिसक्यो । बाबु स्याहार्न उनले पढाइ पनि छोडिसकिन् । आमा चार वर्षअघि अर्कैसँग बिहे गरेर गइन्, एउटा छोराछोरी लगेर । तर रोशनीलाई भने त्यहीँ छोडिन् । जन्डिससँग वर्षौदेखि लड्दै आएका उनका बाबु दिनेशलाई दुई महिनादेखि त्यहीँ जन्डिसले थला पारिसकेको छ । घरमा खानेकुरा केही छैन, खोलाको पानीबाहेक । बाबुछोरीले पेटमा अन्न नहालेको एक साता बितिसकेको छ ।

‘अरूले बचेको भात दिन्छन्, एक दुई दिनमा त्यहीँ बाँडेर खान्छौं', छानो लगाएको थोत्रो टिनको प्वालबाट छिरेको घामको किरणबाट बाबुको अनुहार छेक्दै रोशनीले भनिन्, ‘बुबाले त त्यो पनि खान सक्नुहुन्न ।' दिनेशको शरीरलाई अब जन्डिसले सक्नै लागेको छ । तर उनीहरूसँग जाँच गराउनेसमेत पैसा छैन । रोशनीले जम्मा गरेको गिट्टी पनि धेरै भइसक्यो, बिकेको छैन । केही समयअघि गाउँलेले दुई चार सय सहयोग गरेपछि उनले आफ्ना बाबुलाई अस्पताल लगेकी थिइन् । तर औषधि किन्ने पैसा पुगेन । उनी जाँच मात्रै गराएर फर्किन् ।

‘डाक्टरले जन्डिसले खानै लागिसक्यो, धेरै पुरानो भयो भन्नुभो', रोशनीले भनिन्, ‘तर पैसा थिएन, औषधि ल्याइनँ, पछि लिन आउँला भनेँ, औषधि भए बुबा बाँच्नुहुन्छ रे ।' त्यसपछि उनी अस्पताल फर्केकी छैनिन् । पैसा छैन । रोगले थला नपार्दासम्म बाबुले दिनभरि मजदुरी गर्थे, साँझबिहानको छाक टरेको थियो । रोशनी कक्षा तीनमा पढ्थिन् ।

साँझबिहान ‘होमवर्क' गरेर साथीसँग हाँस्दै, खेल्दै स्कुल जाने रोशनीका कलिला हात अहिले हथौडासँगै ढुंगामा बज्रिरहेका छन् । तैपनि छाकसम्म जुटाउन नसक्दा उनलाई थकथकी लाग्छ ।

आमाले अर्कैसँग बिहे गरेर गए पनि उनलाई आमाको कहिल्यै कमी हुन दिएनन् ५० वर्षीय दिनेशले । छोरीकै लागि उनले दिनभरि मजदुरी गर्थे, बाबुछोरीको छाक अनि छोरीको पढाइ खर्च पुगेकै थियो । श्रीमती अर्कैसँग गएपछि दिनेशलाई अर्की बिहे गर्ने रहर पनि जागेन । न त रोशनीलाई आमाको कहिल्यै तृष्णा भयो ।

‘मैले कहिल्यै आमालाई सम्झिनँ, बुबाले कमाउनुहुन्थ्यो, मैले पढिरहेकी थिएँ', उनले भनिन्, ‘अहिले बालाई एक छाक पनि खुवाउन सकेकी छैन ।' साँझबिहान ‘होमवर्क' गरेर साथीसँग हाँस्दै, खेल्दै स्कुल जाने रोशनीका कलिला हात अहिले हथौडासँगै ढुंगामा बज्रिरहेका छन् । तैपनि छाकसम्म जुटाउन नसक्दा उनलाई थकथकी लाग्छ ।

घोराही बजारको सिरानतिर सेवार खोलाको किनारामा एउटा बाक्लो बस्ती छ । धेरैजसो दलित बस्ने त्यो बस्तीका सबैले दिनभरि मजदुरी गर्छन् । त्यो ऐलानी जमिन हो । कसैको लालपुर्जा छैन । सबैको अवस्था उही हो । तर त्यही बस्तीबीचको रोशनीको त्यो झुपडीमा एकअर्काको सहारा कोही छैन ।

जन्डिस धेरै जटिल रोग होइन । सामान्य उपचारबाटै त्यसको निदान हुन सक्छ । तर, अस्पताल जानेसम्म पैसा जुटाउन नसकेर थला परिरहेका दिनेश अहिले बोल्न पनि सक्दैनन् । ‘आमाले छाडेर गइन्, बा पनि कति नै बाँच्लान् र', रोशनीले भनिन् । त्यसपछि दुवै हातले आँखा छोपेर घोप्टिएकी रोशनी केहीबेर बोल्नै सकिनन् । हिक्कहिक्क मात्रै सुनियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.