महिला सिटमा बसेका पुरुष यात्रु पक्राउ
घोराहीः सार्वजनिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ ? सिटमा बस्दा होसियार हुनुहोला । ‘महिला सिट' लेखेको वास्ता नगरी त्यो सिटमा बसेका यात्रुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । सार्वजनिक सवारीमा महिला, अपांग तथा अशक्तका लागि संरक्षित सिटमा अन्य यात्रु जथाभावी बस्न थालेपछि प्रहरीले त्यसमा निगरानी बढाएको हो ।
सडकमा उभिएर सधैं गाडीको बिलबुक र चालकको अनुमतिपत्र जाँच गर्ने ट्राफिक प्रहरीले सोमबारदेखि यहाँका सवारीमा आरक्षण सिट पनि जाँच गर्न थालेको छ । महिलाका लागि आरक्षित सिटमा बसेका र सम्झाउँदा पनि अटेर गरेको आरोपमा प्रहरीले आठ यात्रुलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा राखेर मंगलबार सम्झाई-बुझाई गरी छाडिने प्रहरीले जनाएको छ । ‘उहाँहरू महिला सिटमा बस्नुभएको रहेछ, ट्राफिकले सम्झाउँदा पनि अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो', जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘उहाँहरूलाई ट्राफिक नियमबारे जानकारी दिँदै छौं ।'
महिलालाई असहज हुने, यौनजन्य क्रियाकलाप बढ्ने तथा उनीहरू असुरक्षित हुने देखिएपछि सार्वजनिक सवारीमा महिला आरक्षण सिटको व्यवस्था गरिएको हो । तर उक्त सिटमा पनि पुरुष नै बसेर यात्रा गरिरहेका हुन्छन् । पुरुषले संरक्षित सिट नछाड्दा महिला उभिइरहेका हुन्छन् । ‘हामीले धेरै सम्झायौं, महिलाको सिटमा उनीहरू नै बस्नुपर्छ भनेर ।
तर अटेरी गरेकाले नियन्त्रणमा लिएका हौं', ट्राफिक प्रमुख अरुणकुमार सिंहले भने, ‘कैयौं गाडीमा महिला उभिएको देखियो र, आरक्षित सिटमा पुरुष भेटिए ।'
आरक्षित सिटमा सम्बन्धित यात्रु बसाउन पटकपटक बस समिति एवं यातायात व्यवसायीलाई पत्राचार गरे पनि कार्यान्वयन नभएपछि अनुगमन गर्नुपरेको उनले बताए । ‘गल्ती त सवारी चालकहरूको पनि हो, उनीहरूलाई हामीले कारबाही गरिसकेका छौं, जरिवाना गराएका छौं', उनले भने, ‘तर पनि यस्तो क्रम दोहारिइरहेको छ, त्यसैले यात्रुलाई सचेत गराउनुपर्छ भनेर अटेरी गर्नेलाई नियन्त्रणमा लिइएको हो ।'
हाइलाइट
महिलालाई असहज हुने, यौनजन्य क्रियाकलाप बढ्ने तथा उनीहरू असुरक्षित हुने देखिएपछि सार्वजनिक सवारीमा महिला आरक्षण सिटको व्यवस्था गरिएको हो ।