त्रिवेणीले १९ प्रतिशत बोनस दिने
काठमाडौः त्रिवेणी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको आइतबार बसेको तेह्रौं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसँगै सञ्चालक समितिले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ मा बैंकले १८ करोड ९८ लाख ८६ हजार खुद मुनाफा गरेको र उक्त मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो ।
बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ९७ करोड ५८ लाख १८ हजार पुग्नेछ । साथै सभाबाट स्वीकृत २ः१ को हकप्रद सेयर वापतको रकम संकलनको प्रक्रियामा छ ।
पुँजी संकलनपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३८ करोड ५८ लाख २५ हजार पुग्नेछ । बैंकको अधिकृत पुँजी दुई अर्ब ५० करोड छ भने सेयर स्वामित्व संरचनामा संस्थापक समूहको ५१ प्रतिशत र साधारण समूहको ४९ प्रतिशत सेयर लगानी छ ।