अंग्रेजीले बनायो अब्बल
दमकः माथिल्ला कक्षाहरूमा विद्यार्थीको कमी थिएन । नयाँ भर्ना हुन चाहने विद्यार्थीको चाप पनि बर्सेनि बढ्दै थियो । तल्ला कक्षामा विद्यार्थीको रुचि घट्न थाल्यो ।
विद्यार्थी घट्दै जाँदा प्राथमिक तहका केही कक्षामा त विद्यार्थी संख्या शून्य नै हुने स्थिति आउन लाग्यो । कुनै बेला चाहेर पनि विद्यार्थी भर्ना गर्न नसक्ने स्कुलमा एकाएक विद्यार्थी घटेपछि झापाको दमकस्थित हिमाल उच्च माध्यमिक विद्यालयमा पुराना विद्यार्थी टिकाइराख्ने र नयाँलाई आकर्षण गर्ने चुनौती बढ्दै गयो ।
विद्यार्थीको रुचि घट्न थालेपछि २०६६ सालतिर तत्कालीन प्रधानाध्यापक विदुरप्रसाद खतिवडा आफ्ना सहकर्मी शिक्षकसँग छलफलमा जुटे । उनी विद्यार्थी घट्नुको कारण खोज्न थाले । वरिपरि खुलेका निजी स्कुलमा अंग्रेजी विषयको पढाइ सुरु भएपछि विद्यार्थी आकर्षण बढेको तथ्य उनीहरूले पत्ता लगाए ।
उनीहरूले अध्ययनका क्रममा के पनि थाहा पाए भने अंग्रेजी माध्यमकै कारण अभिभावकहरू महँगो शुल्क तिरेर भए पनि निजी विद्यालयमा नानीबाबु पढाउन बाध्य छन् ।'
यति जानकारी पाएपछि तत्काल अंग्रेजी माध्यमबाटै पढाइ सुरु गर्ने निर्णय विद्यालयले गर्यो । तर अभिभावकले पत्याउने अवस्था थिएन । अंग्रेजी माध्यमबाट पढाएको पहिलो वर्षको उपलब्धिमूलक नतिजापछि दोस्रो वर्षबाट विद्यार्थी संख्या बढ्न थाल्यो । अघिल्ला वर्षहरूमा निजी स्कुलतर्फ लागेका विद्यार्थी बिस्तारै हिमालय उच्च माविमै फर्कन थाले । अहिले हरेक कक्षामा विद्यार्थी भर्ना गर्न प्रवेशपरीक्षा लिनुपर्ने अवस्था छ ।
विद्यालयका प्राचार्य विष्णुकान्त झा भन्छन्, ‘हरेक वर्ष सयौं नयाँ विद्यार्थी भर्ना हुन आउँछन् । विद्यार्थी भर्नाका लागि सरकारी कार्यालयको उच्च ओहोदामा रहेकाहरूबाट समेत फोन आउँछ तर हामी चाहेर पनि पर्याप्त विद्यार्थी भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।' अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने सबै पक्षको दृढ अठोट र मेहनतका कारण यो सरकारी विद्यालय अहिलेको अवस्थामा आइपुगेको झाको भनाइ छ ।
विद्यार्थी टिकाउन अंग्रेजी माध्यमलाई मात्र सहारा बनाइएन, सबै शिक्षकले पाँचबर्से शैक्षिक योजना बनाए । झा विगतको घटना सम्झन्छन्, ‘विगतको अवस्था सम्झँदा अहिलेको अवस्थामा कसरी आइएछ भन्ने लाग्छ । मेहनत गर्न सकियो भने असम्भव भन्ने केही रहेनछ भन्ने लागेको छ ।'
२०१२ सालमा एउटा सानो टहराबाट सुरु गरिएको यो विद्यालय अहिले जिल्लाकै उत्कृष्ट सरकारी विद्यालयको पहिचान बनाउन सफल छ । ‘२०६६ सालमा निजी स्कुलको आकर्षणसँगै करिबकरिब बन्द नै होलाजस्तो भएको विद्यालय अहिले यस्तो अवस्थामा आइपुग्नु सपनाजस्तै लागेको छ', विद्यालयका शिक्षकहरू भन्छन् ।
भौतिक अवस्था अत्यन्तै कमजोर, नेपाली माध्यमको पढाइ, न्यून सेवासुविधा विद्यालयको मुख्य समस्या थियो । विद्यार्थी आकर्षणसँगै भौतिक सुविधा विस्तार हुँदै गयो । विद्यालयको लोकप्रियता बढ्दै जाँदा शिक्षक र कर्मचारीमा पनि सानसँगै जिम्मेवारी पनि बढेको महसुस हुन थाल्यो । अहिले यस विद्यालयले अनुसरण गरेका राम्रा पक्षलाई अन्य सरकारीमात्र होइन, निजी स्कुलले पनि सिक्न थालेका छन् ।
विद्यालयको उपलब्धिको कथाबारे जान्नकै लागि बाहिरी जिल्लाबाट समेत शिक्षक, अभिभावक तथा शिक्षाबारे जान्न चाहनेहरूको लर्को लाग्ने गरेको छ ।
विद्यालयमा अहिले पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाबाट विद्यार्थी आइरहेका छन् । विद्यालय यो अवस्थामा आइपुग्नुमा शिक्षकको मेहनत, व्यवस्थापन पक्षको उत्कृष्ट भूमिका, अभिभावकको सहयोगका साथै सबै पक्षको समन्वयकारी भूमिका मुख्य रहेको विद्यार्थी र अभिभावकहरूको साझा बुझाइ छ ।
किन लाग्छ विद्यार्थीको भीड ?
अंग्रेजी माध्यममा पढाइ, सामान्यसँगै प्राविधिक धारको शिक्षाको पढाइ, आधुनिक सञ्चारप्रविधिको प्रयोगमार्फत पढाइ, अनुशासित विद्यार्थी, इन्टरनेटसहितको पुस्तकालय, बालबालिकाका लागि मन्टेस्वरी विधिको प्रयोग, उत्कृष्ट शिक्षक छनोट प्रणाली, अतिरिक्त कार्यक्रमको आयोजना, सबै संकायमा उच्च माध्यमिक तहको अध्ययन गर्ने व्यवस्था, दक्ष शिक्षक र सञ्चालक समिति नै हिमालय उच्च माविको आकर्षणका मुख्य आधार हुन् ।
एक कक्षामा पुग्नका लागि चार तह पार गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्टेस्वरी प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी अध्ययनपछि मात्र एक कक्षामा पढ्न पाइन्छ । साथै नयाँ विद्यार्थी भर्नाका लागि प्रवेशपरीक्षा अनिवार्य गरिएको छ ।
विद्यार्थी चाप बढ्दै गएपछि नयाँ विद्यार्थी भर्ना हाललाई रोकिएको प्राचार्य झाको भनाइ छ । उनका अनुसार विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिक विषय पनि पढाइ हुने भएकाले विद्यार्थीको ओइरो लाग्ने गरेको छ । कक्षा १ देखि नै कम्प्युटर विषयको पढाइ हुने गरेको छ ।
विज्ञान तथा कम्प्युटर विषयका लागि ६ वटा प्रयोगशाला सञ्चालित छन् । शिक्षणसँग सम्बन्धित हरेक विषयलाई प्रोजेक्टरको माध्यमबाट पढाइन्छ । विद्यालय समयभित्र विद्यार्थी तथा शिक्षकलाई बाहिर जान दिइँदैन । कामविशेषले विद्यार्थी कतै जानुपरेमा वा बिदामा बस्नुपरेमा अभिभावकले अनिवार्य रूपमा अनुमति लिनुपर्ने हुन्छ ।
विद्यालयको प्रगतिको अर्को कडी दक्षता प्राप्त शिक्षक हुन् । दरबन्दी र निजीसहित ६८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये २९ जना शिक्षकले स्नातकोत्तर गरेका छन् । २ जना एमफिल गरिरहेका छन् । शिक्षक छनोटमा राजनीतिक हस्तक्षेप छैन ।
विद्यार्थी भर्ना गराउन मन्त्रालयबाट दबाब आउँछः प्राचार्य झा
विद्यार्थी संख्या धेरै भएकाले निश्चित कोटामा मात्र भर्ना लिनुपर्ने बाध्यता छ । एक सयजना विद्यार्थी भर्नाका लागि आठ सयजनाले प्रवेश फाराम भर्छन् । तीमध्ये कतिपय चिनजानका मान्छे हुन्छन् । उनीहरूका विद्यार्थी भर्ना गराउन नसक्दा थुप्रै व्यक्ति रिसाएका छन् ।
फलानो विद्यार्थी भर्ना गराइदिनू भन्दै मन्त्रालयका अधिकारीबाट समेत फोन आउने गरेको छ । तैपनि विद्यार्थी भर्ना गराउने क्षमता हामीसँग छैन ।
पर्याप्त शिक्षक र पढाउने कक्षा कोठा भइदिएको भए हामी आएका जति सबै विद्यार्थी भर्ना गर्नसक्ने थियौं । गरिब जनताका छोराछोरीलाई महँगो शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हटाउने थियौं ।
हाम्रो यी समस्या सुन्दा मर्ज हुने अवस्थामा पुगेका विद्यालयहरूलाई त अचम्मै लाग्दो हो तर मुख्य बाध्यता यही नै हो । हाम्रा यी समस्या सम्बोधन भए अझै हामी सर्वसुलभ तरिकाले गुणस्तरीय शिक्षा दिने थियौं ।