हात्तीपूजा गरेर मेलाको उद्घाटन
बर्दियाः हात्ती मेलाको उद्घाटन वैदिक विधि अनुसार हात्तीको पूजा गरेर गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाले चौथो हात्ती मेलाको उद्घाटन वैदिक विधिअनुसार हात्तीपूजा गरेर गरेका हुन् ।
निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक एवम् मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षले संयुक्त रुपमा संकल्प गरी हात्ती पूजा गर्दै मेलाको उद्घाटन गरे ।
बर्दियाको ठाकुरद्वारा स्थित शिवपुरको हात्तीसार वजभोज मैदानमा आयोजित मेलाको विदेशी तथा स्वदेशी पर्यटकले समेत अवलोकन गरेका छन् । मेलामा बाँके, बर्दिया, कैलाली, सुर्खेत जिल्लालगायत विदेशी पर्यटक पनि आएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले जानकारी दिए ।
मेलामा थारु संस्कृति, भेषभुषा, परिकारलगायत स्थानीय उत्पादनको अवलोकन गर्न पाइन्छ । ‘हात्तीपूजा सँगै एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडेका छौँ,’ संयोजक आचार्यले भने, ‘मेलाले यस क्षेत्रका पर्यटक लगायत विदेशी पर्यटकहरु आर्कषण गर्न मद्दत पुग्ने छ।’
निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले यसकार्यले पर्यटन प्रर्वद्धन गर्दै संरक्षणमा समेत साथ मिल्ने विश्वास व्यक्त गरेका छन् । हात्ती पूजाका अवसरमा हात्तीलाई मिठो खानेकुरा दिइएको थियो । गणेशको प्रतिकको रुपमा मानिने हात्तीले धार्मिक पर्यटनलाई समेत प्रोत्साहन मिल्ने यस क्षेत्रका व्यवशायिको विश्वास छ ।