यी हुन् रोनाल्डोले चाैथो पटक 'बेलोन डिअर' जित्नुका पाँच कारण
काठमाडौंः पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सोमबार राति चौथो पटक बेलोन डिअर अवार्ड जितेका छन्।
फ्रान्सेली फुटबलले हरेक वर्ष दिँदै आएको ‘बेलोन डिअर २०१६’ को अवार्ड जित्दा रोनाल्डोले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई दोब्बरभन्दा बढी मतले पछि पारे। रोनाल्डोले ७४५ मत पाउँदा उनका प्रतिद्वन्द्वी मेसीले ३१६ मत मात्रै प्राप्त गरे। तेस्रो भएका फ्रान्सका एन्टोनी ग्रिजम्यानले १९८ मत पाए।
बेलोन डिअर अवार्डको मनोनयनमा परेको ३० खेलाडीलाई विश्वभरका १७३ पत्रकारहरुले मत दिएका थिए। रोनाल्डोले यसअघि सन् २००८, २०१३ र २०१४ मा बेलोन डिअर अवार्ड जितेका थिए।
चौथो पटक बेलोन डिअर अवार्ड रोनाल्डोले जित्नुका पछाडि पाँच कारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
एक, रोनाल्डोले गत सिजन रियल मड्रिड र पोर्चुगलका लागि ५५ खेलमा ५१ गोल गरेका थिए।
दुई, रोनाल्डो लगातार ६ सिजन ला लागि ३० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी समेत हुन्। उनले ला लिगाको पछिल्लो ६ सिजन ३० भन्दा बढी गोल गरेका छन्।
तीन, म्यानचेस्टर युनाइटेडबाट रियल आएयता रोनाल्डोले रियल मड्रिडलाई दुईवटा च्याम्पियन्स लिग फुटबलको उपाधि जिताएका छन्। उनले रियल मड्रिडबाट दुई र म्यानचेस्टर युनाइटेडबाट एक पटक गरी तीन पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन्।
चार, बेलोन डिअर २०१६ को उपाधि जित्नुका पछाडि रोनाल्डोले पोर्चुगललाई पहिलो पटक युरो कप २०१६ को उपाधि जिताउनु पनि एक कारण हो।
र पाँच, युरो कप फुटबल प्रतियोगितामा ९ गोल गर्ने रोनाल्डो दोस्रो खेलाडी हुन्। उनले गत युरो कपमा तीन गोल गर्दै युरो कपमा सबैभन्दा बढी गोल गर्ने मिचेल प्लाटिनीसँगको कीर्तिमानी बराबरी गर्नु अर्को कारण हो।