राप्रपामा उपाध्यक्ष र महामन्त्री एक दर्जनः प्रवक्ता नै दुईजना
काठमाडौंः दुई राप्रपाको एकीकरणपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले जम्बो पदाधिकारीको टोलीलाई मनोनयन गरेको छ ।
मंगलबार पार्टी एकीकरणको नीति र आधारपत्रमा व्यवस्था भए अनुसार राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाको सहमतिमा अध्यक्ष कमल थापाले पदाधिकारीको मनोनयन गरेका हुन् ।
मनोनयन अनुसार उपाध्यक्ष र महामन्त्री मात्र १२ जना भएका छन् भने प्रवक्ता र कोषाध्यक्ष दुई–दुई जना छन् । सहायक प्रवक्तामा भने चारजना मनोनयनमा परेका छन् ।
उपाध्यक्ष मनोनित हुनेमा दिपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादव छन् । महामन्त्रीमा भने टंक ढकाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, विक्रम पाण्डे, धवलशम्शेर जबरा र नरेन्द्र चौधरी मनोनित भएका छन् ।
प्रवक्तामा ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ मनोनित भएका छन् भने कोषाध्यक्षमा उद्धव पौडेल र निलकण्ठ काफ्ले को नाम समेटिएको छ । राप्रपाले पार्टीमा अनावश्यक ठानिएको सहायक प्रवक्तामा भने किरण गिरी, मोहन श्रेष्ठ, बसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलाको नाम राखेको छ ।