संशोधनमा जनमत नबिर्स

संशोधनमा जनमत नबिर्स

कांग्रेस माओवादी गठबन्धन सरकारले व्यवस्थापिका-संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि नेपाली राजनीति सघन अन्तरविरोधको सुरुङमा प्रवेश गरेको छ । संविधान कार्यान्वयन कि संशोधन भन्ने बहस चलिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले हठात दोस्रोपटक संशोधन प्रस्ताव प्रस्तुत गरेपछि नेपाली राजनीतिमा अन्योल चुलिएको छ । प्रमुख प्रतिपक्षी दल एमाले र सीमांकन हेरफेरसहित संविधान संशोधनको वकालत गरिरहेका आन्दोलनरत मधेसवादी दलहरूलाई विश्वासमा नलिई ५ नम्बर प्रदेशको सीमांकन हेरफेर प्रस्तावले राष्ट्रियता र सामुदायिक सद्भाव धरापमा परेको छ ।

यद्यपि मधेसकेन्द्रित दलहरू संशोधन प्रस्तावमा परिमार्जन भए आफूहरू त्यसको पक्षमा उभिन सक्ने बताएका छन । समस्या नै नभएको प्रदेशमा पहाड र मधेसलाई छुट्ट्याउने गरी प्रस्तावित सीमांकनको विरोधमा बुटवलमा बृहत् जनप्रदर्शन भएको थियो । तराई-मधेसलाई क्रमशः मुलुकबाट अलग गर्ने भारतीय चालबाजी र आन्तरिक रूपमा ठूला दल र नेताहरू त्यसको मतियार बनिरहेको दृश्य सार्वजनिक भइरहेको छ ।

भारतीय संस्थापनबाट नेपालको आन्तरिक मामिलाको सानो सन्दर्भ संविधान संशोधन प्रस्तावलाई ठूलो महत्त्वका साथ स्वागत र राजदूत रञ्जित रेको काठमाडौंमा खुलेआम अस्वाभाविक चलखेलले राष्ट्रप्रेमी नागरिकहरूलाई पीडाबोध भएको छ । रेले भोज र बैठकहरू आयोजना गरेर मधेसकेन्द्रित दलहरूलाई संशोधन प्रस्तावको पक्षमा सहमत गराउन प्रयास गरिरहेको सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको छ । उनी प्रधानमन्त्री दाहाललाई संशोधन प्रस्ताव अघि बढाउन आश्वस्त बनाइरहेका छन् । दाहालले व्यवस्थापिका-संसदभित्रका सहयात्री दलहरूको मात्रै होइन, आफ्नै दलभित्रको विश्वाससमेत गुमाउँदैछन् र सत्तारूढ प्रमुख दल कांग्रेसभित्र पनि त्यही हाल छ ।

राष्ट्रियता, भौगोलिक अखण्डता र जातीय एवम् सामुदायिक सद्भावका निम्ति योभन्दा ठूलो चुनौती के हुन सक्ला ? सदियौंदेखिको एकात्मक निरंकुश राजतन्त्रात्मक व्यवस्थाले सिंगो मुलुक र नेपाली जनता शोषण, उत्पीडन र गरिबीको मारमा रुमल्लिनुपरेको यथार्थ हो । त्यो मारमा मधेसीहरू परे, कर्णालीवासी परे र विभिन्न भूभाग र अधिकांश श्रमजीवी जनता परे । यो अवस्थाको समूल अन्त्यको लागि नेपाली जनताले झन्डै सात दसक विभिन्न चरणमा आन्दोलन गरे ।

अन्ततः ०६२/६३ को जनक्रान्तिले विद्यमान सबैखाले शोषण, उत्पीडन र बेथितिहरूको अन्त्य गर्दै सबै नागरिकले स्वतन्त्रता, अधिकार र समृद्धिको वाहक र अंशियार बन्ने वातावरणको लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यसलाई संस्थागत गर्नेभन्दा पनि यसले सिर्जना गरेको खुकुलो वातावरणलाई दुरुपयोग गरेर मुलुक बर्बादै बनाउने हर्कत सुरु भए । अत्यन्त प्रतिकूल परिस्थितिमा संविधानसभाको निर्वाचन भयो, पहिलो विघटन भएर दोस्रोका लागि निर्वाचन भयो ।

दोस्रो संविधानसभाले अनेकन प्रतिकुलता र बाह्य हस्तक्षेपको पर्वाह नगरी संविधान निर्माण गरी जारी गर्‌यो । प्रत्यक्ष अलावा समानुपातिक समावेशी आधारमा चुनिएको संविधानसभाको ९० प्रतिशत मतले निर्माण गरेको संविधान घोषणा हुन नदिन कोसिस गरियो, असफल बनाउन प्रयास गरियो र कार्यान्वयन हुनै नदिने प्रयास जारी छ ।

मधेस बन्द, नाकाबन्दी र भारतीय हस्तक्षेपको प्रभाव चिर्दै केपी ओली नेतृत्वको सरकारले राष्ट्रियता, सार्वभौमिकता, सामाजिक न्याय र आर्थिक समृद्धिको संवाहकको रूपमा आफूलाई प्रस्तुत गर्दै अघि बढ्दाको अवस्थामा त्यसविरुद्ध सत्ता सहकार्यमै रहेको माओवादी र प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसबीचको अप्राकृतिक सम्बन्ध अघि बढ्यो । त्यसको सूत्राधारको रूपमा उही भारत, राजदूत रे र मधेसकेन्द्रित दलहरू बने । माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीको लोभमा फसे, फगत त्यसैको लागि लाचारी र दलालीको पराकाष्ठा उठाए ।

डेढ वर्षभित्र तीनवटा निर्वाचन गरेर संविधान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने युगीन जिम्मेवारी छोडेर कसैको स्वार्थसिद्धिको लागि नेपाल र नेपालीलाई उचित सावित नहुने प्रावधानहरूलाई लिएर संविधान संशोधनमा अघि बढे । असन्तुष्ट भनिएका मधेसकेन्द्रित दलहरूको मागमा नरहेको कहिले अंगीकृत नागरिकता त कहिले प्रदेशको सीमांकनका विषयहरूमा संशोधन प्रस्ताव प्रस्तुत गर्न तम्सिए । चर्को दबाबपछि अंगीकृतबाट दाहाल पछि हटे ।

संविधान संशोधन प्रस्तावको कारण सिंगो ५ नम्बर प्रदेश आन्दोलित भयो । बुटवलको जनप्रदर्शन ०६२/६३ जनआन्दोलनको पूर्वसन्ध्यामा भएको प्रदर्शनको पुनरावृत्ति भएको छ । एमालेले त्यस समयमा बुटवलमै गरेको शक्ति प्रदर्शनले त्यो जनआन्दोलनलाई मार्गप्रशस्त गरेको थियो । आज त्यहाँका जनता कुनै पनि पार्टीको मर्यादा त्यागेर अखण्ड ५ नम्बर प्रदेशको पक्षमा उभिएका छन् । सत्तारूढ दलका प्रभावशाली नेताहरू कांग्रेस नेता चन्द्र भण्डारी अनि माओवादी केन्द्र नेता टोपबहादुर रायमाझी संविधान संशोधनको विरोधमा एमाले र जनताको साथमा रहेका छन् ।

कसैको इशारामा उसैको रणनीति पूरा गर्नको लागि मधेस र पहाडलाई अलग गराउने गेमप्लान नेपाली जनताले बुझेका छन् र यसको विरोधमा देशभरका नागरिकहरू जुर्मुराइरहेका छन् । भुसको आगो झैं भारतप्रतिको आक्रोश बढिरहेको छ र त्योभन्दा बढी राष्ट्रघात गर्ने पात्र र दलहरूप्रति आक्रोश चुलिँदो छ । यसको गम्भीर समीक्षा र हिसाबकिताब हुने नै छ । संविधान संशोधन प्रस्तावले सिर्जना गरेको राष्ट्रिय संकट समाधानको लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाई सबै दलहरूलाई मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ, तर दलहरू राष्ट्रपतिको आग्रहप्रति कत्ति गम्भीर देखिँदैनन् ।

व्यापक जनदबाबको कारण हुनुपर्छ, व्यवस्थापिका-संसद्मा रहेको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी संशोधन प्रस्तावको विपक्षमा उभिएको छ । मधेसकेन्द्रित दलहरूले संशोधन प्रस्तावको स्वामित्व लिन तयार छैनन् । भारतीय राजदूतको प्रभावमा परेर समर्थन गरे मात्र हो अन्यथा उनीहरू संशोधन प्रस्तावको विपक्षमा छन् । यस्तो अवस्थामा मुलुकलाई थप द्वन्द्वमा पर्न नदिन सरकारले उक्त प्रस्तावलाई थाती राख्नु वा फिर्ता लिनुको विकल्प छैन । चाहे मधेसी हुन्, चाहे पहाडी सबै मिलेर बस्ने ५ नम्बर प्रदेशका जनताको मनोभावनाको सम्मान गर्नुपर्दछ ।

मधेसकेन्द्रित दलहरू पनि सबैखाले भ्रम र अतिवादबाट मुक्त हुनु जरुरी छ । संस्थापन र मूलधारका राजनीतिक दलहरू पनि विगतका विभेद र समस्याबिना आग्रह-पूर्वाग्रह हल गर्न तयार हुनुपर्दछ । फिजीकरण, भुटानीकरण र सिक्किमीकरणको खेलको सबैखाले दलाली र मतियारीबाट आत्मघाती अभिप्राय र क्रियाकलापबाट मुक्त हुने बाटो पहिल्याउनुपर्दछ । अबको १५ महिनामा तीनवटा निर्वाचनहरू हुन सकेन भने मुलुक गम्भीर संवैधानिक दुर्घटनामा पर्नेछ । त्यसैले अहिले संविधान र प्रदेश सीमाको संशोधन छोडेर संविधान कार्यान्वयनको लागि प्रमुख दलहरूको सहमतिमा कार्यसूची तय गरेर अघि बढ्नुको विकल्प छैन । संविधान निर्माण र घोषणाको समयमा दलहरूले जुन सदासयता र एकता प्रदर्शन गरेका थिए ।

संविधान कार्यान्वयन र आवश्यकता र औचित्यताको आधारमा संशोधनका लागि त्योभन्दा एक कदम अघि बढ्न आवश्यक छ । आफ्ना मामिलामा आफैँ निर्णय गर्न सक्ने सामथ्र्यसहित त्यही स्वरूप वा अझ उन्नत स्तरको एकतामार्फत जनताबीच जाँदा र जनमतको फैसलाअनुसार काम गर्दा नै मुलुकको विद्यमान संकटको हल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.