सुशील कोइरालापछि गरिब प्रधानमन्त्री प्रचण्ड !
काठमाडौंः सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सम्पत्ति विवरण सर्वजनिक गरेको छ ।
सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्ड सुशील कोइरालापछिकै गरिब देखिएका छन् । प्रचण्डको आफ्नो नाममा कतै जग्गा छैन भने श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुरमा एक कट्ठा पैतृक सम्पत्ति भएको देखाइएको छ ।
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमा सुन भने ३ तोला भएको र उक्त सुन समेत पैतृक भएको उल्लेख गरिएको छ । यसरी हेर्दा प्रधानमन्त्री प्रचण्ड गरिब प्रधानमन्त्रीकै दर्जामा देखिएका छन् । उनको बैंकमा खाता छैन भने कुनै सवारी साधन समेत छैन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार गृहमन्त्री निधिको सम्पत्ति अर्बौ देखिएको छ । निधिसँग ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ । त्यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा भने गरिब देखिएका छन् । उनको रोल्पामा आठ रोपनी सुख्खा पाखो जग्गा र एभरेष्ट बैंकमा ८० हजार रहेको उल्लेख गरिएको छ ।
सरकारले २७ मन्त्री र १४ राज्यमन्त्रीको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको छ ।