नेपाल लाइफको ३० प्रतिशत बोनस सेयर
नेपाल लाइफ इन्सुरेन्सले आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ ।
कम्पनीको बुधबार बसेका २८ औं वार्षिक साधारण सभाले आव २०७१/७२ को लागि चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश १.५८ प्रतिशत गरी जम्मा ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने योजना पारित गरेको हो ।
सो साधारण सभामा कम्पनीका अध्यक्ष प्रेमा सिंहले आव २०७१/७२ मा कम्पनीले राम्रो प्रगति गरेको बताएकी छिन् । सो वर्ष कुल तीन अर्ब १७ करोड बिमा शुल्क संकलन गरी ८२ करोड खुद दाबी भुक्तानी गरेको छ ।
२६ करोडको खुद मुनाफा आर्जन गरेको कम्पनीले यस आवको अन्तसम्म ११ अर्ब ५५ करोड पुगेको र कम्पनीको बिमा कोष २०७२ असार मसान्तसम्म ११ अर्ब ७२ करोड पुगेको छ ।