संसद बैठक पुस ४ गतेसम्मका लागि स्थगित
काठमाडौंः व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर पुस ४ गते सम्मका लागि स्थगित गरिएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी पुस ४ गतेसम्मका लागि स्थगित गरिएको हो। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसद अबरुद्ध गर्दै आएका थिए।
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा दलहरुबीच सहमति जुट्न नसकिरहेका बेला सभामुख ओनसरी घर्तीले संसद अबरुद्ध हुँदा नराम्रो सन्देश जाने भन्दै बैठक स्थगित गरेकी हुन्।
संसद बैठकमा एमालेकै अग्रसरतामा संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची थियो। एमाले लगायत विपक्षी दलले संसद अबरुद्ध गर्दै आएकाले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदले महाअभियोग सिफारिस समितिमा पठाउन सकेको छैन।
सरकारले मधेसवादी दलहरुको माग पूरा गर्न भन्दै प्रदेश नम्बर ५ टुक्र्याउने गरी संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको विरोधमा एमाले लगायत विपक्षी दलहरुले संसद अबरुद्ध गर्दै आएका छन्।