सुजुकी सुपर क्यारी नेपालमा
काठमाडौः सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकी सुपर क्यारी चार पांग्रे सवारी नेपाल भित्र्याएको छ । सुपर क्यारी सुजुकीको नयाँ उत्पादन हो । लाइट कमर्सियल भेइकल (एलसीभी) अन्तर्गत कम्पनीले सुजुकी सुपर क्यारी ल्याएको हो ।
योसँगै कम्पनीले एलसीभी सेग्मेन्टमा आफ्नो व्यवसाय विस्तार गरेको जनाएको छ । सीजी मोटोकर्पले राजधानीमा कम्पनीको महाराजगन्ज र बालकुमारीस्थित बिक्री केन्द्रमार्फत गाडी उपलब्ध गराउनेछ । त्यसैगरि, उपत्यका बाहिर पोखरा, विरगन्ज, विराटनगर र बुटवल बिक्री केन्द्रमार्फत गाडी उपलब्ध गराइनेछ ।
फाइभ स्पिड म्यानुअल ट्रान्समिसनसहित सात सय ९३ सीसी क्षमताका सुजुकी सुपर क्यारीमा ट्विन सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । कम्पनीका अनुसार सुपर क्यारीले तीन हजार पाँच सय आरपीएममा ३२.६३ बीएचपीको शक्ति र दुई हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्नेछ । साथै यसले एआरएआई प्रमाणित २२.०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति प्रतिघन्टा ८० किलोमिटर छ ।
सात सय ४० किलोग्राम भारवहन क्षमता रहेको सुपर क्यारीमा एक सय ६० एमएम ग्राउन्ड क्लियरेन्स छ । कम्पनीका अनुसार गाडीको टर्निङ र्याडियस ह्याचब्याकसँग मिल्दोजुल्दो छ ।
हालै सार्वजनिक गरिएको नयाँ एलसीभी, सुपर क्यारीमा कम्पनीले लाइट स्टेरिङ ह्विल, मोबाइल चार्जिङ सकेट, डुअल एसिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, लक गर्न मिल्ने ग्लोभ बक्स र बोटल होल्डरलगायतका आधारभूत फिचर छन् । १२ इन्चको पांग्रासहित सुपर क्यारीमा लोड सेन्सिङ प्रोपर्सनिङ भल्भ –(एलएसपीभी) ब्रेकिङ प्रणाली जडान गरिएको छ । यसले फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक लगाउँदा सवारीलाई नियन्त्रण गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले सुजुकी सुपर क्यारी प्लान्ट निर्माण गर्न कम्पनीले भारतीय तीन सय करोडभन्दा बढी लगानी गरेको बताए । उनका अनुसार भारतमा निमार्ण गरिएका सुजुकी सुपर क्यारीका गाडीको डिजाइनमा उपभोक्ताको हीत र आवश्यकतालाई विशेष ध्यान दिइएको छ ।
सुपर क्यारीले अधिकतम भारवहन क्षमताका साथ उत्कृष्ट माइलेजसमेत प्रदान गर्ने चौधरीले बताए । न्युनतम मर्मत खर्च तथा सस्तो मूल्यमै उपलब्ध हुने स्पेयर पार्टले उपभोक्तालाई अत्यधिक फाइदा पुग्ने चौधरीले बताए ।
उनका अनुसार कम्पनीले गाडीको खरिदमा उपभोक्तालाई दुई वर्षको वारेन्टी सुविधा पनि उपलब्ध गराउनेछ । कम्पनीका अनुसार सेवालाई अझ प्रवाभकारी बनाउन आगामी दिनमा बिक्री सञ्जाललाई थप बृहत बनाउँदै लगिनेछ ।