देउकीको मूल्य बढेको छ !
सञ्चारकर्मी देवकी विष्टले निर्देशन गरेको वृत्तचित्र 'इन सर्च अफ देउकी' काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव 'किम्फ'मा नेपाल पानारोमा विधामा उत्कृष्ट भएको छ । निर्देशक विष्टले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । वृत्तचित्र नेपालको सुदूरपश्चिमाञ्चलका थुप्रै जिल्लामा विद्यमान देउकी प्रथामा आधारित छ । यस विषयमा निर्देशक विष्टसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानीः
- तपाईंको वृत्तचित्र पानारोमा विधामा उत्कृष्ट हुँदा कस्तो अनुभव भइरहेको छ ?
हौसला बढेको छ । समाजमा रहेका हरेक विषयप्रति अझै जिम्मेवारीबोध भएको छ । परिश्रम गरे फल पाइन्छ जस्तो लागिरहेको छ ।
- यस्तो प्रथाबारे वृत्तचित्र बनाउने सोच कसरी आयो ?
धेरै लामो समयदेखि मनमा यो सोच पालिरहेकी थिएँ । वृत्तचित्रमा उतार्न पाँच वर्षभन्दा बढी लाग्यो । म नेपालका ७० भन्दा बढी जिल्लामा रिपोर्टिङका क्रममा पुगेँ । त्यो बेला देखेका दृश्य मेरो आँखामा कैद हुन्थे । एउटी निर्दोष कन्यालाई भगवान्का रूपमा पुजिएका ढुंगाको सेवा गर्न दासी बनाएर मन्दिरमा चढाउने प्रथालाई देउकी भनिन्छ । पछि यो तथ्यलाई मैले क्यामेरामा कैद गरेँ ।
- वृत्तचित्र बनाउँदाको समस्या ?
त्यो समय सम्झँदा मैले कसरी खिचेँ जस्तो लाग्छ । यो विषयमा वृत्तचित्र बनाएको थाहा पाएमा जे पनि हुन सक्थ्यो । केहीले त नजिक आउन दिनु गल्ती भयो पनि भने । पानी परेर चिप्लो पहाड, चिप्लेर भीरमा खस्ने डर, जंगलको छेउमा गाडी हिलोमा फस्दा गाडीमै सुत्नु पर्यो । देउकी चढाउनेको घरमा देउकी बनेर जाँदाको नाटक थाहा पाए के हुन्थ्यो । जुन अहिले सम्झँदा डर लाग्छ ।
- आफैं देउकी बनेर जाँदा वा देउकी किन्ने मानिस बनेर अनुसन्धान गर्दा कत्तिको सफल भएजस्तो लाग्छ ?
देउकी बन्दा र देउकी चढाउने व्यक्ति बनेर यो प्रथा अझै कायम रहेछ भन्ने प्रमाण वृत्तचित्रमा देखाउन सकेकी हुँ । ज्यानकै बाजी थापेर म यस विषयमा लागेकी थिएँ, जुन कुरा मैले परिवारलाई समेत भनिनँ ।
- यस्तो प्रथाविरुद्ध सामाजिक जागरण कत्तिको छ ?
सामाजिक जागरणभन्दा पनि संरक्षणचाहिँ छ । केही व्यक्ति यो प्रथालाई निरन्तरता दिनु हुँदैन भनेर केटीको प्रतिमा बनाएर मन्दिरमा चढाउँछन् भने केहीले यो प्रथा रोकेमा देवता रिसाउँछन् भन्ने सोच पालेका छन् । यो प्रथाविरुद्ध बोल्नु हुँदैन भन्छन् । मलाई पनि मन्दिरमा झूठो बोल्छेस् भनेर धम्क्याएका थिए । २०४७ सालपछि कानुन र राजा वीरेन्द्रले देउकी प्रथाका बारेमा बोलेपछि केही रोकियो तर अहिले चढाउने समयमा परिवर्तन आएको छ र देउकीको मूल्य बढेको छ ।
- वृत्तचित्र निर्माणका क्रममा कस्ताकस्ता पात्र भेट्नुभयो ?
मैले वृत्तचित्र बनाउने क्रममा विभिन्न समयमा मन्दिरमा चढाइएका १५ देखि ५५ वर्षसम्मका देउकीहरूलाई भेटेँ ।
- देउकीका खास दुःख के के रहेछन् ?
देउकी चढाएपछि छोरासरह अंश दिनुपर्छ तर अंश नदिएको भेटियो । देउकी र देउकीबाट जन्मिएका छोराछोरीको जीवन सम्मानित देखिँदैन । उनीहरूका छोराछोरीमा नागरिकताको समस्या र आर्थिक अभाव छ । अहिले पनि देउकीहरू मन्दिरमा पूजा गर्न गएनन् भने देवी लाग्छ भन्ने भ्रम पालिएको छ ।
- देउकी प्रथाको इतिहास र विद्यमान अवस्थाबारे बताइदिनुस् न ।
विक्रमको १४औं शताब्दीतिर अहिलेको सुदूरपश्चिम डोटी राज्यका नामले चिनिन्थ्यो । डोटी नागी मल्लको राज्य थियो । डडेल्धुराका भागेश्वर देवतासँग अहमताका कारण हारेपछि नागी मल्ललाई श्राप दिइएको थियो । त्यो श्रापबाट मुक्त हुन नागी मल्लले माफीस्वरूप पहिलोपटक पूजा गर्दै देउको (केटा) र देउकी (केटी) लाई चढाएका थिए । त्यसपछि नागी मल्ल जहाँजहाँ गए, देउकी र देउको प्रथा चल्यो । समय परिवर्तनसँगै देउको प्रथा घट्दै गयो तर देउकी प्रथा बढ्दै गयो ।
- देउकीलाई किन चढाइँदो रहेछ ?
मनोकांक्षा पूरा हुन्छ भन्ने अन्धविश्वासका कारण देउकी चढाइन्छ । परिवारमा छोरा जन्मिएन, कुनै रोग लाग्यो, सामाजिक, राजनीतिक हैसियत बढाउन देउकी चढाउने चलन छ ।
- डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरामा यो प्रथा अझै कायम छ । यस प्रथाविरुद्ध जनचेतनाका लागि के काम भएको छ ?
बैतडीका केही शक्तिपीठमा लुकीछिपी अझै देउकी चढाइन्छ । अरू जिल्लामा चाहिँ पुराना देउकीमात्र भेटिए । यो कुप्रथा अन्त्य गर्न नयाँ पुस्ता जागरुक हुनुपर्छ र कडा कानुन बन्नुपर्छ । नेता र प्रहरी प्रशासनले थाहा पाए पनि कारबाही गर्ने, रोक्ने आँट गरेको देखिँदैन ।